एमाले जलजलाले ग¥यो प्रतिवद्धता सार्वजनिक

विकल्प न्यूज/जलजला
बैशाख ९ गते ।

नेकपा एमाले जलजला गाउँपालिका पर्वतले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चुनावी प्रतिवद्धता–पत्र सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७४ औं दिवसको अवसर पारेर शुक्रबार नेकपा एमाले जलजला पालिका कमिटीले तयार पारेको प्रतिवद्धता–पत्र सार्वजनिक गरेको हो ।

जलजलाको विकास र समृद्धिको योजना समेटीएको प्रतिवद्धता –पत्र पार्टीका गण्डकी प्रदेश सदस्य नरबहादुर कार्की र पालिका कमिटीका अध्यक्ष लालबहादुर अधिकारीले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको छ ।

आगमी पाँचवर्ष भित्र गाउँपालिका केन्द्र देखि प्रत्येक वडा कार्यालय सम्म सडक कालोपत्रे, पालिकाका सवै वस्तीलाई रिङरोडमा जोड्ने,कृषि र पर्यटनको विकास गरी जिवनस्तर उकास्ने लगायतका योजनाहरु समावेश गरेर प्रतिवद्धता पत्र सार्वजनिक गरिएको पालिका अध्यक्ष अधिकारीले बताउनुभयो ।

‘हामीले जलजलाको स्पष्ट विकासको खाका प्रस्तुत गरेका छौ, अध्यक्ष अधिकारीले भन्नुभयो, ‘जलजलाको नेतृत्व गर्ने अवसर पाए नमुना पालिका बनाएर देखाउने छौं ।’ पाँचवर्ष भित्र जलजलाका मुख्य सडकहरु कालोपत्रे गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

सवै वस्तीलाई सडक सञ्जाल सँग जोड्ने, वस्ती भित्रका छोटोदुरीका सडकहरु फराकिलो बनाउनुका साथै ग्राभेल/ढलान गर्ने, पालिका देखि वडा कार्यालय सम्म पुग्ने सडकहरु संघ तथा प्रदेश सकारको बजेटबाट कालोपत्रे गरिने प्रतिवद्धता व्यक्त गरिएको छ ।

कृषि पेशालाई व्यवसायिक बनाउन एक घर एक टनेल र मिनिटेलर हलोको व्यवस्था, पालिका भित्र एक कृषि बजार, कोल्डस्टोरको निर्माण, कृषि कर्जामा अनुदान लगायतका योजनाहरु समावेश गरिएको छ । पालिका भित्रका सवै सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधारयुक्त, हरित स्कुल, कक्षा १२ सम्म निशुल्क शिक्षा, एक शिक्षक एक ल्यापटप लगायतका शिक्षा क्षेत्रलाई सुधार गर्ने प्रतिवद्धता जनाइएको छ ।

एमालेको नेतृत्वको संघ र प्रदेश सरकारका पालामा जलजलामा भित्रीएका विकास योजनाहरुलाई उपलब्धिका रुपमा प्रतिवद्धतामा समावेश गरिएको छ । शिक्षा,स्वास्थ्य,कृषि र भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेर गाउँमै रोजगारी सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

प्रत्येक वडामा व्यवस्थित र नमुना वस्ती विकास गर्ने,एक घर एक धारा योजनालाई पूर्णता दिएर पालिकावासीलाई सफा र स्वच्छ खानेपानीको सुविधा पु¥याउने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

गाउँपालिकामा एक प्राविधिक शिक्षालय स्थापना गर्ने,प्रत्येक वडामा नुमना विद्यालय स्थापना गर्ने,गरिब तथा विपन्न परिवारका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने, सामुदायिक तथा सरकारी विद्यालयलाई भौतिक पूर्वाधारयुक्त बनाइने प्रतिवद्धता व्यक्त गरिएको छ ।

पर्यटन विकास तथा सांस्कृतिक संरक्षणको योजना सावेश गरेको छ । ज्येष्ठ नागरिकलाई घरघर सम्म औषधोउपचारको व्यवस्था, सवै नागरिकलाई स्वास्थ्य बिमाको व्यवस्था,पालिका भित्र २४ सै घण्टा एम्बुलेन्सको व्यवस्था गरिने प्रतिवद्धता व्यक्त गरिएको छ । जलजलामा एमाले नेतृत्वको स्थानीय सरकारले जनअपेक्षा अनुसार काम गरेर समृद्ध र विकासित जलजला बनाउने संकल्प गर्ने अध्यक्ष अधिकारीले बताउनुभयो ।