म्याग्दीमा स्थानीय निर्वाचन ः तालमेल कि एक्ला एक्लै ?

विकल्प न्यूज\बेनी
फागुन २ गते ।


आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको माहोल विस्तारै तात्न थालेको छ । जिल्लाका मुख्य दलहरु निर्वाचनको तयारीमा जुट्न थालेका छन् । पाँचवटा गाउँपालिका र एक नगरपालिका सहित जिल्लामा ६ वटा स्थानीय तह छन् । सत्ता गठबन्धनमा सहभागि दुई ठूला दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले जिल्लमा चुनावी तालमेलका विषयमा अहिलेसम्म औपचारिक रुपमा छलफल गरेका छैनन् । दुवै दलका नेताहरु तालमेल गरेर जाने कुरामा अनिच्छुक देखिन्छन् ।
एक्लै निर्वाचनमा जाने मनस्थिति काँग्रेसले बनाएको छ । बामपन्थी दलहरु एकआपसमा विभाजन भएको समयमा एक्लै जाँदा पार्टीलाई फाइदा हुने काँग्रेसले देखेको छ । यता नेकपा एमाले पनि एक्लै चुनावमा जाने देखिएको छ । नेकपा विभाजनले ल्याएको तिक्तापूर्ण सम्बन्धका कारण जिल्लामा अहलेनै माओवादी सँग चुनावी तालमेल हुने संभावना कमै देखिन्छ । अन्य दलभन्दा सांगठानीक रुपमा बलियो देखिएता पनि एमालेले अघिल्लो निर्वाचनमा दुईवटा मात्र स्थानीय तह जितेको थियो । सत्ता गठबन्धनमा सहभागि काँग्रेस र माओवादी गठबन्धन गरेर जाँदा पनि एमाले एक्लैले कडा प्रतिस्पर्धा गर्ने देखिन्छ ।
अघिल्लो निर्वाचनमा धबलागिरि र मंगलामा नेकपा एमालेले अध्यक्ष जितेको थियो भने मालिका,रघुगंगा,अन्नपूर्ण र बेनी नगरपालिकामा नेपाली काँग्रेसले अध्यक्ष जितेका पालिका हुन । माओवादी केन्द्रले ७ वटा वडामा जितेको थियो ।

अघिल्लो निर्वाचनमा जित हासिल गरेका पालिका अर्को दलको हातमा जान नदिन काँग्रेसले कसरत गरेको छ भने एमालेले आफुले जितेका पालिकालाई सुरक्षित गरेर थप पालिका जित्ने योजनामा छ । यता माओवादी केन्द्रले सत्ता गठबन्धनलाई स्थानीय तहको निर्वाचन सम्म लगेर आफू जिल्लामा दोस्रो शक्ति हुने दाउँमा छ । माओवादीले अन्य दलसँग तालमेलमा जाँदा मालिका र अन्नपूर्णमा अध्यक्षको दावी गरेको छ । जिल्लामा सत्ता गठबन्धनको आधिकारिक वैठक अहिलेसम्म बसेको छैन । तर नेताहरुका विच अनौपचारिक छलफल भने भएको छ ।

माओवादी केन्द्रले आफूलाई कुन दलसँग मिल्दा बढी फाइदा हुन्छ त्यही दलसँग गठबन्धन गर्ने जस्तो देखिएको छ । स्थानीयस्तरका कार्यक्रर्ताहरु बामगठबन्धनका पक्षमा देखिएका छन् । मिल्नसक्ने स्थानमा माओवादी,एमाले र नेकपा एकिकृत समाजवादी विच गठबन्धन बनाएर जान सकिने भन्दै केही नेताहरुले स्थानीयस्तरमा छलफल पनि गरेका छन् । अघिल्लो निर्वाचनमा काँग्रेससँग गठबन्धन गर्दा फाइदा नभएको भन्दै केही माओवादीका नेताहरु भने यसपाली एक्लै निर्वाचनमा जानुपर्ने मत पनि राखेका छन् । अघिल्लो निर्वाचनमा बेनी नगरपालिकामा काँग्रेसले इमान्दार भएर उपमेयरलाई मतदान नगरेको माओवादीको बुझाई छ ।

