जलजलामा एमालेको घरदैलो अभियानमा देखिएको उत्साह

विकल्प न्यूज\बेनी
बैशाख २७ गते ।

पर्वतको जलजला गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षमा लालबहादुर अधिकारी चुनावी मैदानमा एक्लै उत्रिनुभएको छ । यहाँ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका छन् । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका राजु प्रसाद आचार्य अध्यक्ष पदको उम्मेदवार हुनुहुन्छ ।

अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसले जितेको जलजलामा यसपाली काँग्रेस र माओवादी गठबन्धन गरेका छन् । एमालेबाट उपाध्यक्षमा सुनिता जिसी बरुवाल र गठबन्धनका तर्फबाट माओवादीका दिपक आचार्य उपाध्यक्षको उम्मेदवार हुनुुहुन्छ ।

एमालेका उम्मेदवार अधिकारी राजनीतिक रुपमा प्रष्ट विचार राख्न सक्ने र कमाण्ड गर्ने सक्ने क्षमता राख्नुहुन्छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेससँग पराजित हुनुभएका अधिकारी यसपाली भने जितको नजिक रहेको आकलन गर्न थालिएको छ । गठबन्धनले अध्यक्ष र उपाध्यक्षको उम्मेदवार एउटै गाउँबाट दिनु र महिला सहभागितालाई ध्यान नदिनुले गठबन्धन जलजलामा कमजोर भएको मतदाताहरुको आकलन छ ।

अध्यक्षका उम्मेदवार अधिकारीले मल्लाज क्षेत्रबाट राम्रो मत पाउने र धाइरिङ,नाग्लीबाङ र बनौंबाट सैद्धान्तिक मत प्राप्त गरेपछि जित सुनिश्चित हुने एमालेका नेता तथा कार्यकर्ताहरुको भनाई छ ।

चुनावी अभियान लिएर घरघरमा पुग्दा मतदाताको उत्साहपूर्ण सहभागिता देखिएको छ । उम्मेदवार दर्ता गरे लगत्तै वडा नम्बर १ बासखर्कबाट चुनावी अभियान थाल्नुभएका अधिकारीले मंगलबार सम्म आइपुग्दा सवै वडा र वस्तीमा पुग्नुभएको छ । अधिकारी पुगेका ठाउँहरुमा जलजलावासीहरुको उत्साहजनक सहभागित देखिएको नेकपा एमाले जलजला पालिका कमिटीका सचिव महेन्द्र रेग्मीले बताउनुभयो ।

यसपाली हामीले जलजला जित्छौं सचिव रेग्मीले भन्नुभयो ‘अघिल्लो निर्वाचन ताका भन्दा हाम्रो संगठन यसपाली बलियो छ । अर्को कुरा जलजलामा नेकपा एमाले प्रति जनलहर आएको छ त्यसैले हामी जितको नजिक पुगेका छौं ।’

जलजलाका ९ वटै वडामा नेकपा एमालेले घरदैलो र चुनावी कार्यक्रम सम्पन्न गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार वडाका उम्मेदवारहरुले नमुना मतपत्र सहित मतदातालाई मत हाल्ने तरिका सिकाउने अभियान सञ्चालन गरेका छन् । यसपाली नेकपा एमालेले पालिका सहित जलजलाका ८ वटा वडा जित्ने सचिव रेग्मीले दावी गर्नुभयो ।