विकल्प न्यूज\बेनी
चैत २९ गते ।
आसन्न स्थानीय तह निर्वाचन आउन एकमहिना वाँकी छ । प्रमुख प्रतिपक्ष दल एमालेले स्थानीय तहमा धमाधम उम्मेदवार टुंगो लगाउन थालेको छ । वडातहसम्मै गठबन्धन गरेर जाने निर्णय गरेका सत्तासाझेदार दलहरु भने अलमलमा परेका छन् ।
निर्वाचनमा साझा उम्मेदवार उठाउने सैद्धान्तिक निर्णय गरेका गठबन्धनमा आवद्ध दलहरुले साझा उम्मेदवार चयन गर्न असफल भएका छन् । दलीय भागवण्डामा सहमति नभएपछि दलका नेताहरु अलमलमा परेका हुन । वडा तहमा उम्मेदवार चयन भएपनि प्रचारप्रसारमा जुटेका छैनन् ।
पालिका स्तरका नेताहरु जिल्लाको सहमति पर्खेर बसेका छन् । जिल्लास्तरमा दुईपटक गठबन्धनको वैठक बसेपनि चुनावी तालमेलको मोडालिटी तयार भएको छैन । केही वडामा आ–आफ्नो तरिकाले उम्मेदवार चयन गरेका काँग्रेस र माओवादीका उम्मेदवार प्रचारप्रसारमा जान अल्छी गरेका छन् । गठबन्धन हुँदा कुन वडा कसको भागमा पर्ने अन्यौलता कारण उनीहरुमा निराशा छाएको छ ।
गठबन्धनको कुनै निधो छैन,अहिले प्रचारप्रसारमा गएर के गर्ने उम्मेद्वार सिफारिस हुनुभएका एकजना वडाध्यक्षका उम्मेदवारले नाम नलेख्ने सर्तमा भन्नुभयो ‘गठबन्धनको भागबण्डा मिलेको छैन,उम्मेदवारी फिर्ता पनि लिनुपर्ने हुन्छ प्रचारप्रसारमा जाने जागर छैन निराश हुँदै भन्नुभयो ।’ जिल्लामा माओवादी केन्द्रले दुई स्थानीय तहमा प्रमुख मागेको छ । भने वडा तहमा पनि सम्मानजनक रुपमा भागबण्डा गर्नुपर्ने अडान लिएको छ । यता नेकपा एकिकृत समाजवादीले पनि जिल्लाको एक स्थानीय तहमा प्रमुख पाउनुपर्ने वैठकमा दावी पेश गरेको स्रोतले बताएको छ ।
आ–आफ्ना पार्टीले तयार पारेको प्रतिवेदन दोस्रो वैठकमा बुझाएका उनीहरुले भागबण्डा कसरी गर्ने भन्ने अन्यौलमा छन् । तालमेलको मोडालिटी केन्द्रले पठाएपछि गठबन्धनमा आवद्ध दलहरु बसेर उम्मेदवार चयन गरिने नेपाली काँग्रेसका जिल्ला उपसभापति केबी भण्डारीले बताउनुभयो ।
हामीले केन्द्रको निर्देशन पर्खेका छौं उहाँले भन्नुभयो केन्द्रले गठबन्धनलाई बाध्यकारी बनाउँछ वा आवश्यकता अनुसार गर्ने निर्देशन दिन्छ त्यही अनुसार जिल्लामा अघि बढ्छौं ।’
काँग्रेसले ३० वटा वडामा उम्मेदवार चयन गरेपनि गठबन्धनका कारण सार्वजनिक नगरिएको उहाँको भनाई छ । पार्टीका स्थानीय समितीहरुले नगर तथा पालिका प्रमुख र उपप्रमुख पदमा आकांक्षीहरुको नाम जिल्लालाई सिफारिस गरेको उहाँले बताउनुभयो ।
मंगलबार बेलुकासम्म कुन मोडालिटीमा तालमेल गर्ने भन्ने बारेमा खाका केन्द्रबाट आउने भएकाले त्यही अनुसार पार्टी अगाडि बढ्ने उहाँको भनाई छ । यता माओवादी केन्द्रले पनि करिब १५ वटामा उम्मेदवार चयन गरिसकेको छ । भने नगर तथा पालिकामा गठबन्धनको निर्णय पर्खेर बसेको छ ।
गठबन्धनको मर्म र भावना अनुसार भागबण्डा नभए आफू एक्लै निर्वाचनमा जान तयार रहेको माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीले बताउनुभयो । नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले जिल्लामा सम्मानजनक रुपमा तालमेल हुनेकुरामा विश्वास व्यक्त गर्नुभयो ।