विकल्प न्यूज/बेनी
असोज २२ गते ।
२०७४ को निर्वाचनमा एमाले र माओवादीका विच चुनावी गठबन्धन भएपछि नेकपा एमालेको पार्टी कार्यालय हाँडेभिरमा झण्डा साटासाट गर्दै माओवादीका तत्कालिन जिल्ला अध्यक्ष गोविन्द पौडेल र एमालेका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ । तस्विर विकल्प न्यूज
पाँचदिनको भारी वर्षाले मौसम चिसो छ । वर्षा अझै रोकिएको छैन । तर चिसो मौसमलाई एकाएक राजनीतिक गतिविधिले तताउन थालेको छ । आगमी मंसिर ४ मा हुने संघ र प्रदेशसभा निर्वाचनका लागि शुक्रबार राती अवेर मात्र नेकपा एमालेले उम्मेदवार चयन गरेको छ । भने सत्ता गठबन्धनले सिट बाडफाँट टुंगाएको छ । जसले गर्दा एकाएक म्याग्दीको राजनीति यतिखेर तातोको छ ।
म्याग्दीमा संघ तर्फ नेपाली काँग्रेसको भागमा पर्दछ भन्ने लगभग निश्चित जस्तै थियो । काँग्रेस नेता कार्यकर्ता ढुक्क जस्तै थिए । तर शुक्रबार राती भारीवर्षाकाबीच चट्याङ् परेजस्तै म्याग्दी माओवादीको भागमा प¥यो । जुन निर्णयले सत्ता गठबन्धनमा आवद्ध म्याग्दीका दलहरुलाई तर्सायो । आफ्नो शक्ति आकल गरेको माओवादीको रोजाई संघ भन्दा पनि प्रदेश थियो । तर झ्याप्पै संघ नै आइलागेपछि माओवादी पनि तिनछक परेको छ । गठबन्धनका तर्फबाट प्रतिनिधिसभा काँग्रेसको भागमा भन्दा माओवादीको भागमा पर्दा निर्वाचन जित्न सहज हुने अपेक्षा एमालेको थियो ।
सत्ता गठबन्धनको केन्द्रको निर्णयले नत माओवादीमा खुसी र उमङ्ग ल्याउन सक्यो नत काँग्रेसलाई नै ! यतिखेर सत्ता गठबन्धन आन्तरिक छलफलमा छन् ।
माओवादीको भागमा परेपछि माओवादीका नेता तथा कार्यकर्ता तयारीमा जुटेका छन् । माओवादीले केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य गोविन्द पौडेल, नेताहरु चन्द्रबहादुर घिमिरे र खुमनाथ सुवेदीलाई प्रतिनिधिसभाको उम्मेदवारका लागि यसअघि नै सिफारिस गरेको थियो ।
यता नेकपा एमालेले टुंगाएको टिकटले कार्यकर्ताहरुमा खुसी र उत्साह छाएको छ ।
जिल्लाले एकल रुपमा सिफारिसमा पर्नुभएका नेता हरिकृष्ण श्रेष्ठलाई नै प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णयलाई केन्द्रले पनि सदर गरिदियो । त्यस्तै पार्टी अध्यक्ष तथा निर्वतमान जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीलाई प्रदेशसभा निर्वाचन क्षेत्र क र गण्डकी प्रदेश कमिटी सदस्य यामबहादुर गर्बुजालाई प्रदेश निर्वाचन क्षेत्र ख का लागि उम्मेदवार बनाउने निर्णय नेकपा एमालेले गरेको छ ।
जिल्लामा गठबन्धन निश्चित छ । संघ माओवादी केन्द्रले पाउँदै गर्दा प्रदेशसभा तर्फका दुवै क्षेत्र नेपाली काँग्रेसले पाएको छ । जिल्लामा तेस्रो स्थानमा रहेको माओवादीले गठबन्धनका तर्फबाट संघको सिट पाएको छ । २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा जितेको माओवादी फेरी १५ वर्ष पछि गठबन्धनको बलमा जित्ने दाउमा छ । गठबन्धनका तर्फबाट माओवादीका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य पौडेल उम्मेदवार बन्ने लगभग निश्चित जस्तै छ ।
काँग्रेसले आधिकारीक धारणा सार्वजनिक नगरेपनि सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त हुनथालेको छ । गठबन्धनका तर्फबाट पौडेल उम्मेदवार बन्ने पक्का पक्की भएको माओवादीका नेता शेरबहादुर केसीले बताउनुभयो । केन्द्रको निर्णय हामीले अदलबदल गर्ने सक्ने स्थिति छैन केसीले भन्नुभयो ‘केन्द्रको निर्णय मानेर निर्वाचनमा जानुको विकल्प हामीसँग छैन । यो कुरामा काँग्रेसका साथीहरु पनि तयार हुनुपर्दछ ।’
काँग्रेसले यो समाचार तयार पार्दा सम्म कुनै आधिकारीक धारणा सर्वजनिक गरेको छैन ।