अघिल्लो निर्वाचनमा अन्नपूर्ण गाउँपालिकामा झिनो मतले पराजित भएको एमालेले यसपाली माओवादी सँग चुनावी गठबन्धन गरेर काँग्रेसको सत्ता पल्टाउन चाहन्छ । एमालेका स्थानीयस्तरका नेताहरुले माओवादी सँग गठबन्धन गरेर निर्वाचनमा जान अनौपचारिक रुपमा छलफल गरिरहेको एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसीले बताउनुभयो ।

काँग्रेसले जितेको रघुगंगा गाउँपालिकामा पनि एमाले र माओवादी विच चुनावी तालमेलका विषयमा स्थानीय स्तरमा चर्चा हुनथालेको छ । अघिल्लो निर्वाचनमा पनि तालमेल गरेर निर्वाचन लडेका माओवादी एमाले यसपाली पनि दुई दल विच गठबन्धन गर्न खोजेका छन् । जिल्लामा काँग्रेसको बलियो गाउँपालिकाका रुपमा रहेको रघुगंगामा दुई दल मिल्दा पनि काँग्रेसलाई पल्टाउन कठिन देखिन्छ । उम्मेदवार छनौंटमा विचार पु¥याउदा भने माओवादी र एमाले मिल्दा काँग्रेसलाई यसपाली कठिन पर्ने देखिन्छ । पछिल्लो समय माओवादीको पनि संगठन बलियो भएको छ भने एमालेले आफ्नो संगठन सुदृढ बनाएको छ ।

अघिल्लो निर्वाचनमा एक्लै जितेको धबलागिरि गाउँपालिकामा एमाले यसपाली पनि कसैसँग गठबन्धन नगरी जित्ने दाउँमा छ । जिल्लामा काँग्रेस,माओवादी र नेकपा एकिकृत समाजवादी विच गठबन्धन बनेपनि यहाँ एमालेलाई हराउन कठिन छ । यस्तै मंगलामा पनि एमाले बलियो छ । यहाँ पनि एमाले एक्लै निर्वाचनमा जाँदा पनि जित्ने देखिन्छ ।

अन्य गाउँपालिकामा गठबन्धन भएपनि मालिकामा गठबन्धन हुन कठिन देखिएको छ । माओवादी केन्द्रका जिल्ला संयोजक तथा बिमका वडाअध्यक्ष रेशम जुग्जाली (सुविन) पालिका अध्यक्षका लागि बलियो दावेदार हुनुहुन्छ । अघिल्लो निर्वाचनमा स्वतन्त्रबाट जित्नुभएका जुग्जाली जिल्लामै लोकप्रिय नेता हुनुहुन्छ ।

मालिकामा माओवादीलाई अध्यक्ष नदिँदा सत्ता गठबन्धनमा रहेको काँग्रेससँग जिल्लाका कुनैपनि स्थानीय तहमा चुनावी तालमेल नहुने देखिन्छ । हालका पालिका अध्यक्ष श्रीप्रसाद रोकाले अध्यक्षमा दोहोरिने इच्छा व्यक्त गरेकाले काँग्रेसले मालिका माओवादीलाई छाड्न चाहेको छैन । माओवादीले भने मालिका नपाए जिल्लाभर कुनै पनि स्थानीयतहमा गठबन्धन नगर्ने मनस्थितिमा छ ।

सत्ता गठबन्धनमा आवद्ध दलहरुका विच चुनावी तालमेलका विषयमा पार्टी केन्द्रले अहिले सम्म कुनै निर्देशन नगरेको नेपाली काँग्रेसका जिल्ला उपसभापति केबी भण्डारीले बताउनुभयो । ‘जिल्लाका नेताहरु गठबन्धन नगर्ने पक्षमा हुनुहुन्छ । कुनै कुनै वडामा त्यहाँको अवस्था अनुसार कुनै दलसँग तालमेल त होला तर समग्र जिल्लाभर गठबन्धन हुने संभावना अहिले सम्म देखिदैन । केन्द्रमा पनि गठबन्धन गर्ने विषयमा नेताहरुका फरक फरक विचार आएका छन्’ – उपसभापति भण्डारीले भन्नुभयो । गठबन्धनका वारेमा जिल्लामा कुनै छलफल भएको छैन, जहाँ सम्म काँग्रेस एक्लै निर्वाचनमा जान्छ उपसभापति भण्डारीले भन्नुभयो ‘माओवादी र नेकपा एकिकृत समाजवादी विच तालमेल हुनसक्ला काँग्रेसले आफ्नो शक्ति पहिचान गर्न पनि एक्लै लड्ने हो ।’

