म्याग्दीमा काँग्रेसबाट प्रतिनिधिसभामा तीनजनाको नाम सिफारिस

विकल्प न्यूज\बेनी
भदौं १७ गते ।

आगमी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीले आकांक्षीहरुको नाम सिफारिस गरेको छ । शुक्रवार सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र गण्डकी प्रदेश प्रतिनिधि समेतको बैठकबाट प्रदेश निर्वाचन क्षेत्रबाट आएको सिफारिस र जिल्ला कार्य समितिको बैठकमा उम्मेदवार बन्न आकांक्षा राखेका व्यक्तिहरुको नाम प्रदेश समितिमा सिफारिस गरिएको जिल्ला उपसभापति केवि भण्डारीले जानकारी दिनुभयो ।

बैठकबाट प्रतिनिधि सभाको प्रत्येक्षतर्फ ३ र समानुपातीकमा ११ जना, प्रदेश निर्वाचन क्षेत्र क मा प्रत्यक्ष र समानुपातीकमा ४\४ जना र ख मा प्रत्यक्षतर्फ १ र समानुपातीकतर्फ ९ जनाको नाम पार्टीको गण्डकी प्रदेश समितिमा सिफारिस गरेको जिल्ला सचिब हिराबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार, उम्मेदवार बन्न इच्छुक व्यक्तिहरुको नामावलीलाई जिल्ला समितिको बैठकले थपघट नगरिकन सिफारिस गरेको हो ।

बैठकको सुरुवातमा प्रतिनिधिसभाको उम्मेदवार बन्न इच्छुक देखिनुभएका नेत्र महत समानुपातीक तर्फ बस्न राजी भएपछि प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारमा तीन जनाको मात्रै नाम सिफारिस गरिएको जनाइएको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’, संविधान सभा सदस्य रेशमबहादुर बानियाँ र पार्टी जिल्ला उप–सभापति कर्णबहादुर भण्डारी (केवी) सिफारिस हुनुभएको जिल्ला सचिब पुनले जानकारी दिनुभयो ।

त्यस्तै प्रतिनिधिसभा तर्फकै समानुपातिकतर्फ माधवप्रसाद रेग्मी, नेत्रबहादुर महत, हिराबहादुर पुन, मनकुमारी विश्वकर्मा,विनाकुमारी खड्का, श्रीप्रसाद रोका मगर, भिमबहादुर रोका मगर ,दिलबहादुर बरुवाल, गोपाल बानियाँ, प्रताप पुर्जा र त्रिलोकचन्द विश्कर्माको नाम सिफारिस भएको छ । त्यसैगरि प्रदेश सभा क्षेत्र ‘क’ र ‘ख’ बाट समेत आएका उम्मेदवारहरुको नामलाई जिल्ला समितिले प्रदेश समितिमा सिफारिस गरेको छ । प्रदेश ‘क’ मा प्रत्यक्षतर्फको उम्मेदवारमा हरिकुमार श्रेष्ठ, ओम छन्त्याल, क्याप्टेन मिनबहादुर कार्की, क्याप्टेन डमबहादुर गर्बुजा सिफारिस हुनुभएको छ ।

त्यसैगरि सामानुपातिकतर्फ बिमला गौचन, अनोद श्रेष्ठ, मुकुन्द छन्त्याल र कमल विश्वकर्माको नाम सिफारिस गरिएकोे छ । त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’मा प्रत्यक्षतर्फ मनमोहन बुढाथोकी छन्त्याललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरी सिफारिस गरिएको छ भने समानुपातिकतर्फ खिमबहादुर पुर्जा, देविकुमारी बुढा ,यामबहादुर हर्मेल ,तमबहादुर थापा ,तेजिन्द्र थापा, कमरा पटेल, दिलबहादुर विक, रामदेवी पुन र सुरेन्द्र खत्रीको नाम सिफारिस गरिएको छ । निर्वाचनमा सिफारिस हुने उम्मेदवारलाई केन्द्रबाट तोकिएको मापदण्डलाई भने उल्लंघन गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभामा आकांक्षी धेरै भए मतदानको माध्यमबाट भएपनि उम्मेदवार बनाउन माग गरिएकोमा आकांक्षी सबैको नाम पठाइएको छ ।