प्रतिनिधिसभा तर्फ पार्टी सभापति खम्बिर गर्बुजालाई उम्मेदवारका रुपमा धेरैले हेरेका थिए । २०७० र २०७४ को निर्वाचनमा पराजित हुनुभएका गर्बुजा यसपाली भने गठबन्धनको शक्तिबाट निर्वाचन जित्ने महत्वकाँक्षा साथ सक्रिय हुनुहुन्थ्यो । तर सत्ता गठबन्धनको सिट बाडफाँटमा म्याग्दी नपरेपछि उहाँको संसदीय यात्रा यसपाली लगभग टुंगिएको छ ।
प्रदेशसभा तर्फ दुवै क्षेत्रको टिकट पाएको काँग्रेसले यो समाचार तयार पर्दा सम्म उम्मेदवार टुंगो लगाएको छैन । प्रदेश क मा नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ र जिल्ला उपसभापति केबि भण्डारी मध्य एकले टिकट पाउने देखिन्छ । दुइजनामा जसले पाएपनि काँग्रेसका बलियो उम्मेदवार हुनेछन् । एमालेका उम्मेदवार केसी सँग कडा टक्कर पर्ने देखिन्छ । केसी पाँचवर्ष जिससको नेतृत्वमा हुँदा जिल्लामा राम्रो पहिचान बनाउन सफल हुनुभएको छ ।
आगमी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले म्याग्दीका उम्मेदवारहरु क्रमसः हरिकृष्ण श्रेष्ठ,देवेन्द्र केसी र यामबहादुर गर्बुजा
केसीलाई रघुंगा र अन्नपूर्ण गाउँपालिकाबाट राम्रो मत आउने अपेक्षा गरिएको छ । रघुगंगा २ भगवति निवासी भएकाले केसीले राँखु क्षेत्रको राम्रो मत पाउनसक्ने आकलन गरिएको छ । रघुगंगा र अन्नपूर्णमा फराकिलो मतअन्तरले गठबन्धनको बेनी नगरपालिकाको मतअन्तरलाई जित्न सके केसीको जित नजिक देखिन्छ । तर काँग्रेसले बानियाँ र भण्डारीलाई उम्मेदवार बनाउँदा भने प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ ।
यता निर्वाचन क्षेत्र ख बाट काँग्रेसले मनमोहन छन्त्याललाई एकल रुपमा सिफारिस गरेको छ । जिल्लाको सिफारिस केन्द्रले सदर गरेमा यो क्षेत्रमा नेकपा एमालेबाट गर्बुजा र गठबन्धनका तर्फबाट छन्त्यालबीच प्रतिस्पर्धा हुने देखिन्छ । यी दुवै उम्मेदवार काठमाण्डौंमा बसेर जिल्लाको राजनीतिक गर्ने नेताहरुमा पर्दछन् । सत्ता गठबन्धन यो क्षेत्रमा तुलनात्मक रुपमा बलियो देखिएको छ । तर गत स्थानीय तहको निर्वाचनमा एमालेले मालिका र मंगला गाउँपालिकामा निर्वाचन जितेको छ । माओवादी गठबन्धनप्रति इमान्दार भए यो क्षेत्र काँग्रेसका लागि सहज हुने देखिन्छ ।
नेकपा एमालेले नयाँ अनुहारलाई निर्वाचनको मैदानमा उतारेको छ । दुईदुई पटक पार्टी अध्यक्ष हुनुभएका श्रेष्ठ नेकपा हुँदा पार्टी सचिव भएर आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको थियो । नेकपा कार्यकालका अध्यक्ष र सचिव नै यसपाली निर्वाचनको मैदानमा मुख्य प्रतिस्पर्धी भएर उत्रिने भएका छन् । २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा करिब २४ हजार मत ल्याएर निर्वाचन जित्नुभएका माओवादीका पौडेलले यसपाली गठबन्धनको शक्तिमा कति मत ल्याउनुहोला ? यो चाही रोचक विषय छ । माओवादीका पौडेल एकपटक परिक्षण भइसक्नुभएका नेता हुनुहुन्छ भने श्रेष्ठ संसदीय फाँटमा नयाँ अनुहार हुनुहु्न्छ ।
म्याग्दीमा अन्य दलको भन्दा एमालेको संगठन बलियो छ । एमालेले गत स्थानीय तहको निर्वाचनमा एक नगरपालिका र तिन गाउँपालिका गरेर चार स्थानीय तहमा जित हासिल गरेको छ । काँग्रेसले दुई स्थानीय तहमा जित हासिल गरेको छ भने माओवादी केन्द्रले बेनी नगरपालिकाको उपप्रमुख,धबलागिरिमा उपाध्यक्ष र ६ वटा वडाध्यक्ष जितेको छ । माओवादीको गठबन्धनको बल र एमालेको संगठनको बल कुन चाहि विजयी होला त्यो हेर्न मंसिर ४ नै पर्खनुपर्ला । गठबन्धनका उम्मेदवार भन्दा एमालेका उम्मेदवार बलिया देखिएका छन् ।
भोली असोज २३ गते निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ताको दिन छ । दलहरु भोलीको तयारीका लागि जुटिसकेका छन् ।