बेनीको मेयरको दाबेदारमा एमालेका टप ५ नेताहरु

विकल्प न्यूज\बेनी
चैत १४ गते ।


आसन्न वैशाख ३० गते हुने स्थानीयतह निर्वाचनमा राजनीतिक दलभित्र उम्मेदवारको चर्चा परिचर्चा हुनथालेको छ । उम्मेदवारको टिकट हात पार्न आकांक्षीहरुले प्रदेश र केन्द्रका नेताहरु सँग आ–आफ्नो लबिङ थालेका छन् । नेकपा एमालेबाट ५ जना नेताहरु मेयरका लागि आकांक्षी देखिएका छन् ।

अघिल्लो निर्वाचनमा झिनो मतान्तरका बीच पराजित बनेको एमाले यसपाली भने बेनी नगरपालिकाको मेयर जित्ने गरी पार्टीले तयारी थालेको छ । उम्मेदवार टुंगो लगाउन ढिला गर्नु र पार्टी भित्रको आन्तरिक सन्तुलन मिलाउन नसक्नु पार्टी पराजित भएको ठहर एमालेले गरेको थियो । विगतको कमजोरीलाई सच्याउँदै यसपाली भने चाँढै नै उम्मेदवार तय गर्ने योजनामा एमाले छ ।

यसपालीको निर्वाचनमा एमालेबाट मेयर पदका लागि प्रभावशाली नेताहरु टिकटको दौडमा छन् । गण्डकी प्रदेश सदस्य प्रमोद श्रेष्ठ र सन्तोष रावल,जिल्ला कमिटीका सचिव सुरत केसी,उपसचिव राजकुमार थापा र बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी मेयर पदका लागि आकांक्षी देखिनुभएको छ । नयाँ अनुहारमा जिसी इन्ट्री हुनुभएको छ । नगर कमिटीको अध्यक्षमा निर्वाचित भएसँगै जिसी मेयर पदको उम्मेदवार स्वभाविक दावेदार हुनुहुन्छ ।

उम्मेदवारका विषयमा एमालेले पार्टी भित्र संस्थागत रुपमा छलफल र बहश गरेको छैन । यद्धपी उम्मेदवारका आकांक्षीहरुले आ–आफ्नो तवरले छलफल र लबिङ थालेका छन् । उम्मेदवारका बीच अनौपचारिक छलफल सुरु भएपनि पार्टीले संस्थागत रुपमा छलफल नथालेको जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसीले बताउनुभयो ।

पार्टी संगठनका रुपमा एमाले बेनी नगरमा बलियो छ । अघिल्लो निर्वाचनमा मेयरमा काँग्रेसबाट पराजित हुनुभएका प्रदेश कमिटी सदस्य श्रेष्ठ यसपाली पनि उम्मेदवारको दौडमा हुनुहुन्छ । नगरको उम्मेदवार भएपछि उद्योग वाणिज्य महासंघको उपाध्यक्ष पद गुमाएका श्रेष्ठलाई यसपाली नेकपा एमालेमा बलियो उम्मेदवारका रुपमा लिइएको छ । गत पुसमा सम्पन्न पार्टीको नवौं जिल्ल अधिवेशनमा सचिव पदका दावेदार श्रेष्ठ अन्तिममा दावी छाड्नुभएको थियो ।

पार्टीले उपयुक्त स्थानमा व्यवस्थापन गर्ने नेताहरुको आश्वासन पाएपछि श्रेष्ठले सचिव पदबाट पछि हट्नुभएको बताइन्छ । पार्टीको केन्द्रिय नेताहरु सँग राम्रो सम्बन्ध राख्ने क्षमता श्रेष्ठसँग छ । जिल्लामा पनि सबैसँग सन्तुलित सम्बन्ध राख्ने श्रेष्ठ सामाजिक सेवामा पनि अग्रसर हुनुहुन्छ । बेनी नगरपालिका नहुँदै भाव मेयरका रुपमा श्रेष्ठलाई लिने गरिएको थियो । तर अघिल्लो स्थानीय तहको निर्वाचनमा श्रेष्ठले जित हासिल गर्न सक्नुभएन ।

