परिश्रमी रविना र सुष्मा होटलमा काम गर्दै पढ्दै

विकल्प न्यूज/बेनी
फागुन २७ गते ।


म्याग्दीको मालिका गाउँपालिका ७ विम निबासी रबिना दर्जी अहिले म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम बर्षमा अध्ययनरत हुनुहुन्छ । त्यस्तै अन्नपूर्ण गाउँपालिका ५ शिखकी सुष्मा छिनालले पनि सोही क्याम्पसमा शिक्षा शास्त्र शंकायमा स्नातकतह प्रथम बर्षमा अध्ययन गर्दै हुनुहुन्छ ।

यी दुवै जना बिद्यार्थीको जिवन कथा भने फरक छ । हाल रविना र सुष्मा बेनीको इन्द्रणीटोलमा रहेको होटल लगईनमा स्टाफको रुपमा कार्यरत हुनुहुन्छ । किसानी मावि विमबाट २०७४ सालमा एसईई पास गरि उच्च शिक्षाका लागि बेनी झरेकी रविनालाई पढाई खर्च कसरी जुटाउने भन्ने चिन्ताले पिरोलीरहेको थियो ।

सुरुमा छामाको कोठामा बसेर अध्ययन गर्न थालेकी रविनालाई कपि, कलम जुटाउनदेखि क्याम्पस भर्ना समेत समस्या उत्पन्न हुन थालेपछि उहाँ कामको खोजिमा बजारमा भौतिरन थाल्नुभयो । काम खोज्दै जाँदा होटल लगईनमा पुगेपछि उहाँले होटलमा वएटरको रुपमा काम गर्ने अवसर पाउनुभयो । जुन होटल वैदेशिक रोजगारबाट फर्किएका मंगला गाउँपालिका ४ बरंजाका ललिन्द्र थापा र गरिमा पुनले भर्खर संचालनमा ल्याउनुभएको थियो ।

एकातिर पढाई अर्कोतिर होटलको काम, नयाँ अनुभव भएकाले पनि रविनालाई सुरुमा घुलमिल हुन निकै मुस्किल प¥यो । वावा बलबहादर दर्जी र आमा पुर्णा दर्जीकी जेठी छोरी रविना हाल उन्नाइस बर्षकी हुनुभयो । घरमा तिन बहिनीले स्थानीय किसानी माविमा अध्ययन गरिरहेका छन । घरको आर्थिक अवस्था कमजोर भएकै कारण काम गर्दै र अध्ययन गर्दै गर्नुपरेको रविनाले बाध्यता सुनाउनुभयो ।

होटल लगईनका अर्की स्टाफ सुष्माको कथा पनि वेग्लै छ । आफु ५ बर्षको छँदा वुवाले अर्की विहे गरेर घरै छोडि गएपछि त्यतिवेलाबाटै परिवारको पालनपोणण गर्ने जिम्मेवारी आमालाई आइप¥यो ।

आमाले गाउँघरमा निमेक गरेर पढाई खर्च व्यवस्थापन गरिदिन थालेपछि सुष्मा र उहाँकी दिदी शुसिलाले स्थानीय शिख माविमा अध्ययन गर्न थाल्नुभयो । २०७५ सालमा एसईई उतिर्ण गरेपछि सुष्मालाई उच्च शिक्षा अध्ययनका लागि समस्या भयो । घरमा भएकी दिदी एक्कासी विरामी भई न पढ्न सक्ने न काम गर्न सक्ने अवस्था भएपछि आमाको भरमा मात्रै उच्च शिक्षा पढ्न नसक्ने अवस्था आएपछि सुष्माले पढाई छोड्ने निधो गर्नुभयो ।

