चुनावी अभियान लिएर काँग्रेस गाउँगाउँमा

विकल्प न्यूज/बेनी
चैत १५ गते ।


नेपाली काँग्रेस म्याग्दीले आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम गाउँगाउँमा लगेको छ । ‘घरघर जाऔं काँग्रेस जिताऔं’ अभियान लिएर गाउँ पसेका जिल्लास्तरका नेताहरुले निर्वाचन लक्षित कार्यकता भेटघाट,छलफल,वैठक तथा प्रशिक्षण सञ्चालन गरेका छन् ।

अभियान लिएर नेताहरु गाउँ पुगेपछि कार्यकर्ताहरु उत्साहित बनेका छन् । निर्वाचनमा उम्मेदवारको आकांक्षी देखिएका पालिका र वडास्तरका नेताहरु अभियानमा सक्रिय रुपमा जुटेका छन् ।

अभियानका क्रममा कार्यकर्ता परिचालन,वर्तमान सरकारले गरेका राम्रा कामको प्रचारप्रसार तथा विपक्षी दलहरुले छरेको भ्रमलाई चिर्ने काम गरेको मालिकामा अभियान लिएर जानुभएका जिल्ला सचिव भरत रकालले बताउनुभयो । जिल्लाका सवै पालिकामा कार्यविभाजन गरेर अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । जिल्लाभर एकसाथ अभियान सञ्चालन गरेका छौं सचिव रकालले भन्नुभयो ‘अभियानले कार्यकर्तामा उत्साह र उर्जा पैदा गरेको छ ।’

उहाँले दिएको जानकारी अनुसार धबलागिरिमा सहसचिव श्रीराम पौडेल,मंगलामा पूर्व सहसभापति नेत्रबहादुर महत,अन्नपूर्णमा जिल्ला कोषाध्यक्ष अमृतमान शेरचन, बेनी नगरपालिकामा उपसभापति तथा नगर प्रमुख हरिकुमार श्रेष्ठ र रघुगंगामा उपसभापति केबि भण्डारीले अभियानको नेतृत्व गर्नुभएको छ ।

फागुन २९ गतेबाट सुरु भएको अभियान चैतको तेस्रो हप्तासम्म सञ्चालन गरिने सचिव रकालले जानकारी दिनुभयो । नेताहरु अभियान लिएर वडातहमा पुगेको सचिव रकालले भन्नुभयो ।

पहिलो चरणको राष्ट्रिय अभियान लिएर गाउँगाउँ पुगेका छौं सचिव रकालले भन्नुभयो ‘चैतको अन्तिम हप्ताबाट जिल्लामा निर्वाचन लक्षित दोस्रो चरणको कार्यक्रम थाल्छौं ।’ अभियानले काँग्रेस कार्यकर्तामा आशा,उत्साह र जागरण पैदा गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

अभियानका क्रममा टोल– टोल सम्म काँग्रेसका नेता तथा कार्यकर्ताहरु जनता समक्ष पुगेका छन । स्थानीय तहको निर्वाचन लक्षित अभियान भएकाले घरघरमा पुगरे जनताको समस्या बुझ्ने काम भएको काँग्रेसले जनाएको छ । आगमी निर्वाचनमा वडा देखि पालिकासम्म काँग्रेसलाई जिताउन जनतामा अनुरोध गरिएको सचिव रकालले बताउनुभयो ।

जनताको घरदैलोमा गएर जनताका समस्या संकलन गरेर आगामी निर्वाचनमा योजना सहित आउने उद्देश्यले अभियान संचालन गरेको काँग्रेसले जनाएको छ । यसैगरी नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणको कार्यक्रम सकेर दोस्रो चरणको निर्वाचन लक्षित कार्यक्रम बनाउन जुटेका छन् ।