मिडिया अवार्डबाट पत्रकार गौतम सम्मानित

विकल्प न्यूज/बेनी
मंसिर २४ गते ।

म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई शुक्रबार मिडिया सोसाइटी अवार्ड–२०७८ प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीका पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनको अवसरमा पर्यटकीय स्थल टोड्केमा आयोजित समारोहमा सात हजार ८६५ नगद सहित गौतमलाई पुरस्कृत गरिएको हो ।

संस्थाका अध्यक्ष कमल खत्री र रघुगंगा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले गौतमलाई नगद, सम्मानपत्र प्रदान र दोसल्ला ओढाउनुभएको थियो । बेनीबाट प्रकाशन हुने बेनी साप्ताहिक र बेनी अनलाइनका प्रकाशक गौतम नागरिक दैनिक लगायतका सञ्चार माध्यममा आवद्ध हुनुहुन्छ । वि.स. २०७४ मा म्याग्दीबाट सञ्चालित सञ्चार माध्यमका सञ्चालकहरु आवद्ध सोसाइटीले वि.स. २०७५ देखि वर्षमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको सचिब अमित विश्वकर्माले जानकारी दिनुभयो ।


दुई लाख पाँच हजारको अक्षयकोषको ब्याजबाट जिल्लामा दश वर्षदेखि काम गरेका एक जना संस्थाका सदस्य पत्रकारलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको छ । सो पुरस्कारबाट यसअघि ठाकुरप्रसाद आचार्य, अमित विश्वकर्मा र प्रताप बानियाँ सम्मानित भइसक्नुभएको छ । प्रत्येक बर्ष दश प्रतिशतका दरले पुरस्कारको राशी बढाउने गरिएको छ ।