ताजा समाचार:
Search

बेनी नगरको सार्वजनिक जग्गामा बेथिति ः ४ लाख सम्म विक्री

विकल्प न्यूज/बेनी
माघ २८ गते ।


बेथिति नम्बर १. बेनी नगरपालिका ७ सामुदायिक चोकमा विगत करिब १० वर्ष देखि टहरमा व्यवसाय गर्दै आउनुभएकी जमीला बेगमले उक्त टहरा शिवकुमार शाहालाई ४ लाख ७० हजारमा विक्री गरेको । उक्त टहराको मर्मत गरी सटर निर्माण गरेर केही महिनापछि नै फेरी मुकेशलाल कायस्थालाई ४ लाख ३० हजारमा विक्री गरेको ।
बेथिति नम्बर २.
बेनी नगरपालिका २ स्थित मोटरेबल पुलसँगैको सार्वजनिक जग्गा नगरपालिका सँग गरेको सम्झौता एकवर्ष अघि नै सकिएपनि जवरजस्ती पक्की संरचना निर्माण गरेर एक व्यवसायीले व्यवसाय सञ्चालन गर्दै आएको ।

माथि उल्लेखित दुईवटा तथ्यहरुले बेनी नगरपालिका भित्र सार्वजनिक जग्गा भाडामा लगाउँदा बेथिति रहेको प्रष्ट देखिन्छ । नगरसँग सार्वजनिक जग्गा व्यवस्थापन सम्बन्धि कार्यविधि तथा ऐन नहुँदा मनलाग्दी रुपमा सार्वजनिक जग्गा वितरण गर्ने विकृती मौलाउँदो छ । कतिपयले नगरलाई भाडा समेत समयमा बुझाएका छैनन् । विना टेण्डर सार्वजनिक जग्गा आफूखुसी भाडामा लगाउँदा नगरपालिकाको राजश्वमा समेत नोक्सानी भएको छ । सार्वजनिक जग्गा विना प्रतिस्पर्धा भाडामा लगाउने गरिएको छ ।

केही महिना अघि मात्र बेनी नगरपालिका ७ स्थित सामुदायिक चोकमा सडक मिचेर व्यवसायिक सटर निकालीएको छ । उक्त जग्गा सूचना प्रकाशित नगरी व्यक्तिलाई जनप्रतिनिधिको सेटिङका भरमा भाडामा लगाइएको छ । नगरपालिकाको जग्गा भाडामा दिँदा सूचना प्रकाशित गर्नुपर्नेमा जनप्रतिनिधि स्वयमले सेटिङ मिलाएर जग्गा भाडामा लगाएका छन् ।

बेथितिहरु

सम्झौता विपरित पक्की संरचना निर्माण
सार्वजनिक जग्गा एकआपसमा खरिद विक्री
नगरपालिकालाई भाडा तिर्न अटेर
जनप्रतिनिधिको सेटिङमा जग्गा भाडामा
सडक पुल मिचेर घर टहर निर्माण
सार्वजनिक जग्गामा सिमित व्यक्तिहरुको दादागिरी
नगरपालिका सँग सार्वजनिक जग्गा व्यवस्थापन कार्यविधी छैन
भ्रद्रगोल तरिकाले सार्वजनिक जग्गामा घरटहरा,ट्याङ्की निर्माण

जनप्रतिनिधिले आफू खुसी मनपरेको व्यक्तिलाई भाडामा दिने र पछि मात्र कार्यपालिकाबाट निर्णय गराउने प्रचलन छ । नगरको जग्गा भाडामा लगाउँदा खुल्ला रुपमा सूचना निकाल्नुपर्दछ एक कर्मचारीले भन्नुभयो ‘यहाँ त्यसो गरिदैन पहिला भाडामा दिएपछि बल्ल कार्यपालिकाबाट निर्णय गराइन्छ ।’ यो जनप्रतिनिधिको सेटिङ हो ति कर्मचारीले भन्नुभयो ।

