बेनीमा ‘मास्क बैंक’ स्थापना

विकल्प न्यूज/बेनी
माघ ११ गते ।

 बेनीका दुई स्थानमा मास्क वैंक सञ्चालनमा ल्याइएको छ । कोभिड–१९ को उच्च जोखिम बढेसँगै जिल्ला कोभिड ब्यवस्थापन समितिको संयोजनमा मास्क विना यात्रा नगर्न अनुरोध सहित ‘तपाईंको मास्क खोई ’ अभियान सुरु भएसँगै बेनपा–७, सामुदायिक चोकमा रहेको प्रहरी बिट र कालिपुल बसपार्कमा मास्क बैंक’ स्थापना गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय, बेनी नगरपालिका,जिल्ला जनस्वास्थ्य कार्यालय,उधोग बाणिज्य संघ म्याग्दीको सक्रियतामा सुरु भएको सचेनतामुलक अभियानसँगै मास्क नभएकालाई वितरण गर्ने गरी मास्क बैंक राखिएको प्रनाउ श्यामकुमार राईको बताउनुभयो । ‘मास्क नहुनेलाई दिने, अटेर गर्नेलाई जरिवाना लिइन्छ’ प्रनाउ राईले भन्नुभयो । कोरोना संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले ‘मास्क बैंक’ स्थापना गरिएकाले मास्क भएकालाई दिएर सहयोग गर्न समेत अनुरोध गरिएको छ ।

अभियान अन्तरगत ‘मास्क नलगाउनेलाई बानी पार्न र मास्क किन्न नसकेर वा नपाएर त्यसै हिंड्न बाध्य भएकालाई निःशुल्क बाँड्ने गरिएको खटिएका प्रहरीको भनाई छ । बैंकबाट ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर प्रयोग गरौँ’ अभियान रहेको जिल्ला कोभिड ब्यवस्थापन समितिले जनाएको छ ।

जिल्लाभित्र सवारी साधन तथा नागरिकहरूलाई मास्क लगाउन र सुरक्षित भएर यात्रा गर्न अनुरोध सहित मास्क विना यात्रा गरिरहेकालाई रोक्ने, जरिवाना तिराउने र जिल्ला ट्राफिक कार्यालयले समेत सार्वजनिक सवारीसाधनमा समेत अनुगमन भइरहेको छ । कोरोनाबाट जोगिन मास्क र अनिवार्य हातमुख धुने, भिडभाढ र कोरोनाको लक्षण देखिएकासँग घुलमिन नहुन स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।