विकल्प न्यूज\बेनी
मंसिर २ गते ।
जन्मदिनको अवसर पारेर नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहलाई शनिवार जिन्सी सामान सहयोग भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ निवासी डिलु बुदुजा (बद्री पुन)ले म्याग्दी बालगृहमा रहेका बालबालिकाहरुलाई लक्षित गरेर भाँडावर्तन सहयोग गर्नुभएको हो ।
नारच्याङ घर भई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक, अधिकार र रक्षार्थको लागि विगत लामो समयदेखि वकालत र पैरवी गर्दै आउनुभएका समावेशी मञ्च नेपाल संस्था काठमाडौंका अध्यक्ष बुदुजाले मिलन म्याग्दीको समन्वय तथा व्यवस्थापनमा म्याग्दी बालगृहलाई जिन्सी सामान सहयोग गर्नुभयो । उहाँले बालगृहलाई राईसकुकर १ थान, डेक्ची २ थान, गिलास १ दर्जन, चिया पिउने गिलास १ दर्जन र मिक्सचर १ थान दिनुभएको छ ।
उक्त भाँडावर्तनका सामानहरु समावेशी मञ्चका अध्यक्ष बुदुजाले नेपाल बाल सङ्गठन म्याग्दीका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभएको थियो । जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा थोरै भए पनि बालगृहलाई सहयोग पुगोस् भन्ने उद्देश्यसहित भाँडावर्तनलगायत सहयोग गरिएको उहाँले बताउनुभयो । जिन्सी सामानहरु सहयोग ग्रहण गर्दै बाल सङ्गठनका जिल्ला अध्यक्ष शाक्यले विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोगबाट म्याग्दी बालगृह सञ्चालनमा धेरै सहयोग पुगेको बताउनुभयो ।
कार्यक्रममा धवलागिरि गाउँपालिकाका पूर्व अध्यक्ष थमसरा पुन, मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालु, उपाध्यक्ष तिलकुमारी रानालगायत पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मिलन म्याग्दीका सचिव ज्ञानुकुमारी बानियाँ केसीले गर्नुभएको थियो । आगामी दिनमा पनि जिल्लास्थित विभिन्न संघसंस्थाको सहयोगमा सामाजिक क्षेत्रमा लगानी गर्ने अध्यक्ष बुदुजाको भनाइ छ ।
यसैगरी जन्मदिनकै अवसर पारेर बुदुजाले पर्वतको जलजला गाउँपालिका–७, धाईरिङमा सञ्चालनमा रहेको श्री गण्डकी गोपाल गौशालालाई पनि ७ भारी पराल सहयोग गर्नुभएको छ । गौशालामा रहेका गाईलाई घाँसपातको व्यवस्थापन गर्नको लागि विभिन्न व्यक्तिहरुबाट अहिले पराललगायत सहयोग भैरहेको छ ।