ताजा समाचार:
Search

लामाखेत सुकुम्बासीका पीडा ः ‘चालिस वर्षमा पनि पाएनन् लालपुर्जा’

ठाकुरप्रसाद आचार्य /जलजला
माघ २४ गते ।


यहाँको एक वस्तीमा वस्ने सुकुम्बासीहरुले जग्गा भोगचलन गरेको वर्षौ हुँदा पनि लालपुर्जा पाउन सकेका छैनन् । बेनीसँग जोडिएको पर्वतको जलजला गाउँपालिका ४ लामाखेत स्थित सुकुम्बासीहरु बसोबास गरेको चालिस वर्ष हुँदा पनि लालपुर्जा पाउन सकेका छैनन् ।

यो वस्तीमा बसोबास गर्ने सवैजना ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका छन् । सुकुम्बासी भएकाले सरकारी सेवा सुविधा पाउन पनि कठिन भएको उनीहरुको गुनासो छ । नजिकै गाउँपालिका केन्द्र भएपनि पालिकाबाट पाउने सेवा सुविधामा समेत विभेद गरिएको उनीहरुको गुनासो छ ।

सुकुम्बासी वस्तीकी सुकमाया परियारलाई लालपुर्जा पाइन्छ भन्ने आशा मरिसकेको छ । वस्तीकै मालढुङगा–बेनी सडकको छेवैमा एकतले छाप्रोमा बस्दै आउनुभएकी राममाया परियारलाई पनि बासको चिन्ता छ । ‘सडक विस्तार गर्दा घर जान्छ भनेका छन् आफ्नो अन्त्र कतै जग्गाजमिन छैन’ राममायाले भन्नुभयो ‘कहाँ बस्ने के खाने दिनभर ज्यालामजदुरी गरेर कमाएको पैसाले विहान बेलुकाको छाक टार्नै धौधौ छ । जमिन छैन बस्ने बास कसरी बनाउने ।’

बाउबाजेको पाला देखि यहीँ बसियो अन्यत्र जाने ठाउँ पनि छैन वर्षौ देखि बसेपनि लालपुर्जा नहुँदा समस्या परेको छ विनमाया परियारले दुखेसो पोख्नुभयो । लालपुर्जा दिलाइदिन्छौं भन्नेहरु धेरै आए तर हामीले अहिले सम्म पाउन सकिरहेका छैनौं उहाँको गुनासो थियो । चुनाव ताका पार्टीका नेताहरु आउँछन् आश्वासन बाढ्छन तर काम गर्दैनन् उहाँले दुखेसो सुनाउनुभयो ।

यहाँ बसोबास गर्ने ३० घरपरिवारको दुखेसो एउटै छ । सवैजनाको एकतलाको छाप्रोको बास छ । लालपुर्जा नभएकाले घर बनाउन सक्नेले पनि बनाउन पाएका छैनन् । वस्ती तल सडक र माथि सामुदायिक वन छ । सडक विस्तार गर्दा वस्तीलाई असर पुग्ने देखिन्छ भने माथि सामुदायिक वन भएकाले वस्ती विस्तार गर्न समस्या भएको सुकुम्बासीहरु बताउँछन् ।

वर्षौ देखि वस्दै आएको जमिन आफ्नो नाममा नामसारी नहुँदा सरकारी सेवा सुविधा प्राप्त गर्नबाट समेत बञ्चित हुनुपरेको सीता परियारले गुनासो पोख्नुभयो । गाउँपालिकाबाट प्राप्त हुने विभिन्न अनुदानका कृषि कार्यक्रममा समेत हामीहरुले पाउँदैनौं सीताले भन्नुभयो ‘ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्नुछ ।

आजकल काम पनि पाइन छाड्यो, पालिकाले अनुदानमा बाख्रापालन,कुखुरा पालन लगायतका कार्यक्रमहरु दिन्छ भन्छन तर हामीहरुले अहिलेसम्म पाएका छैनौं ।’ यहाँका सबैजनाले दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्दछन् ।

मल्लाझको चिउरी पतलाबाट ४० वर्ष अघि बसाईसरेर लामाखेत स्थित धुलेपाल्सीङ सामुदायिक वन छेवैमा आएर सुकुम्बासीहरु बसेका हुन । पटक पटक जग्गा नामसारी गरी लालपुर्जा पाउन माग गरेपनि उनीहरुको माग अझै सुन्ुवाई भएको छैन ।

चुनाव ताका आउने नेताहरुले लालपुर्जा दिलाइदिने आश्वासन दिन्छन् जितेर गएपछि फर्किएर आउँदैनन् सुकमायाले भन्नुभयो ‘भोट माग्दा मात्र यो वस्तीमा नेताहरु आउँछन् तर हाम्रा समस्याहरु बुझ्न फर्किएर नआउँदा हाम्रो मन दुखेको छ ।’लालपुर्जाको आशमा धेरै पटक कुश्मा पुगेर फर्म भरेपनि लालपुर्जा हातमा नपरेको सुकुम्बासीहरु ले गुनासो पोखे ।

लामाखेतका सुकुम्बासीहरुको समस्या वर्षौ देखिको भएको र समाधानको पहल भएको वडा अध्यक्ष भिष्म मल्लले बताउनुभयो । सुकुम्बासी समस्या समाधन आयोगमा सवै कागजात पु¥याएको र पुर्जा पाउने प्रक्रियामा रहेको वडा अध्यक्ष भिष्म मल्लले बताउनुभयो ।