बेनीको एकतर्फी यातायातको समर्थनमा म्याग्दी चेम्बर अफ कमर्श

विकल्प न्यूज/बेनी
फागुन १८ गते ।

बेनीमा लागू गरिएको एकतर्फी यातायातको पक्षमा निजी क्षेत्रको एउटा छाता संगठन म्याग्दी चेम्बर अफ कमर्शले विज्ञाप्ती मार्फत समर्थन जनाएको छ । एकतर्फी नियमलाई निरन्तरता दिने वा नदिने विवाद चलिरहेका समयमा कमर्शले उक्त विज्ञप्ती निकालेर पुरै बजार क्षेत्रमा नियम लागू गर्नुपर्ने माग गरेको हो ।

गत पुस १ गतेदेखि बेनीमा एकतर्फी सवारी सञ्चालन नियम लागू गरिएको थियो । नियम लागू भएको दुई महिना पछि म्याग्दी उद्योग वाणिज्य संघले विरोध जनाएपछि प्रहरी र संघ विच यतिखेर विवाद बढेको छ ।

दुईहप्ता अघि बेनी नगरपालिकामा बसेको सरोकारवालाहरुको वैठकमा एकतर्फी यातायात सञ्चालनले व्यवसायीहरुलाई समस्या भएको भन्दै व्यवसायीहरुले विरोध जनाएका थिए । म्याग्दी उद्योग वाणिज्य संघको विरोधका विच एकतर्फी यातायातलाई पुर्नविचार गर्ने निर्णय भएको थियो । तर प्रहरी यो कुरामा सहमत थिएन ।

चेम्बर अफ कमर्श म्याग्दीका अध्यक्ष भरत रकालले बुधवार एक विज्ञप्ती निकालेर बेनीमा लागू गरिएको एकतर्फी यातायात ठिक भएको र यसलाई पुरै बजार क्षेत्रमा लागू गर्नुपर्ने माग गर्नुभएको छ ।

एकतर्फी यातायातले सडक दुर्घटनामा कमि भएको,सर्वसाधारण पैदल हिड्न सहज भएको,बजारको सुन्दरता र व्यवसायिक सहजता र प्रभावकारीतामा वृद्धि,जोखिम कम,ट्राफिक जाम कम आदी कुराहरुमा सुधार भएकाले उक्त नियम बजार क्षेत्रभरी नै लागू गर्न कमर्शले विज्ञप्ती मार्फत माग गरेको छ ।