माओवादी म्याग्दीले टुंगो लगायो ११ वडामा उम्मेदवार

विकल्प न्यूज\बेनी
चैत १६ गते ।


आगमी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्र म्याग्दीले जिल्लाका ४५ वडा मध्य ११ वडामा अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । निर्वाचन लक्षित कार्यक्रम लिएर वडा तहमा पुगेको माओवादीले सहमतिमा वडाध्यक्षको उम्मेदवार टुंगो लगाएको जिल्ला संयोजक रेशम जुग्जालीले बताउनुभयो । ११ वडामा टुंगो लगाएको भएता पनि जिल्ला संयोजक जुग्जालीले ६ वटा वडाको मात्र नाम सार्वजनिक गरेको बताउनुभयो ।

जुग्जालीले दिएको जानकारी अनुसार बेनी नगरपालिका–३ भकिम्लीमा हालका वडा अध्यक्ष पदम पुन र अन्नपूर्ण गाउँपालिका–२ का वडा अध्यक्ष ओमप्रसाद फगामीलाई पुन अध्यक्षमा उठाउने निर्णय गरेको छ । यस्तै मालिका–१ निस्कोटमा तिलक पुन, वडा नं ४ ओखरबोटमा रेशम पुन, धवलागिरी गाउँपालिका–६ मराङमा चक्र पुन र रघुगंगा गाउँपालिका–२ भगवतीमा नरबहादुर भण्डारीलाई उम्मेदवार बनाउने सर्वसम्मत रुपमा टुंगो लगाएको जिल्ला संयोजक जुग्जालीले जानकारी दिनुभयो । अन्य ५ वटा वडामा पनि करिब करिब सहमति जुटेको छ उहाँले भन्नुभयो ‘विपक्षी दलहरुलाई हेरेर नाम सार्वजनिक गर्दछौं ।’

चैत २७ गते भित्र पालिका सहित सबै वडामा उम्मेदवार टुंगो लगाउने तयारी गरिएको जुग्जालीले बताउनुभयो । वडा अध्यक्षका उम्मेदवारलाई सदस्य पदका उम्मेदवारहरु टुंगो लगाउन निर्देशन दिएको उहाँले बताउनुभयो । यसैगरी बेनी नगरपालिको मेयरमा नगर अध्यक्ष शेरबहादुर केसी,प्रदेश सदस्य ज्योती लामिछाने र युवा नगेन्द्र केसीको दावी रहेको छ । रघुगंगामा हरि भण्डारी र वडा नम्बर २ का वडा अध्यक्ष रीम कटुवालको दावी रहेको बुझिएको छ ।

यता मालिकामा भने जिल्ला संयोजक जुग्जाली नै उम्मेदवार बन्ने पक्कापक्की भएको माओवादी स्रोतले बतायो । जुग्जालीले मालिकामा चुनावी अभियान थालिसक्नुभएको छ । पार्टीले निर्णय त गरेको छैन जुग्जालीले भन्नुभयो ‘साथीहरुले अध्यक्ष पदमा उम्मेदवार दिन अनुरोध गर्नुभएको छ ।’ मालिकामा जुग्जालीले उम्मेदवार दिएमा त्रिपक्षिय रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

काँग्रेसबाट हालका अध्यक्ष श्रीप्रसाद रोकाले नै दोहोराउने चर्चा छ । भने नेकपा एमालेबाट हालका उपाध्यक्ष खरमाया विटालुको पनि चर्चा छ । एमाले र काँग्रेसको संगठन भन्दा माओवादी कमजोर भएपनि जुग्जाली उम्मेदवार हुँदा व्यक्तिगत प्रभावका कारण कडा प्रतिस्पर्धा हुने स्थानीयहरु बताउँछन् । जुग्जाली युवा माझ लोकप्रिय भएकाले पार्टीगत भन्दा पनि व्यक्तिगत मत पाउनसक्ने आकलन गरिएको छ ।

जिल्लाभरी पार्टीको लोकप्रियता फर्किएकाले ४५ वटै वडा र छ वटै स्थानीय तहमा उम्मेदवार खडा गरेर चुनावमा जाने निर्णय भएपछि माओवादीले धमाधम उम्मेदवार छनौटमा लागेको छ। विप्लव नेकपाले समेत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिए वा सहयोग गरेमा कारवाही नगरिने निर्णयले माओवादीका उम्मेदवारलाई राहत मिलेको छ ।

अघिल्लो स्थानीय तह चुनावमा माओवादी केन्द्रका उम्मेदवार ५ वटा वडामा निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवार वनेर चुनाव जितेका मालिका–७ विमका वडा अध्यक्ष जुग्जाली र बेनी नगरपालिका ३ का अध्यक्ष पुन माओवादी केन्द्रमा फर्किएका थिए । यस्तै नेकपा एमाले र काँग्रेस पनि उम्मेदवारी छनौंटमा जुटेका छन् ।