कुस्मामा सातौं पर्वत महोत्सव शुरु

विकल्प न्यूज/पर्वत
माघ ११ गते ।

पर्वतको कुस्मामा सातौं पर्वत महोत्सव शुरु भएको छ । माघ ११ गतेदेखि २१ गतेसम्म आयोजना गरिएको सातौ पर्वत महोत्सवको बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले उद्घाटन गर्नुभयो । पर्वत उद्योग वाणिज्य संघको आयोजनामा गण्डकी प्रदेश स्तरीय व्यापार मेला तथा सातौँ पर्वत महोत्सवको उद्घाटन गर्दै मन्त्री गिरीले पर्वतको महोत्सवले जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने आशा व्यक्त गर्नुभयो ।

संघीय सरकारको क्याबिनेट मन्त्री भएपछि पहिलो पटक पर्वत आउनुभएका गिरीले जिल्लाको विकास र समृद्धिका लागि नयाँ सवैको साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । महोत्सव सुरु हुनुभन्दा पहिला बाजागाजा सहित कुस्माका ¥याली निकालिएको थियो ।
महोत्सवमा २ सय ५० वटा व्यवसायिक स्टलहरु राखिएका छन् । दैनिक रुपमा स्थानीय र राष्ट्रिय कलाकारहरुको सांगेतिक प्रस्तुती रहने आयोजकले जनाएका छन् ।

महोत्सवमा रु पाँच करोडभन्दा बढीको कारोबार हुने उद्योग वाणिज्य सङ्घले जनाएको छ । महोत्सवमा विश्वकै अग्लो बञ्जीजम्प, जिपफ्लाइङ, कालीगण्डकी नदीमा ¥याफ्टिङ, नेपालकै अग्ला र लामा झोलुङ्गे पुल, कुश्मा बलेवा यान्त्रिक पुल, गुप्तेश्वर र अलपेश्वर गुफाको अवलोकन, अल्लोको कपडा, लोक्ताको नेपाली कागज, सुन्तलाको जुस, मह, जडीबुटी, अदुवा र लप्सीका परिकारको प्रदर्शनी मुख्य आकर्षण छन् ।

विद्यालयस्तरीय लोकनृत्य, रत्यौली, भजन, छेलो, खुला दौड, तीर हान्ने प्रतियोगिता राष्ट्रिय खानाका परिकार, स्थानीय उत्पादनहरूको बिक्री तथा औद्योगिक प्रदर्शनी, शैक्षिक, कृषि र फोटो प्रदर्शनीसमेत गरिने भएको छ ।  महोत्सवको अवसरमा गण्डकी प्रदेश पालिकास्तरीय भलिबलसमेत आयोजना गरिएको छ ।