यस्तै नेकपा एमालेका अर्को प्रभावशाली युवा नेता सन्तोष रावल पनि मेयरको दौडमा हुनुहुन्छ । पार्टीका केन्द्रिय अध्यक्ष केपी शर्मा ओली सँग निकट सम्बन्धमा रहनुभएका रावलको दावेदार पनि बलियो छ । अध्यक्ष ओलीको इच्छामा रावलले टिकट पाउन सक्ने प्रवल संभावना रहेको नेकपा एमालेका जिल्ला स्तरीय एक नेताले बताउनुभयो । रावल युवा संघको केन्द्रिय उपाध्यक्ष समेत हुनुहुन्छ । बेनी नगरपालिका १ रत्नेचौर निवासी रावल अघिल्लो निर्वाचनमा पनि मेयरको दावेदार हुनुहुन्थ्यो । जिल्लामा रावललाई इमान्दार,पार्टीप्रति प्रतिबद्ध र लाभको पदका लागि पार्टी भित्र त्यती बार्गेनिङ नगर्ने नेताका रुपमा लिने गरिएको छ ।

यसैगरी सामाजिक कार्य सँगै पार्टी राजनीतिमा क्रियाशिल पार्टी सचिव सुरत केसीको दावेवार पनि बलियो छ । सामाजिक क्षेत्रमा लोकप्रिय केसीलाई टिकट दिँदा पार्टीले सहजै निर्वाचन जित्ने सक्ने आँकलन पनि एकाथरीको छ । कोरोना महामारी नियन्त्रण तथा उपचार र शव व्यवस्थापनमा खटिनुभएका केसी पछिल्लो समय लोकप्रिय हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको पूर्व अध्यक्ष समेत रहनुभएका केसी अघिल्लो निर्वाचनमा पनि अन्तिम सम्म उहाँको दावी बलियो थियो । नेपाली काँग्रेसको उम्मेदवार सँग कडा टक्कर दिने क्षमता केसी सँग भएको केसी निकट नेताहरुले बताउँछन् ।

पार्टीको उपसचिव तथा युवा नेता राजकुमार थापा पनि मेयरको आकांक्षी हुनुहुन्छ । जनजाति र युवा भएकाले उहाँको दावीलाई पनि बलियो रुपमा हेरिएको छ । प्रखर वक्ता थापा एमाले म्याग्दीको संभावनायुक्त नेताका रुपा लिने गरिन्छ ।
मेयर पदका लागि अर्को चर्चाको नाम हो हालका नगर कमिटीका अध्यक्ष नारायण जिसी । नगर कमिटीको प्रथम अधिवेशनबाट निकै रस्साकस्सीका साथ अध्यक्षमा चयन हुनुभएका जिसी युवा माँझ लोकप्रिय हुनुहुन्छ ।

निर्माण व्यवसायी समेत रहनुभएका जिसी पछिल्लो समय राजनीतिसँगै सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । कोरोना महामारी,बाढीपहिरो लगायतका विपद्का समयमा जिसीले राहत र उद्धारमा सक्रियता देखाउदै आउनुभएको छ ।
माथिल्लो स्तरका चार नेताहरुको एकआपसमा विवाद हुँदा जिसीले टिकट ल्याउन सक्ने आँकलन पनि छ । प्रदेश र केन्द्रस्तरका नेताहरुसँग राम्रो सम्बन्ध कायम गर्ने क्षमता भएका जिसी पनि मेयरका लागि बलियो उम्मेदवार हुनुहुन्छ ।

२०७४ सालको निर्वाचनमा उम्मेदवारको टुंगो चाँढो नलाउँदा पार्टी पराजित भएको र यसपाली चाँढै उम्मेदवारको टुंगो लगाइने अध्यक्ष केसीले बताउनुभयो । सहमति भए चैतको तेस्रो हप्तानै उम्मेदवारको टुंगो लगाउने हो केसीले भन्नुभयो ‘सहमति भएन भने बढीमा तिनजनाको नाम प्रदेश कमिटीमा सिफारिस गरिन्छ । चैत २० अगावै उम्मेदवारको टुंगो लगाएर पार्टी निर्वाचनमा होमिने छ ।’

अहिले अघिल्लो निर्वाचन जस्तो ढिला नहुने अध्यक्ष केसीले बताउनुभयो । सकभर सर्वसम्मत रुपमा जिल्लामा नै उम्मेदवार टुंगो लगाउने पार्टीको तयारी भएको अध्यक्ष केसीले बताउनुभयो ।

उम्मेदवारको निर्णय ढिला हुँदा अघिल्लो निर्वाचनमा पार्टी पराजित भएको हाम्रो विश्लेषण हो अध्यक्ष केसीले भन्नुभयो ‘जिल्लामा सहमति नभए आकांक्षी देखिएका नेताहरु मध्यबाट पार्टीले तिनजनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्दछ ।’