बजेट अभावमा टोड्केमा निर्माणधिन हाइअल्टिच्युड खेलमैदान अलपत्र

विकल्प न्यूज/बेनी
मंसिर ३ गते ।

आँखैअगाडि धौलागिरि, अन्नपूर्णसहित दर्जनभन्दा बढी हिमशृंखला देखिन्छन्। प्राकृतिक सौन्दर्यले भरिपूर्ण तथा प्रचुर प्राकृतिक सम्भाव्यता बोकेको पर्यटकीय स्थल टोड्केमा हाइअल्टिच्युड खेलमैदान निर्माण अलपत्र परेको छ।

म्याग्दी जिल्लाको रघुगंगा, मंगला, गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित रहेको टोड्के क्षेत्रमा हिमाल हेर्दैं खेलकुद प्रतियोगितासमेत सञ्चालन गर्न सक्ने गरी आधुनिक तथा व्यवस्थित मैदान निर्माण कार्य बजेट अभावका कारणले अहिले बेवारिसे बनेको छ।

२०७८ को कात्तिकमा खेलमैदान बनाउन बागलुङ मनीषा निर्माण सेवासँग तत्कालीन अवस्थामा ठेक्का सम्झौता भएको थियो। एक करोडको कुल ठेक्का ३३ प्रतिशत बिलोमा सम्झौता भए पनि ठेकेदारले खेलमैदान सम्याउने, ग्याबिनसहित केही संरचना बनाउनेबाहेक काम नै गर्न सकेन।

हाल २३ लाखबराबरको काम भएको रघुगंगा गाउँपालिकाका इन्जिनियर कमल चोखालको भनाइ छ। ‘ठेकेदारको ढिलासुस्तीका कारण पहिलो चरणकै बजेट फ्रिज भयो, अहिले बजेट नै नहुँदा काम अगाडि बढ्न सकेको छैन,’ इन्जिनियर चोखालले भने।

समुद्री सतहदेखि दुई हजार चार सय ३० मिटर मिटरको उचाइमा रहेको टोड्केमा हाइअल्टिच्युड खेलमैदानका लागि पर्खालसहित भलिबल, बास्केटबल लगायतका खेलकुद गतिविधिलाई सञ्चालन गर्न अपुरो कामलाई पूर्णता दिने रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए।

‘हामीले डिपिआरअनुसार बजेट माग गरेका छाैं, यसलाई पूर्णता दिन सकेमा खेल पर्यटन नयाँ उचाइमा पुग्नेछ,’ अध्यक्ष भण्डारीले भने। ‘नजिकै धौलागिरि हिमाल देखिन्छ। खेलमैदान नेपालमै नमुना बनाउन सम्भव छ,’ अध्यक्ष भण्डारीले भने।

ठेक्कामार्फत जग्गा सम्माउने, ग्याबिन पर्खाल निर्माण गर्ने र अन्य क्रमागत योजनाको रूपमा थप बजेट विनियोजनका लागि प्रदेश र संघीय सरकारसँग बजेटका लागि पहल गरेको उनले बताए। हाइअल्टिच्युड खेलमैदान बनाउन गाउँपालिकाले १३ करोडभन्दा बढीको डिपिआर बनाएको थियो।

नेपालमा हाइअल्टिच्युडका खेलमैदानको संख्या कम भएकाले पनि टोड्केमा खेलकुदको माध्यमबाट पर्यटकसमेत भित्र्याउन सकिने टोड्के हिल रिसोर्टका सञ्चालक भीम शेरचनको भनाइ छ।

‘तीनवटै पालिकाबाट टोड्के जोड्ने सडकलाई व्यवस्थित र खेलमैदान बनाउन सकेमा पनि खेलपर्यटनमार्फत पनि अगाडि बढ्न सकिन्छ, पूर्वाधार नबनी पर्यटक नै आउँदैनन्,’ पर्यटन व्यवसायी शेरचनले भने।

टोड्केमा प्युठानको स्वर्गाद्वारीको शाखा आश्रमसमेत रहेकाले धार्मिक पर्यटकसमेत यहाँ पुग्ने गर्छन्। टोड्केको पूर्वाधार विकास तथा प्रचारप्रसार गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन सिमाना जोडिएका तीनै स्थानीय तहले आधा दशकअगाडि नै प्रतिबद्धता जनाए पनि कार्यान्वयन भने गरेका छैनन्। म्याग्दीमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने पर्यटकीय स्थलहरूमा समेत पूर्वाधार अभावका कारण समस्या भइरहेको छ।