म्याग्दीमा गठबन्धन संकटमा ः अशन्तुष्टी सामाजिक सञ्जालमा पोखिन थाल्यो

विकल्प न्यूज/बेनी
वैशाख ४ गते ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेका सत्ता साझेदार दलहरुकाबीचको विवाद समाजिक सञ्जालमा पोखिन थालेको छ । पटक पटक वैठक बस्दा पनि सहमति नभएपछि नेताहरुले सामाजिक सञ्जालमा आफ्ना अशन्तुष्टी पोख्न थालेका हुन ।

सत्ता गठबन्धनमा आवद्ध मुख्य दल नेपाली काँग्रेस,माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच स्थानीय तह भागबण्डामा कुरा नमिलेपछि नेताहरुले सामाजिक सञ्जाल मार्फत आफ्ना कुराहरु राख्न थालेका छन् । पटक पटक वैठक बसेपनि उनीहरु निष्कर्षमा पुग्नसकेका छैनन् । वैठक निष्कविहिन भएपछि दलहरुले चुनावको आ–आफ्नो तयारी थालेका छन् । भने समाजिक सञ्जालमा अभिव्यक्ति सार्वजनिक गरेर काँग्रेसलाई दबाव सिर्जना गर्न खोजेको देखिन्छ ।

सम्मानजनक तालमेलका पक्षमा काँग्रेस उदारता नदेखाएपछि माओवादी र नेकपा एकिकृत समाजवादीले उसलाई दबाव बढाउन सामाजिक सञ्जालको साहयता लिएको हुनसक्ने देखिन्छ । माओवादीका जिल्ला संयोजक रेशम जुग्जालीले एमाले हराएर काँग्रेसलाई ठूलो बनाउन माओवादी सहयोगी नहुने चेतावनी दिनुभएको छ ।

शुक्रबार बेनीमा बसेको गठबन्धनको वैठकमा भागबण्डा नमिलेपछि माओवादी केन्द्रका जिल्ला संयोजक जुग्जाली (सुविन) ले समाजिक सञ्जालमा माओवादीले नेकपा एमालेलाई हराएर काँग्रेसलाई ठूलो पार्टी बनाउने ठेक्का लिन जरुरी नभएको भनाई सार्वजनिक गर्नुभएको छ । उहाँले फेसबुकमा लैख्नुभएको छ ‘‘माओबादीले एमालेलाई हराएर कांग्रेशलाई ठुलो पार्टी बनाउने ठेक्का लिन जरुरी छैन समयले पर्खदैन आफ्नो पुरा शक्तिकासाथ हरेक चुनौतीको सामना गरौं जो चुनौतीसंग खेल्न रमाउँछ त्यसैको साथमा हुनेछ हरेक अबसर !’’

त्यस्तै नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले पनि नेपाली काँग्रेसका सभापति खम्बीर गर्बुजा र माओवादीका संयोजक जुग्जालीलाई फेसबुकमा ट्याग गर्दै यस्तो लेख्नुभएको छ । विश्वकर्माले गठबन्धन भनेको मिल्ने हो निल्ने होइन, कसैले दिने कसैले लिने पनि होइन भन्दै सामाजिक सञ्जालमा स्टाट्स लेख्नुभएको छ । विश्वकर्मा र जुग्जालीका यी दुई स्टाटसले सत्ता गठबन्धन संकटतर्फ अघि बढेको सहजै अनुमान गर्न सकिन्छ ।
विश्वकर्माले यस्तो लेख्नुभएको छ ।

सहयात्री हुनुको नाताले…

‘‘गठवन्धन समयले वनाईदिएको वाध्यताको उपज हो। हामीले अंगालेको व्यवस्थामा कसैले एक्लै सवथोक हासिल गर्न सकिदैन। गठवन्धन भनेको मिल्ने हो निल्ने होईन।कसैले दिने कसैले लिने पनि होईन।एक अर्काको हात समातेर जंघार तर्ने हो। भिडेर गुमाउने मुर्खता हो मिलेर जोगाउने कुशलता हो। नेतृत्वले सुझवुझका साथ कुशलता प्रदर्शन गरौं। सवै जिम्मेवार वनौं,समय छदै वसौं,वेग रोकिदैन,सहि निकास खोजौं,दम्भ त्यागौं। हामीले आँखै अगाडी दम्भ र अहंकारको मुल्य देश,जनता र व्यवस्थाले चुकाएको देखिआएका छौं।नभए आफ्नै गोरेटो छदैछ हिड्नलाई।’’

गठबन्धनमा आवद्ध जिल्लाका दलहरु काँग्रेस,माओवादी,एकिकृत समाजवादी,संघिय समाजवादी र राष्ट्रिय जनमोर्चा आवद्ध छन् । नेपाली काँग्रेसले मालिका गाउँपालिका माओवादीलाई छाड्न नमानेपछि गठबन्धनमा संकट पैदा भएको एक नेताले बताउनुभयो । काँग्रेसले जितेको पालिका माओवादीलाई कुनै पनि हालतमा छाड्न नसकिने अडान काँग्रेसले लिएको छ ।

माओवादीका जिल्ला संयोजक नै उम्मेदवारका रुपमा अगाडि बढेकाले आफ्नो दलले जसरी पनि मालिका पाउनुपर्ने अडानमा माओवादी छ । काँग्रेसले भने माओवादीलाई मंगला र धबलागिरि गाउँपालिका दिन तयार भएको छ । यस्तै नेकपा एकिकृत समाजवादीले पनि जिल्लामा एक स्थानीयको प्रमुख माग गरेको छ ।

आपसी भागबण्डा नमिल्दा म्याग्दीमा सत्तगठबन्न संकट तर्फ धकेलिएको एक नेताले बताउनुभयो । गठबन्धन संकटमा परेसँगै माओवादीले पनि आफ्नो पार्टीका तर्फबाट उम्मेदवार छनौंट गर्न थालेको छ । माओवादीका जिल्ला संयोजक जुग्जाली चुनावी अभियान लिएर मालिकाको गाउँगाउँमा पुग्नु्भएको छ ।