ताजा समाचार:
Search

शिक्षा र मानविकी बिषयमा स्नातकोत्तर तह अध्यापनको तयारीमा छौं ः अध्यक्ष ढुंगाना

विकल्प न्यूज/बेनी
फागुन ५ गते । 
म्याग्दी बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष सोमनाथ ढुंगानाले निकट भविस्यमै क्याम्पसमा शिक्षा र मानविकी बिषयमा पनि स्नातकोत्तर तहको अध्यापन हुने बताउनुभएको छ ।

बिहिबार क्याम्पसमा गठन गरिएको सूचना र प्रविधि एकाईले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढुंगानाले यी दुई बिषयमा स्नातकोत्तर तह अध्यापनका लागि त्रिविको आवेदन मागको सूचना बमोजिम निवेदन पेश गरिएको बताउनुभयो ।

गत पौष १९ गते सम्पन्न क्याम्पस सभाबाट संचालक समितिको अध्यक्षमा चयन हुनुभएका ढुंगानाले हाल सम्म भएका गतिविधि र भावि कार्यक्रमहरु समेत प्रस्तुत गर्नुभएको थियो । ढुंगानाले क्यूएए को दोस्रो ५ बर्षे अवधिका लागि मध्यकालिन मूल्यांकन तत्काल हुने हुँदा त्यसको तयारीमा लागेको बताउनुभयो ।

उहाँले डिजिटल बोर्ड सहितको अत्याधुनिक कक्षा कोठाहरु निर्माण गर्नका लागि गण्डकी प्रदेश सरकारलाई वजेटका लागि प्रस्ताव पेश गरिएको, विश्वविद्यालय अनुदान आयोगमा करिव २५ वटा कोठा भएको भवन निर्माणका लागि प्रस्ताव पेश गरिएको बताउनुभयो ।
त्यस्तै क्याम्पसमा बिदाका दिनहरुमा वौद्धिक छलफल र अन्तरकृया गर्नका लागि इन्टिलेक्च्युवल क्लवको स्थापना गर्ने योजना बनाइएको पनि बताउनुभयो ।

साविक धौलागिरी अंचलमानै एकमात्र क्यूएए मान्यता प्राप्त सामुदायिक क्याम्पस भएकाले उच्च शिक्षाका लागि बिद्यार्थीको रोजाईमा म्याग्दी बहुमुखी क्याम्पस नै भएको अध्यक्ष ढुंगानाले बताउनुभयो ।

उचित छात्रवृत्तिको ब्यबस्था, सुविधा सम्पन्न होस्टेलको ब्यबस्था र प्रयाप्त भौतिक संरचना र प्रत्यक शंकायमा तिन वटा आन्तरिक परिक्षाबाट बिद्यार्थीको नियमित मूल्याकंन गरिने भएकोले पनि गुणस्तरिय शिक्षा प्रदान गर्ने उत्कृष्ट गन्तब्य म्याग्दी बहुमुखी क्याम्पस भएको उहाँको भनाई थियो ।

कार्यक्रममा क्याम्पस संचालक समितिका उपाध्यक्ष दिपु श्रेष्ठले विदेश जाने लहरले गर्दा म्याग्दीमा शैक्षिक जनशक्ति उत्पादन कम भएको बताउनुभयो । सरकारी जागिरमा म्याग्दीको उपस्थिति करिव शुन्य जस्तै भएकाले अभिभावक तथा बिद्यार्थीहरुले पनि अध्ययनलाई प्राथमिकतामा राख्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

म्याग्दी क्याम्पसले समुदायमै पुगेर शैक्षिक जागरण र बिद्यार्थीलाई अध्ययनमा प्रात्सहन हुने खालका कार्यक्रमहरु गर्न योजनामा रहेको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । जिल्लामा क्रियाशिल पत्रकारहरु संग भएको उक्त कार्यक्रम संचालक समितिका अध्यक्ष ढुंगानाको अध्यक्षता र सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।