म्याग्दीमा तयार भयो तारजाली सहितको मतगणनास्थल

ठाकुरप्रसाद आचार्य/बेनी
मङ्सिर ३ गते ।

म्याग्दीमा मतगणना स्थल तयार पारिएको छ । आइतबार सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतगणनास्थल व्यवस्थापन गर्नेकाम सम्पन्न भएको हो । मतगणनालाई व्यवस्थित र छिटो सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयारीका सवै काम सम्पन्न गरेको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना स्थल तयार पारिएको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो ।

मतगणना स्थलमा तारजाली लगाउने,सुरक्षा पोष्ट,मिडिया डेस्क र आवश्यक संरचना निर्माण गरिएको सहायक निर्वाचन अधिकृत पौडेलले बताउनुभयो । उहाँका अनुसार गणनास्थलमा सीसी क्यामेरा सहित भरपर्दो सुरक्षाको प्रबन्ध मिलाइएको छ । मतगणना स्थलमा वाहिरबाट कोही पनि भित्र पस्न नसकुन भनेर तारजाली लगाइएको छ ।

मतगणनामा वस्ने उम्मेदवारका प्रतिनिधिहरुले वाहिरबाट भित्र मतगणना हेर्न मिल्ने गरी तारजाली लगाइएको अधिकृत पौडेलले बताउनुभयो । ‘गणनास्थलको सुरक्षा कडा पारिने छ । तारबार र क्यामेरा राखिएको छ,’ उहाँले भन्नुभयो, ‘कोही प्रतिनिधि फड्किएर मतपत्र भेट्न सक्दैनन् ।’ उहाँका अनुसार जिससमै मतपेटिका संकलन गर्ने ठाउँ समेत तयार भएको छ ।