जलजलामा अनेमसंघको पालिका कमिटी गठन

विकल्प न्यूज/जलजला
पुस ११ गते ।

  नेकपा एमालेको भातृसंगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) को पर्वतको जलजलामा पालिका स्तरीय कमिटि गठन भएको छ । शनिबार मिलनचोकमा सम्पन्न अनेमसंघको प्रथम सम्मेलनले अनिता रेग्मीको अध्यक्षतामा ५६ सदस्यीय पालिका कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा केशमाया भुषाल, केशवकुमारी रेग्मी,सचिव बालकुमारी आचार्य,सहसचिव सुनिता बोहोरा र कोषाध्यक्षमा तिलकुमारी जिसी चयन हुनुभएको छ । ९ वटै वडाको प्रतिनिधित्व हुने गरी अन्य सदस्यहरु चयन गरिएको सचिव आचार्यले जानकारी दिनुभयो ।

सम्मेलनको उदघाटन गर्नुहुँदै अनेमसंघ पर्वतकी अध्यक्ष कमला पन्तले लामो लडाई र संघर्षबाट प्राप्त महिला अधिकारलाई संस्थागत गर्नका लागि सबै महिलाहरु अनेमसंघको छाताभित्र गोलबन्द हुनु आवश्यक रहेको बताउनुभयो । नेकपा एमालेको हरेक कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने विधानमा व्यवस्था गरेर नेतृत्व गर्ने अवसर दिएको बताउनुभयो ।

अनेमसंघको नेतृत्वमा मात्र महिलालाई अधिकार सम्पन्न बनाउन र महिला मुक्ति आन्दोलनलाई सफल बनाउन सकिने उहाँले विचार व्यक्त गर्नुभयो ।

नेकपा एमाले जलजला कमिटीका अध्यक्ष लालबहादुर अधिकारीले सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै नेकपा एमाले पार्टी संरचनामा ३३ प्रतिशत महिला सहभागितालाई कडाईका साथ व्यवहारमा उतारेर महिलालाई नेतृत्व पु¥याएको बताउनुभयो । समाजको विकास र परिवर्तनका लागि महिलाहरु राजनीतिमा सक्रिय भएर लाग्नुपर्ने उहाँको भनाई थियो ।

अनेमसंघ जलजलाकी संयोजक अनिता रेग्मीको अध्यक्षता, गंगा केसीको स्वागत र बालकुमारी आचार्यको सञ्चालनमा सम्मेलनको उदघाटन सत्र सम्पन्न भएको थियो । सम्मेलनमा ९ वटै वडाबाट एकसयजना महिलाहरुको सहभागिता रहेको थियो ।