म्याग्दीमा २३ वर्षपछि फर्कियो कांग्रेसको जित

ठाकुरप्रसाद आचार्य\बेनी
मङ्सिर ७ गते ।

म्याग्दीमा प्रतिनिधि सभा सदस्य पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) फराकिलो मतअन्तरले विजयी हुनुभएको छ । बुधवार राती सम्पन्न मतगणना अनुसार गर्बुजाले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई तिनहजार ८ सय ३२ मतान्तरले पराजित गर्नुभएको हो ।

गर्बुजाले २४ हजार २१ मत र श्रेष्ठले २० हजार एकसय ८९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गर्बुजा यसअघिका निर्वाचन २०७० र २०७४ मा एमालेका उम्मेदवार सँग झिनो मतान्तरले पराजित हुनुभएको थियो । तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्नुभएका गर्बुजालाई यसपटक माओवादी,नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थनमा विजयी हुन सहज भयो ।


यसअघि २०५६ को निर्वाचनमा नेपाली काँग्रेसका नारायणसिंह पुनले चुनाव जित्नुभएको थियो । त्यसपछि लगातार पराजित हुँदै आएको कांग्रेसलाई यसपटको जितले खुसीयाली ल्याएको छ । कांग्रेसले २३ वर्षपछि जित फर्काउदै एमालेको गढ भत्काएको छ । जित सँगै गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यक्रर्ताहरुले खुसियाली मनाएका छन् ।

मतगणनाको सुरुवाती अवस्था देखिनै गर्बुजाले निरन्तर अग्रता कायम राख्नुभएको थियो । तेस्रो पटक चुनावी मैदानमा उत्रिनुभएका खम्बिरले यसपाली एमालेको बर्चश्वमा ब्रेक लगाइदिनुभएको छ ।

काँग्रेसले अन्नपूर्ण गाउँपालिकामा पनि राम्रो मत पाएको छ । अन्पूर्णलाई एमालेले पनि राम्रो मत पाउने पालिकाका रुपमा राखेको थियो । नेकपा एमालेले धवलागिरि,मंगला र बेनी नगरपालिकामा अपेक्षा गरेअनुरुपको मत प्राप्त गर्न सकेन । एमालेको मंगला र बेनी नगरपालिकामा गठबन्धनलाई फराकिलो मतले पछाडी पार्ने आकलन मेलखाएन ।

गठबन्धनमा आवद्ध दलहरुको मत इमान्दाररुपमा प्रकट हुँदा गठबन्धन विजयी हुने आधार तयार भएको कांग्रेसका कार्यकर्ताहरु बताउँछन् । गठबन्धनमा आवद्ध दलहरुकाबीच इमानदारिता कायम भएकाले म्याग्दीमा गठबन्धनले सवै सिटमा सहजरुपमा विजयी भएको नेपाली कांग्रेसका उपसभापति केवि भण्डारीले बताउनुभयो ।

२०४८ साल पछिका निर्वाचन मध्य एकपटक कांग्रेसले २०५६ र माओवादीले २०६४ मा जितेको थियो । २०४८,२०५१,२०७०,२०७४ का निर्वाचनहरुमा निरन्तर नेकपा एमालेले जित्दै आएको जिल्ला हो । २०७४ को निर्वाचनमा करिब दुईहजार तिनसय मतले नेकपा एमालेका उम्मेदवार भुपेन्द्र थापासँग गर्बुजा पराजित हुुनुभएको थियो ।

एकातिर एमाले र माओवादीको गठबन्धन र अर्को तिर कांग्रेसक राप्रपाको गठबन्धन थियो । दुईदुई पटक निर्वाचनमा पराजित भएपनि गर्बुजा जिल्लामै बसेर कांग्रेसको संगठनलाई बलियो बनाउन लाग्नुभयो । दुईदुईपटको हारलाई शक्तिमा बदलेर गर्बुजा कांग्रेसको संगठन बनाउन लागेका कारण यसपालीको जित संभव भएको नेताहरु बताउँछन् ।

 

अघिल्लो प्रदेश सभा तर्फको निर्वाचनमा बामगठबन्धन गरेर एमालेले प्रदेश (ख) र माओवादीले प्रदेश (क) जितेका थिए । यसपाली प्रदेश (ख) मा गठबन्धनका उम्मेदवार नेकपा माओवादीका रेशम जुग्जालीले एकसय २ मतान्तरले नेकपा एमालेका उम्मेदवार यामबहादुर गर्बुजालाई पराजित गर्दै विजयी हुनुभयो ।

गठबन्धनमा इमानदारिता कायम भएकाले जुग्जाली विजयी हुनुभयो । प्रदेश (क) मा पनि नेकपा एमालेका उम्मेदवार देवेन्द्रवहादुर केसीलाई पराजित गर्दै गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादीका हरि भण्डारी विजयी हुनुभएको छ । प्रदेश (ख) मा माओवादीका उम्मेदवार रेशम जुग्जाली विजयी भइसक्नुभएको छ ।