ताजा समाचार:
Search

विपन्न विद्यार्थीको शैक्षिक अभिभावकत्व ग्रहण

विकल्प न्यूज\बेनी
फागुन ९ गते ।


बेनी नगरपालिका–४,सिङ्गाकी मेधावी विद्यार्थी सोनी थापाको अमेरिकामा बसोबास गर्ने एक दम्पत्तीले उच्च शिक्षासम्मको शैक्षिक अभिभावकत्व ग्रहण गर्नुभएको छ । स्थानीय धौलागिरी माविमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीया थापालाई बेनपा–४ सुर्केमेला घर भई हाल अमेरिकामा रहनुभएका इन्द्र थापा, सबी थापाले घर खर्च सहित कक्षा १२ सम्मको पठनपाठनका लागि सहयोग गर्नुभएको हो ।

थापा दम्पत्तीले बार्षिक २५ हजार नगद आर्थिक सहयोग गदैं अभिभावकत्व ग्रहण गदैं सोमबार विद्यालयमा आयोजित एक कार्यक्रममा पत्रकार हरिकृष्ण गौतममार्फत विद्यालयका प्रतिनिधि र विद्यार्थी सोनी र उनकी आमा पूर्णकली थापामगरलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

आर्थिक तथा घरायसी कारण पठनपाठनलाई निरन्तरता दिन समस्या भइरहेको अवस्थामा प्राप्त सहयोगले उच्च शिक्षासम्मका लागि सहज भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भगवान खड्काले बताउनुभयो । मेधावी विद्यार्थी थापाले गएको प्रथम त्रैमासिक परीक्षामा उनले ३.५जिपिए ल्याएर पुरस्कृत भएको विद्यालयका प्रधानाध्यापक डन्डपानी सापकोटाले बताउनुभयो ।

पढाईमा अब्बल भएपनि गरिबीकै कारण समस्यामा परेको समाचार प्रकाशित भएपछि शिक्षादीक्षामा सहज हुने गरी अन्नपूर्ण गाउँपालिका–३, दाना हाल यूकेमा रहनुभएका कृष्ण तुलाचनाबाट २० हजार, काभ्रे जिल्ला घर भई हाल अस्टे«लियामा रहनुभएका अश्विन केसीले कक्षा १२ सम्मका लागि बार्षिक १५ हजार, कुहुँ तुसारेपानी घर भई हाल यूके रहनुभएका खगेन्द्र रोकाबाट १० हजार, हाम्रो नेपाल समुहले उच्च शिक्षासम्मका लागि कपडा र स्टेशनरी सामान र बरंजा थापुङका गंगाबहादुर चोचाङ्गी ८ हजार ५८० आर्थिक सहयोग प्राप्त भएको विद्यालयका शिक्षक खोमराज पौडेलले जानकारी दिनुभयो । यसैबीच विद्यालयको कक्षा ११ मा अध्ययनरत संगिता मिजारलाई पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले भर्ना खर्च ३७ सय रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ ।