बेनी नगरले पिसिआर परिक्षणका लागि वडास्तरमा स्वाव संकलन अभियान सञ्चालन गर्ने

विकल्प न्यूज/बेनी
बैशाख २५ गते ।

 बेनी नगरपालिकाले समुदाय स्तरमा पुगेर पिसिआर परिक्षणका लागि स्वाव संकलन गर्ने भएको छ । नगरपालिका क्षेत्रमा पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि रोकथाम,नियन्त्रण र व्यवस्थापनलाई प्रभावकारी बनाउन सवै वडा तहमा पुगेर पिसिआर परिक्षणका लागि स्वाव संकलन गर्ने,जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

शनिबार नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको नगर स्तरीय कोभिड व्यवस्थापन समितिको वैठकले नगरपालिका भित्र कोरोना संक्रमण रोकथाम,नियन्त्रण र व्यवस्थापनलाई प्रभावकारीकारी रुपमा सञ्चालन गर्ने निर्णय भएको प्रवक्ता रामकृष्ण बराइलीले बताउनुभयो । उहाँका अनुसार प्रत्येक वडामा कारोना परिक्षणका लागि स्वाव संकलन गरिने र संक्रमणको चेन ब्रेक गर्न लागू गरिएको निषेधज्ञालाई प्रभावकारी बनाउने निर्णय भएको उहाँले बताउनुभयो ।

सवै वडामा कोरोना व्यवस्थापनका लागि टास्कफोर्स गठन गर्ने, विरामीलाई अस्पताल सम्म ल्याउन गाडिको व्यवस्थापन गर्ने र जनचेतनामुलक कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताउनुभयो । कोरोना जोखिम बढेकाले यसलाई नियन्त्रण र रोकथामका लागि नगरबासीहरुको साथ र सहयोगको अपेक्षा नगरपालिकाले गरेको उहाँले बताउनुभयो ।