विकल्प न्यूज/पर्वत
पुस २० गते ।
यहि पुस २३ गते हुने नेपाल कम्युनिष्ट पार्टीे (एमाले) पर्वतको नवौं जिल्ला अधिवेशनको मिति नजिकिदैं जाँदा सदरमुकाम कुश्मामा राजनीतिक माहोल तातेको छ । एमालेको आगमी जिल्ला नेतृत्वका वारेमा कुश्माका चियापसल र चोकहरुमा बहश हुनथालेको छ ।
पार्टी कार्यालयमा नेता र कार्यकर्ताहरुको आगमन बढेको छ । जिल्ला कमिटिको पदाधिकारी र सदस्य पदमा आकांक्षी देखिएका नेताहरु सदरमुकाम आउन थालेका छन् । भने अधिवेशन सफल पार्नका लागि गठन गरिएका विभिन्न उपसमितिहरुले आफ्नो कामलाई तिव्र पारेका छन् ।
जिल्लाका ६१ वटै वडाबाट करिब चारसय भन्दा बढी हारहारीमा अधिवेशन प्रतिनिधिहरु चयन भइसकेका छन् । यसैगरी पालिका कमिटिबाट २ जना र जनसंगठनहरुबाट एक/एक जनाका दरले प्रतिनिधिहरु छनौंट भइसकेको प्रचारप्रसार उपसमितिले जनाएको छ । प्रचारप्रसार उपसमितिले अधिवेशनको लोगो सार्वजनिक गरेको संयोजक जिवन उचै ठकुरीले जानकारी दिनुभयो ।
लोगोमा पर्वतको पहिचानको रूपमा स्थापित हुँदै गएका बिश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाईन र बिश्वकै दोस्रो अग्लो बञ्जी जम्प समेत समाबेश गरी पर्वतको सहासिक पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने बिश्वास लिईएको उहाँले बताउनुभयो ।
एमालेको अधिवेशनले विपक्षी दल काँग्रेस र माओवादीको पनि ध्यान खिचेको छ । युवा नेता पदम गिरी नेतृत्वमा आएपछि पर्वतमा एमाले बलियो भएको एमाले कार्यकर्ताहरु दावी गर्दछन् । केपी ओली सरकारको पालामा जिल्लामा विकास निर्माणले गति लिएकाले पार्टी थप बलियो भएको नेताहरुको दावी छ ।
१० औं महाधिवेशनबाट गिरी केन्द्रिय सदस्यमा चयन भएपछि अवको नेतृत्वका वारेमा विपक्षी दलहरुले पनि चासो देखाएका छन् ।
पर्वतमा एमालेलाई फेरी पनि बलियो शक्तिका रुपमा लैजान शसक्त र जुझारु नेतृत्व आवश्यक रहेको कार्यकर्ताहरु बताउँछन् । आम कार्यकर्ताले रुचाएको राजनीतिक र वैचारिक रुपमा खारिएको नेतृत्व आवश्यक रहेको जिल्ला कमिटीका एक सदस्यले बताउनुभयो । गुट र समुहका आधारमा नभएर योग्यता र क्षमताका आधारमा आगमी नेतृत्व चयन हुनुपर्ने उहाँको मत छ । तर पर्वतमा अहिले पनि गुट र समुह क्रियाशिल रहेको उहाँले बताउनुभयो ।
आगमी तिनै तहका निर्वाचनमा पार्टीलाई पहिलो बनाउने खालको जुझारु नेतृत्व अधिवेशनबाट चयन हुने उहाँले आशा व्यक्त गर्नुभयो । आगमी नेतृत्वका लागि अहिले सम्म चार जना नेताहरु आकांक्षी देखिएका छन् । हालका कार्यबाहक अध्यक्ष भक्त कुँबर,सचिव पदमपाणी शर्मा,उपसचिव गोविन्द गिरी र गण्डकी प्रदेश सचिवालय सदस्य राजुप्रसाद पौडेल अध्यक्ष पदका आकांक्षी हुन ।
यस्तै सचिव पदमा युवा नेता विमल लामिछाने, शिव पौडेल, खुमप्रसाद सुवेदी लगायत आकांक्षी देखिएका छन् । पदाधिकारीमा आकांक्षी भएका नेताहरुले अधिवेशन प्रतिनिधिलाई मत माग्न थालिसकेका छन् ।
उनीहरुले आ– आफ्नो समुह बनाएर मत माग्न थालेका छन् । फेसबुक,म्यासेज र फोन मार्फत नेताहरुले प्रतिनिधिहरु समक्ष सहयोगको लागि अनुरोध गर्न थालेका छन् । सांसद तथा जिल्ला सह इन्चार्ज गिरी र इन्चार्ज कल्पना चापागाई कुश्मामा बसेर आगमी नेतृत्वका वारेमा गृहकार्य गरिरहेको बुझिएको छ । सहमतिबाटै नयाँ नेतृत्व चयन गर्न जिल्लाका अग्रज नेताहरु लागेका छन् ।
जिल्ला सचिव तथा फलेवास नगर प्रमुख पदमपाणी शर्माले पनि आफ्नो समुह बनाएर तयारी थाल्नुभएको छ । सांसद गिरीले गोविन्द गिरीलाई साथ दिने कार्यकर्ताहरु बताउँछन् भने यता गण्डकी प्रदेशका पूर्व मन्त्री विकास लम्साल र इन्चार्ज चापागाईको साथ राजुप्रसाद पौडेलले पाउने चर्चा हुनथालेको छ । यता कार्यबहाक अध्यक्ष कुँबरलाई नै सर्वसम्मत रुपमा आगमी नेतृत्वका लागि अघि सार्नुपर्ने कार्यकर्ताको मत पनि छ । अन्तिम अवस्थामा सर्वसम्मत नेतृत्व चयन हुननसके पदमापाणी शर्मा,राजुप्रसाद पौडेल र गोविन्द गिरी विच निर्वाचन हुने पनि आकलन गरिएको छ ।
अधिवेशनको तयारी तिव्र
अधिवशेनका लागि भक्त कुँवरको संयोजकत्वमा प्रतिवेदन लेखन उप समिति, पदमपाणी शर्माको संयोजकत्वमा प्रतिनिधि ब्यवस्थापन उप समिति, गोविन्द पहाडीको संयोजकत्मा मञ्च तथा स्टेशनरी ब्यवस्थापन उप समिति गठन गरी तयारी तिव्र पारिएको छ ।
यसैगरी विष्णु प्रसाद नेवारको संयोजकत्वमा आर्थिक उप समिति, शिवलाल सार्कीको संयोजकत्वमा खाद्य तथा आवास उप समिति, जीवन उचै ठकुरीको संयोजकत्मा प्रचार प्रसार उप समिति, इश्वरी प्रसालको संयोजकत्वमा अतिथि सत्कार तथा ब्यवस्थापन उप समिति तथा खुमप्रसाद सुवेदीको संयोजकत्वमा जनपरिचालन उप समितिको गठन भएको छ ।
यसैगरी शिव पौडेलको संयोजकत्वमा स्वयमसेवक ब्यवस्थापन उप समिति र बसन्ती गुरुङको संयोजकत्वमा स्वास्थ्य ब्यवस्थापन उप समितिको गठन गरेको छ ।