जलजला गाउँपालिकाको १३ औँ गाउँसभा सम्पन्न

विकल्प न्यूज/बेनी
माघ ५ गते ।


पर्वतको जलजला गाउँपालिकाको १३ औं गाउँसभा वुधवार सम्पन्न भएको छ । गत पुस २९ गते सुरु भएको गाउँसभामा विवाद उत्पन्न भएपछि स्थगीत गरिएको थियो ।
गाउँपालिकाले अध्यक्षले बहुमत गाउँसभा सदस्यलाई निशेध गरेर अघि बढ्न खोजेको भन्दै नेकपा एमालेबाट निर्वाचित गाउँसभाका सदस्यहरुले विरोध जनाएका थिए । बुधवार दुवै पक्षबीच सहमति कायम भएपछि गाउँसभा सुरु भएको थियो । बुधवार सम्पन्न भएको सभामा गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बजेट संसोधन, शिर्षकान्तर, चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन, लेखा समिति र गाउँपालिकाको भवन निर्माणका लागि जग्गाको अध्ययन गर्न कार्यदल गठन गर्ने प्रस्ताव पारित भएको छ ।

अल्या बजेटबाट जिम्मेवारी सरेका र समपुरक कोषबाट विभिन्न योजना तथा कार्यक्रमका लागि दुई करोड ४८ लाख बिनियोजन भएको छ । अधुरा योजनालाई पूर्णता दिन र सिर्जना भइसकेको दायित्वको भुक्तानीका लागि बजेट बिनियोजन गरेको अध्यक्ष आचार्यले बताउनुभयो ।
असारको सभाले ४९ करोड ६५ लाख २८ हजार बिनियोजन गरेको थियो । कर्मचारीको तलबमा ९५ लाख, गाउँपालिकाको अस्थायी संरचना बनाउन ३० लाख, २ र ८ नम्बर वडाको भवनलाई ८० लाख, सडक मर्मतमा २० लाख, झोलुङ्गे पुललाई १३ लाख, मल्लाजमा निर्माणाधिन अस्पतालको जग्गा खरिद गर्न १८ लाख, शान्ति आधारभूत शालीजाको जग्गा खरिदमा ४ लाख, विद्याज्योती माविको भवनलाई छ लाख पचास हजार बिनियोजन भएको छ ।

यसैगरी गाउँसभा सदस्य टकबहादुर पुनको संयोजकत्वमा खिमबहादुर खत्री र बिष्णु पुन सदस्य रहेको लेखा समिति गठन भएको छ । वडा नम्बर ४ का अध्यक्ष भरत जिसीको अध्यक्षतामा बलबहादुर फगामी र टुङ्गनाथ शर्मा सदस्य रहेको जग्गा अध्ययन सम्बन्धी कार्यदल गठन भएको छ ।

समितिको सिफारिस अनुसार अस्थायी संरचना बनाएर गाउँपालिकाको कार्यालय सञ्चालन गर्न रु. तीस लाख बिनियोजन भएको छ । घर, टहरा र खेतीयोग्य जमिनमा असर गर्ने साँध सिमानाको अनावश्यक रुख हटाउने सम्बन्धी प्रस्ताव पारित भएको छ ।
संघीय सरकारसँगको साझेदारीमा छ वटा वडा कार्यालयको भवन निर्माण थालिएको, बेनी–भुरतुला सडक ढलान भैरहेको, विद्यालयमा उपलब्धी मापनका लागि परीक्षा सञ्चालन गरेको, घुम्ति शिविरबाट वडामै सेवा दिएको अध्यक्ष आचार्यले बताउनुभयो ।

गत असारको गाउँसभाले बिनियोजन गरेको ४८ करोड बजेट २० करोड ६५ लाख २६ हजार ६५३ आम्दानी र १६ करोड १८ लाख ४२ हजार ९७२ अथवा ३२.५९ प्रतिशत बजेट खर्च भएको छ । छ महिनामा रु. ६६ लाख ५२ हजार ७१ आन्तरिक आम्दानी भएको छ । विभिन्न ११ वटा कार्यविधि र मापदण्ड पारित भएको छ । गत पुष २९ गते गाउँसभाका बहुमत सदस्य उपस्थित नभएपछि गित गरिएको थियो। बुधबारको सभामा भने अधिकांश सदस्यहरु सहभागि भएका थिए ।

छलफलमा सहभागी हुदै गाउँसभा सदस्य टकबहादुर पुनले कार्यपालिका अन्तरगतको विषयगत समितिलाई सक्रीय बनाउनुपर्ने बताउनुभयो । भिमसेन बराइलीले पुँजिगत खर्च अपेक्षाकृत नभएकोमा असन्तुष्टि जनाउनुभयो ।

क्षेत्रबहादुर पुनले वडा कार्यालय भवन निर्माणको जिम्मा लिएका ठेकेदारले दोस्रो तेस्रो व्यक्तिलाई ठेक्का बेचेको भन्दा गुणस्तर र मापदण्ड अनुसार भवन बनाउनुपर्ने बताउनुभयो । लकबहादुर पुर्जाले विकृति र सामाजिक समस्याका रुपमा देखिएको मेलाजात्रालाई नियम गर्न आवश्यक देखिएको बताउनुभयो ।

सदस्य बिष्णु सार्कीले गाउँसभा र पालिकाका कार्यक्रम समयमै शुरु र सम्पन्न गराउन ध्यानाकर्षण गराउनुभयो । सदस्यहरुले गरेको प्रश्न र जिज्ञाशाको उत्तर दिदै अध्यक्ष आचार्यले बर्खा र चुनावका कारण आर्थिक वर्षको पहिलो छ महिनामा काम हुन नसकेको र अब तिब्रताका साथ योजना तथा कार्यक्रम कार्यान्वयनमा जुट्न जनप्रतिनिधि र कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।