बेनी नगरपालिकाले विरेन्द्रचोक,नगरपालिका कार्यालय अगाडी,कालिपुल लगायतका स्थानहरुमा सडक मापदण्ड नै मिचेर सार्वजनिक जग्गा भाडामा लगाउने गरेको छ । जसका कारण सडक साँघुरो हुनुका साथै बजारको सुन्दरतामा समेत असर पु¥याएको छ ।

सार्वजनिक जग्गामा निर्माण भएका व्यवसायिक घरटहरा एकआपसमा खरिद विक्री हुँदा नगरपालिका बेखबर छ । विरेन्द्रचोकमा विपन्नलाई भनेर तत्कालिन समयमा व्यवस्थापन गरिएको ट्याक्कीमा अहिल ठूला ब्यापारीहरुले ओगटेका छन् । सडक छेवैमा ल्याएर मालसामान राख्ने उनीहरुलाई कुनै कानूनी लाग्दैन ।

प्रहरीले विरेन्द्रचोक आसपासका व्यवसायिक टहराहरु हटाएर सडक खुल्ला गर्नुपर्ने प्रस्ताव राखेपनि जनप्रतिनिधिहरु यसो गर्न मान्दैनन् । विरेन्द्रचोक जस्तो महत्पूर्ण स्थानमा जग्गा भाडामा लगाउँदा आपसी मिलोमतो गरिन्छ । कौडीको मुल्यमा भाडामा लगाउने गरिएको छ ।

नगरपालिकाको जग्गालाई आफूखुसी खरिद विक्री गर्न नपाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो । नगरको कुनै जग्गामा व्यवसाय गरिराखेको व्यक्तिले व्यवसाय गर्ने मन नभए नगरपालिकालाई जानकारी दिने हो अर्को व्यक्तिलाई विक्री गर्ने होइन उहाँले भन्नुभयो । सार्वजनिक जग्गा व्यवस्थापन कार्यविधि नभएकाले यस्ता समस्याहरु आउने गरेको उहाँले बताउनुभयो । नगरपालिकाको सार्वजनिक जग्गा उपयोग तथा व्यवस्थापन सम्बन्धित कार्यविधि बनेपछि यस्ता समस्या समाधान हुने उहाँको भनाई छ ।
समयमा भाडा तिर्दैनन् 
नगरपालिकाको सार्वजनिक जग्गामा टहरा हालेर विभिन्न व्यवसाय सञ्चालन गरेकाहरुले नगरपालिकालाई भाडा तिर्न अटेर गर्ने गरेका छन् । ठाउँ हेरर नगरपालिकाले हातको ६ सय पचास देखि एकहजार दुईसय रुपैयाँ सम्ममा भाडामा लगाउने गरेको छ । पटक पटक ताकेता गर्दा पनि भाडा तिर्न अटेर गर्ने गरेको सहायक लेखापाल निर्मला शर्माले बताउनुभयो । उहाँले दिएको जानकारी अनुसार अघिल्लो आर्थिक वर्षको असार मसान्त सम्म ७ लाख ३९ हजार पाँचसय दुई रुपैयाँ बक्यौता अशुल गर्न वाँकी रहेको छ ।
भाडा नतिर्नेहरु ः
 हाँडेभीरमा रहेको पशुबधशला (लाल र सुरेस ) एक लाख ७३ हजार
सुकन शाह – बेनपा ७ जिसस अगाडी ः ३८ हजार चार सय
श्यामकली पुन – बेनी नगरपालिका अगाडि ः एकलाख १५ हजार पाँचसय
लक्ष्मी बानियाँ –बेनपा अगाडि लेखापढी व्यवसायी ः एकलाख ७८ हजार ८ सय ५२
भोजबहादुर कार्की –कालिपुल ः दुई लाख ३३ हजार ७ सय पचास ।