तिन हप्तामा पनि खुलेन धाइरिङ सल्यान – धारापानी सडक

विकल्प न्यूज/बेनी
कार्तिक २१ गते ।

तिनहप्ता अघि परेको वर्षाका कारण पहिरोले अवरुद्ध बनाएको पर्वतको जलजला ७ स्थित ठूलोपहिरोमा सडक अझै खुलेको छैन । दशैं लगत्तै परेको अविरल वर्षाका कारण मिलनचोक–सल्यान–धारापानी–ठोटनेरी सडक खण्डको किराखोर स्थित ठूलो पहिरोमा सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध बनेको लामो समयसम्म पनि खुलाउन पहल नगरेको भन्दै सर्वसाधरणहरुले आक्रोस पोखेका छन् ।

तिनहप्ता देखि सडक अवरुद्ध हुँदा सर्वसाधरणहरुले सास्त भोग्नुपरेको छ भने कृषि उपजलाई बजार सम्म पु¥याउन समस्या भएको स्थानीयवासीहरुले बताएका छन् ।

वडाका जनप्रतिनिधिहरुले सडक खुलाउन पहल नगरेको भन्दै उनीहरुको आलोचना भएको छ । सडक अवरुद्ध हुँदा गुन्टेखेत,घायखेत र धारापानीका सर्वसाधरणहरुले सास्ती भोग्नुपरेको छ ।

निर्माणधिन मिलनचोक–सल्यान,गुन्टेखेत–घायखेत – धारापानी सडक आयोजनाको ठेकेदारको लापरबाहीका कारण लामोसमय सम्म सडक अवरुद्ध बनेको नेपाली काँग्रेस वडा सभापति मनोहर आचार्यले बताउनुभयो ।

सडक खुलाउन वडाका जनप्रतिनिधिले कुनै पहल गरेका छैनन् आचार्यले भन्नुभयो ‘माथिल्लो भेगका सर्वसाधरणहरुले सास्ती भोग्नुपरेको छ । जनप्रतिनिधिले सडक खुलाउन पहल गर्नुपर्दथ्यो ।’ पहिरोमा दुईतिन घण्टा डोजर लगाए सडक सुचारु गर्न सकिने उहाँले बताउनुभयो ।

सडक नखुल्दा माथिल्लो भेगका सर्वसाधरणहरु लस्ती देखि – बास्कोट हुँदै लामो दुरीको सडक प्रयोग गर्नुपर्ने बाध्यता रहेको नेकपा एमाले जलजला गाउँपालिका कमिटीका उपसचिव विकास गिरीले बताउनुभयो ।

अवरुद्ध बनेको सडक खुलाउने जिम्मा आयोजनाका ठेकेदारको हो गिरीले भन्नुभयो ‘लामो समयसम्म हुँदा सडक खुलाउन ध्यान नदिनु यो ठेकेदारको गम्भिर लापरबाही हो ।’

दुईवर्षमा सक्ने गरी २०७६ मंसिर ६ गते हिमदुङ एण्ड थोकर प्रा.ली सँग पूर्वाधार विकास कार्यालय पर्वतले सडक स्तरोन्नती सहित कालोपत्रे गर्न २८ करोड १३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । हाल सडक निर्माधिन अवस्थामा छ । पहिलोचरणमा मिलनचोक देखि सल्यान सम्म कालोपत्रे गर्ने आयोजनाको तयारी छ ।