विकल्प न्यूज/बेनी
चैत २० गते ।
आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेर जाने विषयमा सत्ता गठबन्धनमा आवद्ध दलहरु छलफलमा जुटेका छन् । जिल्लामा रहेका सत्ता गठबन्धन दलहरु नेपाली काँग्रेस,माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका जिल्ला स्तरका नेताहरु शुक्रबार पहिलो चरणको छलफल गरेको स्रोतले बताएको छ ।
केन्द्रय तहमा सत्तारुढ गठबन्धनको कुराकानी भइरहँदा जिल्लामा पनि गठबन्धनका लागि दलहरू जुटन थालेका छन् । स्थानीय तहमा पनि चुनावी गठबन्धन र तालमेलबारे छलफल गर्नका लागि वैठक बसेको नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले जानकारी दिनुभयो ।
सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरु बीच पहिलो चरणको छलफल गरेका छौं नेकपा एकिकृत समाजवादीका अध्यक्ष विकले भन्नुभयो ‘छलफल सकरात्मक भयो, अर्को वैठकमा आ–आफ्नो दलको शक्ति आकलन गरेर डाटा सहित उपस्थित हुने निर्णय गरेका छौं ।’
जिल्लामा वडा तह सम्मै गठबन्धन गरेर जाने विषयमा छलफल सकरात्मक भएको उहाँले बताउनुभयो । हामी सत्ता गठबन्धनमा आवद्ध दलहरु जिल्लामा तालमेल गरेर जान्छौं उहाँले भन्नुभयो ‘चुनावी तालमेलको कुनै विकल्प छैन,सत्ता गठबन्धनमा आवद्ध दलहरुको केन्द्रिय नीति नै तालमेल गरेर जाने हो यहाँ पनि गर्दछौं ।’
यता वैठकमा माओवादी केन्द्रले वैठकमा पचास प्रतिशत भाग माग गरेपछि वैठकमा सहभागि भएका काँग्रेसका नेताहरु आक्रोसित बनेको वैठकमा सहभागि एक नेताले बताउनुभयो । ६ वटा स्थानीय तह मध्य ३ वटामा प्रमुख पद र वडा स्तरमा पनि पचास प्रतिशत वडा माग गरेको उहाँले बताउनुभयो । वैठकमा काँग्रेस र माओवादीले आ–आफ्नै अडान राखेको स्रोतले बतायो ।
२१ हजार मत भएको काँग्रेससँग ६ हजार मत पनि नभएको माओवादीले स्थानीय तहको निर्वाचनमा ५० प्रतिशत माग्न मिल्छ ? ति नेताले भन्नुभयो ‘आफ्नो दलिय हैसित भन्दा धेरै माग काँग्रेसले पुरा गर्ने पक्षमा छैन ।’ माओवादीले यही अडान लिए काँग्रेस गठबन्धन गरेर जाने पक्षमा नभएको उहाँले बताउनुभयो ।
बैठकमा काँग्रेसबाट उपसभापति केबि भण्डारी,माओवादीबाट जिल्ला इन्चार्ज गोविन्द पौडेल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष विक लगायतका नेताहरुको उपस्थिति रहेको स्रोतले बतायो । वैठकमा भएका कुराकानीका वारेमा काँग्रेसले आधिकारिक रुपमा केही वाहिर ल्याएको छैन ।
माओवादी र समाजवादी सत्ता गठबन्धनलाई जिल्लामा पनि कायम राखेर निर्वाचनमा जान चाहेका छन् भने काँग्रेस एक्लै जान खोजेको छ । अघिल्लो पटकको निर्वाचनमा काँग्रेसले चारवटा स्थानीय तहमा जित हासिल गरेको थियो । कम्युष्टिहरु विभाजित बनेको र काँग्रेस पनि बलियो हुँदै गएकाले जिल्लामा गठबन्धन नगरी निर्वाचनमा जानुपर्ने अधिकांश काँग्रेस नेता तथा कार्यकर्ताको मत रहेको छ ।