ताजा समाचार:
Search

निर्वाचन लक्षित कार्यक्रम बनाउँदै म्याग्दीका दलहरु

ठाकुरप्रसाद आचार्य /म्याग्दी
माघ २६ गते ।


सरकारले आगमी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि जिल्लाका राजनीतिक दलहरु निर्वाचनको तयारीमा जुटन थालेका छन् । निर्वाचन हुने नहुने आशंका विच नेपाल सरकार मन्त्रिपरिषदको सोमबार बसेको वैठकले निर्वाचनको मिति घोषणा गरेपछि दलहरु आन्तरिक योजना बनाउन जुटेका हुन । दलहरुले आगमी निर्वाचन लक्षित कार्यक्रमहरु बनाउन जुटन थालेका छन् ।

जिल्लामा क्रियाशिल ठूला राजनीतिक दलहरु नेकपा एमाले,नेपाली काँग्रेस र माओवादी केन्द्रका जिल्ला र स्थानीय तहका नेताहरुले निर्वाचनको मिति घोषणालाई स्वागत गरेका छन् । वडा,पालिका र जिल्ला अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको मुख्य दलहरु निर्वाचन लक्षित अभियानमा केन्द्रित हुने बताएका छन् । जिल्ला,स्थानीय तह र वडा कमिटीको भेला तथा वैठकले निर्वाचन लक्षित कार्यक्रमहरु बनाउने दलका नेताहरुले बताएका छन् ।

सरकारले निर्वाचन घोषणा गरेकाले अव पार्टीले निर्वाचन केन्द्रित कार्यक्रमहरु लिएर गाउँ जाने नेकपा एमालेका अध्यक्ष देवेन्द्रबहादुर केसीले बताउनुभयो । निर्वाचनलाई मध्यनजर गरेर जिल्लाभरको कार्यक्रम तय गर्न फागुन ११ गते जिल्ला कमिटीको वैठक राखिएको उहाँले बताउनुभयो । यसका साथै यतिखेर स्थानीय तहका पार्टी कमिटीले गाउँगाउँमा टोल भेला,संगठन विस्तार,सदस्यता वितरण लगायतका भेटघाटका कार्यक्रम गरिराखेको उहाँले बताउनुभयो ।

सोमबार मात्र सरकारले निर्वाचनको मिति घोषणा गरेकाले अव चाँढै नै निर्वाचनालाई केन्द्रीत गरेर पार्टीका कार्यक्रमहरु जनता समक्ष लैजाने नेपाली काँग्रेस म्याग्दीका उपसभापति केबी भण्डारीले बताउनुभयो । पार्टीका पालिका समितिले टोल स्तरमा कार्यक्रर्ता भेटघाट र टोल समिति गठन गर्ने अभियान सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।

यस्तै माओवादीले निर्वाचन लक्षित कार्यक्रम बनाउने जिल्ला संयोजक रेशम जुग्जालीले बताउनुभयो । निर्वाचनलाई लक्षित गरेर पार्टीका सम्पूर्ण गतिविधिहरु केन्द्रित हुने उहाँको भनाई छ । जिल्लामा रहेका नेकपा एकिकृत समाजवादी,राप्रपा र राष्ट्रिय जनमोर्चा लगायत साना दलहरु पनि निर्वाचनको मिति घोषणाले उत्साहित बनेका छन् । निर्वाचनको मिति चयन भएसँगै दलहरुमा उम्मेदवारको पनि चर्चा हुनथालेको छ ।

जिल्लामा एक नगरपालिका र पाँच गाउँपालिका छन् । नगर तथा पालिका अध्यक्ष र वडा अध्यक्ष पदमा को को उम्मेदवारी हुने भन्ने बहश सुरु हुनथालेको छ ।