मालढुङ्गा–बेनी सडक दैनिक ६ घण्टा बन्द


ठाकुरप्रसाद आचार्य
म्याग्दी,मङ्सिर ४ गते ।

राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर अन्तर्गत निर्माणधिन मालढुङ्गा–बेनी सडक मंगलबार देखि दैनिक ६ घण्टा बन्द हुने भएको छ ।


सडक कालोपत्रको काम अगाडी बढेको र सडकमा अत्याधिक सवारीसाधनको चाप भएकाले सडक निर्माणको कामलाई सहज बनाउन आज मंसिर ४ गते देखि दैनिक रुपमा विहान १० देखि दिउँसो ४ बजे सम्मका लागि सवारी आवतजावत बन्द गरिएको कालिगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईले जानकारी दिनुभयो ।


पर्वतका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलको अध्यक्षतामा आइतबार जलजला गाउँपालिकाका जनप्रतिनिधि,सुरक्षा निकाय, आयोजनाका प्रतिनिधि र निर्माण कम्पनीका प्रतिनिधि सहितको वैठकले सडक निर्माणको कामलाई सहज बनाउन मंसिर ११ गते सम्म दैनिक रुपमा ६ घण्टा सवारी साधन चलाउन बन्द गर्ने निर्णय भएको आयोजनाका सूचना अधिकारी चापागाई बताउनुभयो ।
१३ किलोमिटर दूरीको उक्त सडक यतिखेर स्तरोन्नति र कलोपत्रको काम भइरहेको छ । ‘मालढुङ्गा देखि बेस हाल्ने काम सुरु भएको छ । मालढुङ्गा नजिकको सडकमा ठूलो ढुङ्गा खसेका कारण ढुङ्गा फुटाउन पनि सडक बन्द गर्नुपर्ने भएको छ । सवारी साधन अत्याधिक चाप भएकाले आवतजावत बन्द गरेर सडक निर्माणलाई गति दिन खोजेका छौं,’ सूचना अधिकारी चापागाईले भन्नुभयो ।
एम्बुलेन्स र बिरामी बोकेका सवारीसाधन तथा विकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गरिने आयोजनाले जनाएको छ । मालढुङ्गा–बेनी सडक बन्द भएको समयमा बागलुङ–रत्नेचौर–बेनी हुँदै वैकल्पिक सडक प्रयोग गर्न आयोजनाले अनुरोध गरेको छ ।
सडक निर्माणको जिम्मा लिएको एपेक्स–खड्का कृष्ण जेभीका प्रतिनिधि दलबहादुर खड्काले मजदुर र उपकरण परिचालन गरेर सडक निर्माणलाई तिव्रता दिएको बताउनुभयो । उहाँका अनुसार अहिले कुस्मा नगरपालिका १ मालढुङ्गा देखि जलजला गाउँपालिकाको ८ नाग्लीबाङको खनियाघाट सम्म बेस हाल्ने काम सकिएर प्राइम कोर्ट गर्ने तयारी गरिएको छ ।


मालढुङ्गा देखि बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार र सुधार गरी दुई लेनको बनाउन २०७७ चैतमा ५२ करोड ८६ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण सडक निर्माण प्रभावित हुँदै आएको छ । यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत छ ।


सार्वजनिक खरिद ऐनको १३औँ संशोधन अनुसार अन्तिम पटक थपिएको ठेक्काको म्याद २०८१ असोज ३० गते सकिएपछि पुनः आगमी असार मसान्त सम्म म्याद थपिएको छ ।


सडक निर्माणमा ढिलाइ हुँदा म्याग्दी र मुस्ताङ जाने यातायातका साधन सञ्चालन र यात्रुहरूलाई आवतजावतमा समस्या भएको छ । साँघुरो सडकको खाल्डाखुल्डी, धुलो, हिलोका कारण यात्रा गर्न सास्ती भएको जलजजला गाउँपालिका ४ का वडाध्यक्ष भरत क्षेत्रीले बताउनुभयो । सडक निर्माणमा ढिलासुस्ती भएपछि पर्वतको जलजला र म्याग्दीका सर्वसाधरणहरुले सडक निर्माणलाई गति दिन दबाब अभियान संचालन गरेका छन् ।


विभिन्न ठाउँमा करिब एक किलोमिटर ढलान र खोल्साहरुमा कल्भर्ट पुल निर्माण गरिएको छ । फर्सेदेखि लामाखेत खण्डमा फराकिलो बनाउने, नाली र पर्खाल निर्माण अझै सुस्त रहेको छ ।


एपेक्स–खड्का–कृष्णको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले ढुङ्गा, गिट्टी, बालुवा र रोडा अभावको कारण देखाएर विं.स. २०७९ कात्तिक देखि सडकको काम अलपत्र पारेपछि मुख्य ठेकेदार काममा फर्किएर निर्माणको काम अगाडी बढाइएको निर्माण कम्पनीका इन्जिनियर जीवन चौधरीले बताउनुभयो ।


‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्रे गरिएको भएपनि एकदशक यता सडक जिर्ण बनेको छ । मुस्ताङको कोरला नाकादेखि दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत यो सडकलाई ११ मिटर चौडा र कालोपत्रे गर्न लागिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *