विकल्प न्युज/ जलजला
फागुन ८ गते ।
आगमी बुधवार हुने राष्ट्रपति विद्यादेवी भण्डारीको पर्वतको जलजला क्षेत्रमा हुने भ्रमणलाई लिएर जलजला गाउँपालिकाले उक्त दिन सार्वजनिक विदा दिएको छ ।
फागुन १० गते राष्ट्रपति भण्डारीले जलजलाको धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल कालाञ्जर हम्पाल क्ष्ोत्रको अवलोकन र वडा नम्बर २ पूर्ण गाउँ स्थित आदि बराह तालमा निर्मित कुल मन्दिरको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।
उक्त कार्यक्रमलाई सफल पार्न तथा स्वागतका लागि उपस्थिति हुनुपर्ने भएकाले पालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय एकदिनका लागि सार्वजनिक विदा दिइएको पालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।
राष्ट्रपतिको भ्रमणलाई सफल पार्न पालिका तयारीमा जुटेको पालिका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।
उक्त दिन राष्ट्रपतिबाट समुन्द्र सतहदेखि तीन हजार मिटर उचाईमा रहेको पौराणिक–धार्मिक रुपले महत्वपूर्ण पर्यटकीय स्थल कालञ्जर हम्पाल(जलजला) क्षेत्रकाे हेलिकप्टरबाट अवलोकलन गर्ने कार्यक्रम समेत रहेको पालिका उपाध्यक्ष आचार्यले बताउनुभयो ।
‘‘राष्ट्रपति जलजलाको भ्रमणमा आउने कुराले हामी हर्षित र उत्साहित भएका छौं,’’ पालिका उपाध्यक्ष आचार्यले भन्नुभयो,‘‘राष्ट्रपतिको भ्रमणले यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने आशा गरेको छौं । भ्रमणलाई सफल बनाउन पालिकाले सम्पूर्ण तयारी गरेको छ ।’’