म्याग्दीमा काँग्रेसले २८ वडामा अध्यक्षका उम्मेदवार टुंगो लगायो

विकल्प न्यूज/बेनी
वैशाख ७ गते ।


स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीले २८ वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरु सर्वसम्मत रुपमा चयन गरेको छ । मनोनयन दर्ताको मिति नजिकदैं जाँदा कांग्रेसले जिल्लाभरबाट सर्वसम्मत उम्मेदवार चयन सहित प्रचारप्रसारलाई तिब्रता दिएको जनाएको छ ।

जिल्लाको कुल ४५ वटा वडाहरुमध्ये बेनी नगरपालिका वडा नं १, ५, ७, मंगला गाउँपालिका वडा नं ३, रघुगंगा गाउँपालिका वडा नं २,३,४,६,७, अन्नपूर्ण गाउँपालिका वडा नं ७ बाहेक सबै वडामा वडा अध्यक्षका लागि उम्मेदवाहरु चयन गरिसकेको नेपाली कांग्रेस म्याग्दीका सचिव हिरा पुनले बताउनुभयो ।

वडाध्यक्षको उम्मेदवार टुङ्ग्याएको वडाहरूमा चुनावी रणनीति सहित आवश्यक तयारी थाल्न समेत निर्देशन दिइएको छ । यता पाँच दलिय गठबन्धनको तालमेलले समेत खासै प्रगति लिएको छैन् । गठबन्धन भित्रका दलहरुले एउटै स्थानीय तहमा माग गरेकाले समस्या भइरहेको छ ।