विकल्प न्यूज/जलजला
बैशाख २३ गते ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जलजलामा एकमात्र महिला वडाध्यक्षको उम्मेदवार हुनुहुन्छ । नेकपा एमालेले जलजलाको ८ नम्बर वडा नाग्लीबाङमा महिला नेतृ अनिता रेग्मीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ ।
अघिल्लो निर्वाचनमा पालिकाको उपाध्यक्षमा झिनो मतान्तरले पराजित हुनुभएकी रेग्मी यसपटक वडाध्यक्षको उम्मेदवार बन्नुभएको हो । नाग्लीबाङमा सामाजिक सेवामा क्रियाशिल रेग्मी वडाध्यक्षको उम्मेदवार बनेर चुनावी अभियानमा जुट्दा महिलाहरु उत्साहित बनेका छन् । नेकपा एमाले पर्वतको जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ जलजलाको अध्यक्ष समेत रहनु भएकी रेग्मी यतिखेर मतदाताको घरघरमा पुग्नुभएको छ ।
मलाई यसपाली पनि पार्टीले उपाध्यक्षको टिकट दिएको थियो रेग्मीले भन्नुभयो ‘मलाई गाउँकै सेवा गर्ने इच्छा जाग्यो त्यसैले उपाध्यक्षको टिकट अस्विकार गरेर वडाध्यक्षको उम्मेदवार बनेकी हुँ ।’ महिलाले पनि वडामा नेतृत्व गर्न सक्छन् भन्ने सन्देश दिन खोजेकी छु उहाँले भन्नुभयो ‘आशा र विश्वास छ नागलिबाङवासीले मलाई विजयी गराउने छन् ।’ विजयी भएपछि नागलिबाङलाई नमुना गाउँ बनाउने मसँग योजना र भिजन छ उहाँले भन्नुभयो ।
नागलिङमा एमालेले घरदैलो र चुनावी सभालाई तिव्रता दिएको छ । कुशल र सक्षम महिला नेतृलाई वडामा जिताउन पार्टीले मतदाताहरु सँग अनुरोध गर्दै अभियान सञ्चालन गरिएको नेकपा एमाले जलजला गाउँपालिका कमिटिका सचिव महेन्द्र रेग्मीले बताउनुभयो । वडा नम्बर ८ मा २३४१ मतदाता रहेका छन् । काँग्रेस माओवादीको गठबन्धनबाट काँग्रेसका हरिविकास जिसी वडा अध्यक्षको उम्मेदवार हुनुहुन्छ ।
गठबन्धन भएपनि प्रतिस्पर्धा कडा हुने आकलन गरिएको छ । गठबन्धनले जलजलामा महिलालाई अवसर नदिएको भन्दै महिलाहरुले असन्तुष्टि व्यक्त गरेका छन् । पालिका अध्यक्ष र उपाध्यक्ष दुबै पदमा गठबन्धनले पुरुष उम्मेदवार उठाएका छन् ।