तर अन्नपूर्ण गाउँपालिका कार्यपालिका सदस्य समेत रहुनभएकी सुष्माकी ठूलीआमा बिष्णु परियारले होटल लगईनकी संचालिका गरिमा पुनसंग काममा लगाईदिने सम्वन्धी कुरा गरेपछि उच्च शिक्षा अध्ययन गर्ने ढोका खुलेको सुष्मा बताउनुहुन्छ ।
रविना र सुष्मा दुवै जना बिहान सवेरै क्याम्पस जानुहुन्छ । दश वजे क्याम्पस सकेर आएपछि उहाँहरुको समय होटलकै कामधन्दामा वित्ने गर्दछ । पकाउने, कपडा धुने, रुम सरसफाई गर्ने देखि लिएर वएटरको रुपमा समेत काम गर्ने दुवै जनाले अर्काको होइन आफ्नै घर जस्तै सम्झेर सवैकाम गर्दछन् । होटलमा पूर्ण रुपमा पारिवारिक वातावारणमा काम गर्दै आएको रविना र सुष्माले अनुभव सुनाउनुभयो ।

होटलमा काम गर्न थालेपछि पढाई खर्च जुटाउन देखि लिएर घरमा समेत पैसा पठाउँदै आएको रबिनाले बताउनुभयो । ‘घरमा वावाआमाको केही रोजगार छैन, तिनवटा वहिनीहरुले अध्ययन गर्दैछन तिनीहरुको पढाईखर्च समेत गरि वेलावेला घरखर्चका लागि पनि पैसा पठाउने गरेको छु’ रविनाले भन्नुभयो, “काम गर्दै र पढ्दै गर्दा दुःख होइन आनन्दको अनुभूति मिलेको छ” ।

सानै उमेरमा वावाको साथ गुमाएको सुष्माले होटलका संचालक ललिन्द्र थापालाई परिवारकै दाईको स्थानमा राखेको बताउनुभयो । मेरो शिक्षा तथा परिवारको समस्यामा समेत दाईको साथ मिलेको छ सुष्माले भन्नुभयो, ‘होटलको मालिक र कर्मचारी होइन हामीत परिवारकै सदस्यको रुपमा छौँ ।’

‘सुरुसुरुमा होटलमा आउने केही पाहुनाहरुले जिस्काउने तथा होच्याएर समेत बोल्ने गर्थे त्यतिवेला अप्ठ्यारो महसुस हन्थ्यो, तर अहिले त त्यस्तो छैन सवै चिनेको पाहुनाहरु आउनुहुन्छ, हामी पनि धेरै जान्ने बुझ्ने भइसक्यौँ’ रविनाले भन्नुभयो ।
रविना र सुष्मा दुवैको लक्ष्य शिक्षक बनेर सेवा गर्ने रहेको छ ।

त्यसका लागि कम्तीमा पनि स्नातक तह राम्रो अंकका साथ उतिर्ण गर्ने याजना बनाएर अध्ययनलाई अगाडि बढाईरहेका छन । कतै राम्रो ठाउँमा जागिर पाए होटल छोड्नु पर्छ तर त्यो क्षण सवैभन्दा पीडादायी हुन्छ होला भावुक हुँदै सुष्माले भन्नुभयो ।

उमेरले रविना दिदी र सुष्मा वहिनी, साइनो पनि त्यस्तै पर्ने तर उहाँहरु नजिकको साथी पनि हुनुहुन्छ । एकअर्काको दःुख, पीडा र समस्या बुझेका उहाँहरु होटलको काम पनि मिलेर गर्नुहुन्छ । मन र भावना मिलेको रविना र सुष्माका व्यवहारहरु पनि करिव एउटै देखिन्छन ।

अभाव, समस्या र चुनौतिको बावजुद पनि मेहनत र लगनशिलताले जिवनमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका रविना र सुष्मालाई काम गर्दै र पढ्दै गर्नमा बाध्यता होइन अचेल आनन्दको अनुभूति भएको छ ।

कर्मचारीको रुपमा होइन परिवारकै सदस्यका रुपमा दुइ वहिनीहरुलाई व्यवहार गरि उनीहरुको शिक्षा र समस्यामा आफुले सधै सहयोग गर्दै आएको होटल लगईनका संचालक ललिन्द्र थापाले बताउनुभएको । शुक्रबारको म्याग्दी प्रेसमा प्रकाशित