बासखर्कका किसानले भित्राए सुन्तला विक्री गरेर गाउँमा पाँचकरोड

विकल्प न्यूज/जलजला
माघ १२ गते ।


जलजला गाउँपालिका १ बाँसखर्कका किसानले यस वर्ष झन्डै पाँच करोड रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका छन् । अनुकूल मौसमका कारण किसानले यस वर्ष सुन्तला बिक्रीबाट राम्रो आम्दानी लिन पाएका हुन् ।

व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका दुई सयभन्दा बढी परिवारले सुन्तला बिक्रीबाट गाउँमा पाँच करोड रुपैयाँ भित्र्याएका बजार मारे सुन्तला उत्पादन सहकारी संस्था बाँसखर्कका अध्यक्ष जगतबहादुर खत्रीले जानकारी दिनुभयो । यस गाउँमा गएको वर्ष सुन्तला बेचेर तीन करोड भित्रिएको थियो ।

बोटबाटै प्रतिकिलो १३० देखि १५० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छौँ, उहाँले भन्नुभयो, पोखरा, मुग्लिन र नारायणगढ लगायतका बजारबाट व्यववसायी आएर सुन्तला खरिद गरे । माग पूरा गर्नै सकिएको छैन । ढिलो गरी पाक्ने र स्वादिलो हुने भएकाले यहाँको सुन्तलाको माग बढी हुने गरेको छ ।

बाँसखर्कमा अन्य खाद्यान्न र फलफूल उत्पादन हुँदैन । किसानले धान, कोदो र मकैभन्दा सुन्तला खेतीले फाइदा हुने भएपछि सुन्तलालाई मुख्य आम्दानीका रूपमा लिँदै आएका छन् । न्यूनतम पाँच लाख रुपैयाँभन्दा थोरै कमाउने कुनै घरै छैनन्, अध्यक्ष खत्रीले भन्नुभयो, बढीमा १९ लाख रुपैयाँसम्म आम्दानी गर्ने परिवारसमेत रहेका छन् ।

उहाँले यस वर्ष झन्डै १३ लाख रुपैयाँ आम्दानी गरेको सुनाउनुभयो । उहाँका अनुसार गाउँमा सबैभन्दा बढी भक्तबहादुर पाइजाले सुन्तला बिक्री गर्नुभएको छ । उहाँले यस वर्ष झन्डै १६ लाख रुपैयाँ आम्दानी हुने बताउनुभयो । सुन्तलाको कमाइले बजारमा घरघडेरी नजोडेका निकै कम छन् । उहाँका अनुसार घरको आँगनसमेत सुन्तलाका बोटले ढाकिएको छ ।

सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा गएको तीन वर्षअघि ६७ लाख खर्चिएर शीत भण्डार केन्द्र सञ्चालन गरिएको छ । शीत भण्डार सञ्चालन भएपछि किसानलाई सुन्तला भण्डारण गर्न र बेमौसममा बिक्री गर्न सहज भएको स्थानीयवासी कल्पना खत्रीले बताउनुभयो । तर धेरैजसो सुन्तला बोटबाटै बिक्री हुने भएकाले भण्डारण गर्नुपर्ने समस्या नभएको उहाँको भनाइ छ ।

सुन्तलाका लागि उपयुक्त क्षेत्र भएकाले बाँसखर्कमा बर्सेनि क्षेत्रफल विस्तार हुँदै आएको छ । गएको चार वर्ष अघिसम्म १६१ परिवारले मात्रै व्यावसायिक सुन्तला खेती गर्दै आएको यो गाउँमा अहिले २१० परिवार आबद्ध भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

यहाँका धेरैजसो किसान अन्नबाली छाडेर सुन्तला खेतीमा लागेका छन् । यहाँ कोदो र मकै उत्पादन हुने गर्दथ्यो । अहिले भने खेतबारी सबै सुन्तलाको बगानले ढाकिएको छ । सिङ्गो गाउँ नै पहेँलपुर बनेको छ । माघ पहिलो हप्तादेखि यहाँका सुन्तला बजार जान थालेका हुन् । धेरैजसो सुन्तला बजार झरिसकेको र बाँकी रहेका बगैँचामा पनि व्यवसायीहरू आफैँ गएर टिप्न थालेको स्थानीयवासी यामबहादुर गर्बुजाले बताउनुभयो । रासस