गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गुरुङ नै नियुक्त

विकल्प न्यूज/पोखरा
बैशाख २९गते । 

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका दुई प्रदेशसभा सदस्यले आफूहरु कुनै गठबन्धनमा सहभागी नरहेको भनी सार्वजनिक वक्तव्य दिएपछि विपक्षी गठबन्धन तर्फ बहुमत नपुगेपछि पुन पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि दावी पेस गरेका नेपाली कांग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेलले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा एमालेकै सरकार बन्ने भएको छ । प्रदेश प्रमुख कार्यालयले ३१ जनाको हस्ताक्षर नपुगेको र चारै दलको आधिकारीक पत्र पनि नआएको भन्दै पृथ्वीसुब्बा गुरुङलाई नै मुख्यमन्त्रीमा नियुक्त गरेको छ ।

प्रदेश प्रमुखको कार्यालयमा एमाले संसदीय दलका नेता गुरुङलाई सपथ ग्रहण गराउन लागिएको छ । सपथग्रहणका लागि गुरुङ प्रदेश प्रमुखको कार्यालयमा पुगिसकेका छन् । संविधानको धारा १६८ (३) अनुसार पृथ्वीसुब्बा गुरुङ फेरि मुख्यमन्त्री नियुक्त हुन लागेका हुन् ।

मुख्यमन्त्री गुरुङ कोरोना संक्रमितसमेत रहेकाले आवश्यक स्वाथ्य मापदण्ढ पूरा गरेरमात्रै सपथ ग्रहण गरिने एमाले संसदीय दलका सचेतक मायानाथ अधिकारीले जानकारी दिए । उनले भने, ‘कोरोनाले उहाँलाई सपथ ग्रहणमा कुनै असर गर्दैन । स्वास्थ्य मापदण्डसहित सपथ लिनुहुन्छ ।’