ताजा समाचार:
Search

नदी कटानबाट बेनीलाई जोगाउन संरक्षण योजना सुरु

ठाकुरप्रसाद आचार्य /बेनी
माघ २८ गते ।

 

म्याग्दीको सदरमुकाम बेनीलाई नदी कटानबाट जोगाउन बेनीबजार संरक्षण योजना सुरु गरिएको छ । कालिगण्डकी र म्याग्दी नदी कटानको उच्च जोखिममा रहेको सदरमुकाम बेनीलाई संरक्षण गर्न डिपिआर बनाएर तिनवर्ष अघिदेखि योजना सुरु गरिएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजना, पोखराले बजार संरक्षण योजना अगाडि बढाएको छ ।

कालिगण्डकी र म्याग्दी नदी किनारमा पक्की पर्खाल र ग्यावियन जाली लगाउने योजना रहेको छ । परियोजनाले तिनवर्ष अगाडि देखि संरक्षण योजना बढाएपनि पुरा नभएकाले बर्षातका समयमा बजार नदी कटानको उच्च जोखिममा थियो । कालीपुल बसपार्क, म्याग्दी उद्योग वाणिज्य संघको तल्लो क्षेत्र र म्याग्दी खोलाको मंगलघाट बजार क्षेत्रमा पक्की पर्खाल निर्माणको काम थालेको परियोजनाले जनाएको छ ।

 

दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी रौताह–बिएनबी जेभी सँग ९ करोड ४५ लाख १७ हजार सातसय ४२ रुपियाँमा परियोजनाले ठेक्का सम्झौता गरेको परियोजनाका इन्जिनियर अशोक तिमिल्सिनाले बताउनुभयो ।

आगमी २२ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी योजना अगाडि बढाइएको उहाँले बताउनुभयो । बर्षातका समयमा काम गर्न कठिन हुने भएकाले जेठ महिना भित्र उच्च जोखिममा रहेको स्थल कालिपुल बसपार्क र मंगलाघाट बजार क्षेत्रमा पक्की पखाल र ग्यावियन जाली लगाउने काम सम्पन्न गरिने उहाँले बताउनुभयो ।

कालीपुलमा ८० र सगंमचोक पछाडि म्याग्दी जेसिजको भवन नजिकैको कालीगण्डकी किनारमा करिब एकसय ६८ मिटर आरसिसी तथा मंगलाघाटस्थित म्याग्दी किनारमा करिब ६० मिटर पर्खाल निर्माण गरिने परियोजनाका इन्जिनियर तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार चार मिटर फराकिलो जगदेखि दुई मिटरमाथिबाट ५० सेन्टिमिटर बाक्लो र पाँच मिटर अग्लो आरसिसी पर्खाल निर्माण गरिने छ ।

नदी कटानको जोखिमपुर्ण क्षेत्रलाई प्राथमिकता दिएर डिपिआर अनुसार संरक्षणको काम भइरहेको बेनी नगरपालिका प्रवक्ता एवम् वडानम्वर ८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले बताउनुभयो । विगतका वर्षहरुमा बजार संरक्षण योजना ढिलासुस्ती हुँदा कटानको जोखिम बढेकाले यसपटक समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई दबाव दिइएको उहाँले बताउनुभयो ।

कालीगण्डकीमा गत असार १ गते आएको बाढीले बेनीको संगमचोक पछाडि र कालीपुल बसपार्क क्षेत्रमा कटान गरेको थियो । यसैगरी परियोजनाले पर्वतको जलजला गाउँपालिका २ र ३ नम्बर वडामा पर्ने बगरफाँट र पर्वत बेनी संरक्षणका लागि पनि काम गर्दै आएको छ ।