बैशाखमै स्थानीय चुनाव हुने प्रचण्डको संकेत

काठमाडौं माघ १४, २०७८ ,

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले स्थानीय तहको चुनाव बैशाखमै  हुने संकेत गरेका छन् । शनिबार बस्ने पाँच दलीय गठबन्धनको बैठकले यसबारे टुंगो लगाउने भएको छ । माओवादी अध्यक्ष प्रचण्ड बैशाखमा स्थानीय चुनाव गर्न तयार देखिएका छन् ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गरेपछि अध्यक्ष प्रचण्ड  सिंहदरबारमा माओवादीका ६ मन्त्रीहरुसँग बैठक बसेका थिए । त्यहाँ उनले अब चाँडै निर्वाचन आचारसंहिता लाग्न सक्ने मन्त्रीहरुलाई बताए ।

सरकार सञ्चालनसम्बन्धी माओवादीद्वारा गठित आन्तरिक संयन्त्रको बैठकमा सहभागी एक मन्त्रीले  भने, ‘अध्यक्षज्यूको भनाइ सुन्दा स्थानीय चुनाव बैशाखमै हुने संकेत देखियो । चुनाव गर्न नसकेको आरोपसहित चौतर्फी दबाव झेल्नुभन्दा बैशाखमै स्थानीय चुनाव गर्ने प्रधानमन्त्रीको चाहना रहेछ भन्ने बुझियो ।’

निर्वाचन आयोग, राष्ट्रपति कार्यालय र प्रमुख प्रतिपक्षले समेत एकमुख भएर बैशाखमै चुनाव हुनुपर्ने दबाव दिइरहेका बेला शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच त्रिपक्षीय छलफल भएको थियो । सो छलफलपछि स्थानीय चुनावबारे औपचारिक सहमति जुटाउन शनिबार पाँच दलीय गठबन्धनको बैठक बोलाइएको छ ।

बालुवाटारमा प्रमुख निर्वाचन आयुक्तसँग छलफल 

प्रधानमन्त्री शेरबहादुर देउवा चौतर्फी दबाव झेल्नुभन्दा बैशाखमै स्थानीय तहको चुनाव गर्ने मुढमा सुरु देखि नै थिए । स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्ड विहीबार नै स्थानीय चुनाव बैशाखमै होस् भन्नेमा पुगेका थिए । शुक्रबार बालुवाटार जाँदै गर्दा उनले माधव कुमार नेपाललाई टेलिफोन गरेर कन्भिन्स गरेको स्रोतको दाबी छ । त्यसपछि नेता नेपाल पनि थप छलफलका लागि बालुवाटार पुगेका थिए ।

बालुवाटारमा गठबन्धन दलका तीन शीर्ष नेताले आपसी छलफल गरेपछि त्यहीँ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई पनि बोलाइएको थियो । थपलियाले स्थानीय चुनाव अहिलेकै कानूनअनुसार हुने बताएका थिए । संसद नचलेको अवस्थामा सरकारले ऐन संशोधन गर्ने वा अध्यादेश जारी गर्ने भए बेग्लै कुरा, नत्र आयोगले अहिलेकै कानूनमा टेक्नुपर्ने हुन्छ भन्दै थपलियाले प्राविधिक र कानूनी जटिलताबारे जानकारी गराएका थिए ।

प्रमुख आयुक्तसँगको छलफलपछि सत्ता गठबन्धनका नेताहरुले आयोगलाई तयारी अगाडि बढाउन आग्रह गर्दै शनिबार पाँचदलीय गठबन्धनको बैठक राखेर थप निर्णय गर्ने बताएका थिए । स्रोतका अनुसार शनिबार पाँचदलीय गठबन्धनको बैठकले आगामी बैशाख वा जेठमा स्थानीय तहको निर्वाचनमा जाने सहमति जुटाउने सम्भावना बढेको छ । ratopati