टोड्केमा एक करोड रुपियाँ लगानीको पार्क बेवारिसे


ठाकुरप्रसाद आचार्य \बेनी
मंसिर ५ गते ।


म्याग्दीको पर्यटकीय स्थल टोड्केमा एककरोड रुपियाँ लागतमा बनाइएको पार्क बेवारिसे बनेको छ । पर्यटकीय सिजनमा समेत पार्क सुनसान छ । पार्कको संरक्षण,प्रचारप्रसार र पार्क सम्म पुग्ने सडकको सहज पहुँच नहुँदा पर्यटकीय सिजनमा पनि आशा गरेअनुसार पर्यटक आगमन छैन । स्थानीय सरकारले पार्कको संरक्षण नगर्दा अहिले पार्क बेवारिसे जस्तो बनेको छ ।


उपयोगमा नआउँदै पार्कमा निर्माण भएका भौतिक संरचनाहरु भत्किन थालेका छन् । पार्क वरपर झाडी फैलिएको छ । स्थानीय सरकारले पार्कमा गरेको लगानी खेर जाने अवस्था सिर्जना भएको छ । करोड लगानी भएको पार्कको अवस्था हेर्दा दयालाग्दो छ । स्थानीय सरकारको गम्भिर लापरबाहीको उदाहरण पार्कलाई लिन सकिन्छ ।


दुईवर्ष अघि पर्यटन विभाग र रघुगंगा गाउँपालिकाको लागत साझेदारीमा वडा नम्बर ५ झीँको शिद्ध सामुदायिक वनमा एक करोड एक लाख रुपियाँमा पार्क निर्माण गरिएको थियो । पार्क निर्माण भएपनि सोचेअनुसार पर्यटक नआएको स्थानीयवासीहरुको भनाई छ । स्थानीय सरकारले पार्कको भौतिक संरचनाको संरक्षणमा ध्यान नदिँदा जिर्ण हुन थालेको स्थानीयको भनाई छ । पार्क कसरी सञ्चालन गर्ने ? पार्कको संरक्षण कसले गर्ने ? लगायतका पक्षहरुको अन्यौल हुँदा पार्क बेवारिसे बनेको स्थानीयहरुको भनाई छ ।


रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्र समेटिएको पर्यटकीय स्थल टोड्केको भ्रमणमा जाने पर्यटकहरुलाई लक्षित गरि रघुगंगा गाउँपालिकाले पार्क निर्माण गरेको भएपनि सोचे अनुसार पर्यटक नआएको वडा नम्बर ५ झीँका वडाध्यक्ष मनबहादुर शेरमञ्जाले बताउनुभयो ।


विभागको ७० लाख र गाउँपालिकाको ३१ लाख रुपियाँ गरि १ करोड १ लाख रुपियाँ लागत अनुमानको उक्त योजनामा खुसीहोम विल्डर्सले ६६ लाख ३२ हजार ८७ लाख रुपियाँमा ठेक्का सम्झौता गरेर पार्कको पूर्वाधार निर्माण गरिएको हो ।वडाध्यक्ष शेरमञ्जाका अनुसार पार्कमा ४ वटा विश्रामस्थल, एक वटा फाउन्टेन र एक वटा भवन (घर) निर्माण गरिएको छ ।

जंगलको बिचमा खाली रहेका ठाउँहरुलाइ उपयोग गरि पदमार्ग समेत निर्माण गरिएको छ । पार्क भित्र रेलिङ सहितको एकसय ८२ मिटर पदमार्ग निर्माण गरिएको छ । झीँ गाउँदेखि पार्कसम्म जाने पदमार्ग समेत निर्माण गरिएको छ । महेन्द्र मावि झीँ देखि दुईसय ४० मिटर रेलिङ सहितको पदमार्ग निर्माण गरिएको वडाध्यक्ष शेरमञ्जाले जानकारी दिनुभयो । पार्कमा विभिन्न प्रजातीका फूलहरु रोप्ने योजना भएपनि अझै सम्म रोपिएको छैन । पार्कमा निर्माण भएका संरचनाहरु जिर्ण हुन थालेका छन् ।


झीँ देखि पार्क हुँदै टोड्के सम्म जानका लागि सडक र पदमार्ग निर्माण गरिएको छ । जंगलभित्रको पार्क शान्त वातावरणमा मनोरञ्जन लिनेहरुको लागि उपयुक्त स्थल भएपनि प्रचारप्रसार र पार्कको संरक्षणमा स्थानीय तहले ध्यान नदिँदा लगानी खेर गएको टोड्केको भ्रमणमा जानुभएका बेनीका अमित विश्वकर्माले बताउनुभयो । समुन्द्री सतहदेखि दुई हजार ५ सय मिटरको उचाईमा अवस्थित टोड्केबाट धौलागिरि,मानापाथी,निलगिरी, अन्नपूर्ण र माछापुच्छ«े लागयत एकदर्जन हिमचुचुराहरुको अवलोकन गर्न सकिन्छ ।


सुर्योदय, गुराँसको जंगल, पहाडी भुगोल र ग्रामिण मगर संस्कृतीको अवलोकनका हिसावले टोड्के महत्वपूर्ण पर्यटकीय स्थलका रुपमा परिचित भएपनि बेनी देखि स्तरीय सडक नहुँदा पर्यटक आगमन सोचे अनुसार नभएको टोड्के हिल रिर्सोटका संचालक भीम शेरचनले बताउनुभयो । बेनी–अर्थुङ्गे–पुलाचौर–चिप्लेटी–डडुवा–पूर्ण गाउँ र बेनी–घतान–पात्लेखेत–झीँ तथा बेनी–बाबियाचौर–कुहुँ हुँदै पूर्ण गाउँ भएर टोड्के पुग्न सकिन्छ ।