नेकपा एमालेबाट विभाजन भई बनेको नेकपा एकिकृत समाजवादी भने माओवादी सँग चुनावी तालमेल गरेर जाने पक्षमा देखिएको छ । केन्द्रमा माओवादी केन्द्रसँग नजिक रहेको समाजवादीले जिल्लामा संगठन विस्तार गर्न लागेको छ । उसको शक्ति सानो भएपनि माओवादीसँग मिल्दा थोरै भएपनि माओवादी लाई राहत मिल्ने देखिन्छ ।

सत्ता गठबन्धनका विच चुनावी तालमेलका वारेमा अहिले सम्म कुनै छलफल नभएको माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज गोविन्द पौडेलले बताउनुभयो । ‘दुबै दल काँग्रेस र एमालेले ठूलो दम्भ देखाएका छन् । अझ भन्नुपर्दा काँग्रेसको दम्भ धेरै छ । दुवै दलको दम्भ र अहंकारलाई परास्त गर्न हामी सक्षम छौं’ पौडेलले भन्नुभयो । साना दलहरु समाजवादी र जनमोर्चा सँग मिलेर बामगठबन्धन बनाउने वारेमा छलफल चलेको उहाँले बताउनुभयो ।

काँग्रेस सँग तालमेल गर्ने वारेमा अहिले सम्म कुनै छलफल चलेको छैन पौडेलले भन्नुभयो ‘कतै कतै चिया गफमा साथीहरुले छलफल गर्नुभएको होला आधिकारिक रुपमा छलफल चलेको छैन ।’ अहिले सम्मको अवस्था हेर्दा एमाले र काँग्रेस सँग कुनै पनि स्थानीय तहमा गठबन्धन हुने अवस्था नदेखिएको उहाँको भनाई छ ।

माओवादीको संगठन पनि बलियो भएकाले दुईवटा गाउँपालिकामा वाहेक अन्य पालिकामा त्रिपक्षीय भिडन्त हुने उहाँले बताउनुभयो । माओवादीले वाहिर जस्ता कुरा गरेपनि भित्री रुपमा काँग्रेस वा एमाले सँग गठबन्धन गरेर जाने देखिएको छ । गठबन्धन नहुँदा माओवादीले ग्यारेन्टी रुपमा जित्ने पालिका देखिदैन । तिनवटा दलहरु एक्लाएक्लै जाँदा माओवादीका संयोजक जुग्जाली उम्मेदवार हुँदा मालिकामा भने त्रिपक्षीय कडा प्रतिस्पर्धा हुने देखिन्छ । यता नेकपा एमाले पनि काँग्रेसले जितेका पालिकामा अन्य दलसँग गठबन्धन गरेर काँग्रेसलाई हराउन चाहन्छ ।

बेनी नगरपालिकामा अघिल्लो निर्वाचनमा तालमेल गरेर काँग्रेससँग धोका पाएको माओवादी यसपाली पुन काँग्रेससँग गठबन्धन गरेर जाने देखिएको छैन । जिल्लाको एकमात्र नगरपालिका भएकाले पनि बेनीलाई तिनवटै दलले आफ्नो प्रतिस्ठाको  विषय बनाएका छन् । बेनी नगरपालिकामा काँग्रेसलाई सघाउँदा माओवादीले आफूले रोजेको पालिका पाउनुपर्ने अडान राख्न सक्छ । त्यो दिन काँग्रेस तयार छैन । अहिले सम्मको अवस्थालाई हेर्दा जिल्लामा त्रिपक्षीय प्रतिस्पर्धा नै हुने देखिएको छ । माओवादी र काँग्रेस गठबन्धन गरेर जाँदा पनि उनीहरुलाई एमाले सँग निर्वाचन लड्न सहज देखिदैन ।