विकल्प न्यूज\बेनी
मंसिर ४ गते ।
म्याग्दीको धवलागिरी गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड, अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधि धनजनता मावि फलियागाउँले जितेको छ ।
ताकममा सम्पन्न प्रतियोगितामा नौ स्वर्ण, नौ कास्य र तीन रजत पदक सहित धनजनताले उपाधि जितेको हो । साविक बिजेता हेम नमुना आवासीय माविले पाँच स्वर्ण, सात कास्य र तीन रजत पदक सहित उपबिजेता भएको छ ।
चार÷चार स्वर्ण, कास्य र रजत पदक जितेको ताकम मावि तेस्रो भएको धवलागिरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख ख्यामराज सुवेदीले जानकारी दिनुभयो । धनजनताले यसअघि २०७५ र २०७६ मा राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि जितेको थियो ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ११ वटा माध्यमिक र एक वटा आधारभूत विद्यालयले सहभागिता जनाएका थिए । भलिबल र एथलेटिक्स बिधाका २८ वटा खेल खेलाइएको थियो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश ६० हजार, ४० हजार र ३० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्याल, वडा अध्यक्ष अशोक खत्री, देवेन्द्र रोका लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
पालिका स्तरीय प्रतियोगितामा बिजयी र छनौट भएका खेलाडीहरुलाई जिल्ला, प्रदेश हुदै राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागि हुने ब्यवस्था मिलाइने गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा जनकल्याण माविले दुई÷दुई वटा स्वर्ण, कास्य र रजत, लमसुङ माविले एक स्वर्ण, दुई कास्य र दुई रजत, वुद्धिविकास माविले चार स्वर्ण र एक रजत, चन्द्रज्योति माविले एक कास्य र चार रजत, जनजागृति माविले एक स्वर्ण र दुई कास्य, किसानी चन्द्रकुन्ता माविले एक स्वर्ण, दुई कास्य र आठ रजत पदक जितेको छ ।
गाउँपालिकाले राष्ट्रपति रनिङ्ग शिल्डमा सहभागी हुने प्रत्येक विद्यालयलाई खाना तथा आवासका लागि अधिकतम ५० हजार रुपियाँ सम्म उपलब्ध गराउने निर्णय गरेको थियो ।
विजेता विद्यालयलाई पुरस्कार वितरण गरिँदै । तस्विर ठाकुरप्रसाद आचार्य