म्याग्दीका १५ वडामा मतगणना सम्पन्न ः नेकपा एमालेको अग्रता

विकल्प न्युज/ बेनी

जेठ १ गते ।

म्याग्दीका ६ वटा स्थानीय तहका ४५ वडाहरुमध्ये १५ वटा वडाको मतगणना सम्पन्न भएको छ ।
आइतबार बिहानसम्म सार्वजनिक भएको वडाहरुको मतपरिणाम अनुसार ७ वटा वडामा नेकपा एमालेले जित हाँसिल गरेर पहिलो बनेको छ भने नेपाली कांग्रेसले ५ र नेकपा माओवादी केन्द्रले २ वटा वडामा विजय प्राप्त गरेका छन् ।

पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा माओवादीका झकबहादुर छन्त्याल निर्विरोध भएका छन् ।

प्राप्त नतिजा अनुसार मालिका गाउँपालिका–१ मा कांग्रेसका टंकप्रसाद पुनले ४६२ मत, वडा नम्बर २ मा एमालेका उदयकुमार बुढाथोकीले ७५१ र वडा नम्बर ३ मा माओवादीका मोतीप्रसाद बुढाले ३४५ मत ल्याएर विजयी भएका छन् ।

त्यसैगरी अन्नपूर्ण गाउँपालिका–१ को अध्यक्षमा एमालेका दिलीपकुमार गर्बुजाले ३३२ र वडा नम्बर २ मा सोही पार्टीका ओमप्रकाश फगामीले ३२९ मत ल्याएर निर्वाचित भएका छन् ।

उता पश्चिम म्याग्दीको मालिका–४ मा कांग्रेसका भिजेन्द्रमान पुन र ५ मा कांग्रेसका मीम पुन वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

बेनी नगरपालिकाको वडा नम्बर १ मा एमालेका टेकबहादुर थापा वडा अध्यक्षमा निर्वाचित भएका छन् भने बेनी नगरपालिका २ ज्यामरुककोटमा पनि नेपाली कांग्रेसको प्यानल नै विजयी हुने करिव निश्चित भएको छ ।
रघुगंगा गाउँपालिका–१ को अध्यक्षमा कांग्रेसका बिलप्रसाद फगामी र २ मा एमालेका अमृत भण्डारी विजयी भएका छन् ।

मंगला गाउँपालिका–१ मा एमालेका एकजित रोका र २ मा सोही पार्टीका धनबहादुर खाती क्षेत्री विजयी भएका छन् ।
धौलागिरि गाउँपालिका–२ लुलाङको अध्यक्षमा एमालेका अकप्रसाद विक निर्वाचित भएका छन् ।

६ वटै स्थानीय तहको मतगणना जारी छ । बेनीको मेयरमा एमाले, उपमेयरमा माओवादी, मंगला र अन्नपूर्णमा एमाले, मालिका, धौलागिरि र रघुगंगा गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

कूल ८५ हजार ३७५ मतदाता रहेकोमा ५६ हजार ५४३ मत खसेको थियो । जिल्लामा निर्वाचित हुने २३७ पदका लागि ७१८ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।