घरदैलोमा उम्मेदवार पुगेपछि मतदाता उत्साहित

विकल्प न्यूज/बेनी
बैशाख २१ गते ।


बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन नजिकिदै जाँदा म्याग्दीका दलहरु चुनावी अभियान लिएर मतदाताका घरघरमा पुग्न थालेका छन् । उम्मेदवार सहित चुनावी अभियान टोल,वस्ती र घरघरमा पुगेपछि गाउँमा चुनावको माहोल तातेको छ । मतदाताका घरघरमा पुगेका उम्मेदवारहरुले आफ्नो कार्यकाल भित्र गर्न सकिने विकासका अल्पकालिन र दिर्घकालिन योजनाहरु सुनाउँदै मत माग्न सुरु गरेका छन् । गाउँघरका घरहरुमा विभिन्न पार्टीका राता झण्डाहरु फरफहराएका छन् । जसले गर्दा गाउँघरमा चुनावी माहोल छाएको छ ।

म्याग्दीका ६ वटै स्थानीय तहका उम्मेदवारहरु यतिखेर मतदातालाई फकाउन घरघरमा पुग्न थालेका छन् । स्थानीय तहको विकास र समृद्धिको मुख्या नारा लिएर दलका उम्मेदवारहरुले मतदातालाई फकाउन घरघरमा पुग्न थालेका हुन । उम्मेदवारहरुले सामुहिक र व्यक्तिगत रुपमा मतदातासँग भेटघाटलाई तिव्रता दिएका छन् ।

जिल्लामा क्रियाशिल नेकपा एमाले,नेपाली काँग्रेस र नेकपा माओवादी लगायत साना दलहरुले चुनावी घोषणा पत्र लिएर मतदाताका घरघरमा पुग्न थालेपछि गाउँमा राजनैतिक जागरण छाएको छ । दलका विभिन्न चुनावी गीत तथा संगितले वस्तीहरु गुञ्जीन थालेका छन् । उम्मेदवारहरु घरघरमा आउन थालेपछि मतदाताहरु पनि उत्साहित देखिन्छन् ।

नेकपा एमालेले जिल्लाका सवै स्थानीय तहमा चुनावी अभियान सञ्चालन गरेको प्रचार विभागका प्रमुख राजकुमार थापाले बताउनुभयो । अभियानका क्रममा घरदैलो र चुनावी सभाका कार्यक्रम भएको उहाँले बताउनुभयो । जिल्लाका ६ वटै स्थानीय तहमा उम्मेदवार खडा गरेको नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ ।

यस्तै नेपाली काँग्रेसले दिउसोमा गाउँघरमा साना साना कोणसभा र विहानमा मतदाताका घरघरमा पुगेर भेटघाट गरेको छ । उम्मेदवारहरुलाई मतदाताका घरघरमा पु¥याएर परिचय गर्ने र मत माग्ने कार्यक्रम सञ्चालन भएको नेपाली काँग्रेस म्याग्दीका सचिव भरत रकालले बताउनुभयो । नगर तथा पालिकाका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार र वडाध्यक्षका उम्मेदवार सहित जिल्लाभर एकसाथ चुनावी अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

जिल्लाको ३ स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवार उठाएको माओवादीले चुनावी अभियान लिएर गाउँ पसेको छ । सत्ता साझेदार दलभित्र चुनावी तालमेल गर्ने भनेपनि अन्तिम समयमा सिटको भावन्डा नमिलेपछि माओवादी तिन स्थानीय तहमा एकल उम्मेदवारी दिएको छ । धौलागिरि गाउँपालिकामा भने पालिका स्तरमा काँग्रेस र माओवादीले वडा तह सम्मै भागवन्डा गरेर तालमेल गरेका छन् । अध्यक्षमा नेपाली काँग्रेसका प्रेम पुन र उपाध्यक्षमा माओवादीका रमेश पुन उम्मेदवार हुनुहुन्छ ।

यस्तै बेनी नगरपालिकामा पनि अन्तिम अवस्थामा आएर काँग्रेस र माओवादीकाबीच चुनावी तालमेल भएको छ । काँग्रेसले उपमेयरको उम्मेदवारी फिर्ता गरेको छ भने माओवादीले मेयरको उम्मेदवारी फिर्ता गरेर तालमेल गरेका छन् । चुनावी तालमेल गरेसँगै काँग्रेस र माओवादीले संयुक्त रुपमा चुनावी कार्यक्रम लिएर नगरका वस्तीमा पुगेका छन् ।

मतदाताका घरघरमा पुग्दा उम्मेदवारहरुले जनताका साना साना समस्याहरुलाई उठान गरेका छन् । टोलवस्तीका समस्याहरुलाई उम्मेदवारहरुले प्राथमिकतामा राखेको मंगला गाउँपालिका ५ अर्मनका स्थानीय युवा कुलबहादुर फगामीले बताउनुभयो । स्थानीय सरकारको पहिलो कार्यकालमा गाउँमा सडक,खानेपानी,शिक्षा,स्वास्थ्य र कृषिका क्षेत्रको विकासमा जग बसेको उहाँले बताउनुभयो ।

अव निर्वाचित भएर आउने जनप्रतिनिधिले गामिण सडक कालोपत्रे,सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि,कृषि पेशातर्फ युवालाई आकर्षित गर्ने लगायतका गाउँमै रोजगारी सिर्जना हुनेखालका कार्यक्रमहरु ल्याउनुपर्ने उहाँको सुझाव छ । स्थानीय तहमा हुने अनियमितता र भ्रष्टाचारको अन्त्यका लागि उम्मेदवारहरुले प्रतिवद्धता व्यक्त गर्नुपर्ने अर्मनका ९० वर्षीय पूर्व जिल्ला पञ्चायतका सभापति रामबहादुर बुढाथोकीले बताउनुभयो ।

भ्रष्टाचार र अनियमितता गर्नेलाई कडा कारबाही गर्ने प्रतिवद्धता खुला रुपमा उम्मेदवारहरुले गर्नुपर्ने उहाँको भनाई छ । सुशासनयुक्त,जनमुखी र जनताप्रति उत्तरदायिक स्थानीय सरकार दलहरुको एजेण्डा हुनुपर्ने उहाँले बताउनुभयो ।

‘पाँचवर्षे कार्यकालमा गाउँगाउँमा सडक पुगेको छ, शिक्षाका भवनहरु बनेका छन्,किसानले प्रविधि र तालिम पाएका छन् ,अव सडक स्तरोन्नती सहित कालोपत्रे,शैक्षिक गुणस्तर र व्यवसायिक कृषि उत्पादनमा जोड दिनुपर्दछ । ’ उहाँले भन्नुभयो ।