पर्वत बेनी खानेपानीको चौथो साधारणसभा सम्पन्न

विकल्प न्यूज/बेनी
फागुन १४ गते ।


पर्वत बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चौथो वार्षिक साधरणसभा शनिबार पर्वत बेनीमा सम्पन्न भएको छ । जलजला गाउँपालिकाका २,३ र ४ नम्बर वडाका बगरफाँट,पर्वत बेनी र लामाखेतका ६ सय ६४ घरधुरीलाई खानेपानी सुविधा दिँदै छ ।

साधारणसभाको उदघाटन गर्दै जलजला गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले खानेपानीको समस्या भएका वस्तीहरुमा योजना सम्पन्न भएपछि उपभोक्ताले सफा र स्वच्छ खानेपानीको सुविधा पाएको बताउनुभयो । संस्थाले नियमित रुपमा उपभोक्तालाई खानेपानीको सुविधा दिन योजनालाई दिगो रुपमा सञ्चालन गर्न गाउँपालिकाले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो ।

साधारणसभामा वडा नम्बर ३ का वडा अध्यक्ष रबी भण्डारी,बेनी खानेपानी तथा उपभोक्ता संस्थाका सचिव राजेन्द्रप्रसाद श्रेष्ठ, उपभोक्ताको तर्फबाट सूर्यबहादुर कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभामा लोकनाथ रेग्मीले अध्यक्षको प्रतिवेदन, संस्थाका सचिव शिबबहादुर कार्कीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सम्मरबहादुर थापाले पेश गर्नुभएको संस्थाको आर्थिक प्रतिवेदन साधारणसभाले पास गरेको छ । योजनाबाट पर्वत बेनीका करिब सातहजार जनसंख्यालाई खानेपानी सुविधा दिएको अध्यक्ष रेग्मीले बताउनुभयो ।

दुईवर्ष अघि करिब १२ करोड ४३ लाख रुपैयाँ लागतमा सम्पन्न भएको योजनाको पर्वत बेनीको आटारीमा ४ लाख लिटर क्षमताको ट्याङ्कीबाट पानी २४ सै घण्टा वितरण गर्ने गरिएको छ । चैत वैशाखमा खानेपानीको समस्या नहोस् भनेर कालिगण्डकी नदीबाट पम्पीङ गर्ने व्यवस्था मिलाइएको छ ।

वर्षातका समयमा नियमित रुपबाट खानेपानीको आपूर्ति गर्न चुनौती भएपनि संस्थाका पदाधिकारी र सदस्यहरुको क्रियाशिलताका कारण उपभोक्ताको घरदैलोमा नियमित शुद्ध खानेपनि आपूर्तिको व्यवस्था मिलाइएको अध्यक्ष रेग्मीले बताउनुभयो । अध्यक्ष रेग्मीको अध्यक्षता,उपाध्यक्ष रेणुदेवी मल्लको स्वागत र सचिव कार्कीको सञ्चालनमा साधारणसभा सम्पन्न भएको थियो ।