म्याग्दीमा संक्रमण फैलिदैं ः व्यवस्थापन फितलो

विकल्प न्यूज/बेनी
बैशाख २५ गते ।

 २३ गते विहिवार २२ वर्षीय युवाले कोरोना संक्रमणका कारण ज्यान गुमाउनुभयो । स्वासप्रश्वासमा समस्या भएपछि बुधबार राती नै युवालाई बेनी अस्पताल ल्याइएको थियो ।

बेनी अस्पतालमा आइसियु सहितको भेन्टिलेट छ तर दक्ष जनशक्तिको अभावमा बन्द कोठामा थन्किएको छ । बेनी अस्पतालमा उपचार पछि थप उपचारका लागि भेन्टिलेटरको खोजीमा ति युवालाई राती नै धौलागिरि अस्पताल बागलुङ पु¥याइएपनि ति युवालाई बचाउन सकिएन ।

एकहप्ता अघि म्याग्दीकै एक क्रियाशिल पत्रकारलाई कोरोना पोजिटिभ भयो । बेनीमा कोठा भाडामा लिएर बसेका उहाँलाई आइसोलेशनमा राख्नुपर्ने भयो । तर दुई घण्टासम्म पनि उहाँलाई आइसोलेशनमा राख्न सकिएन ।

जिल्लामा दैनिक रुपमा कोरोना संक्रमित थपिदै छन् । संक्रमितहरु घरमै आइसोलेशनमा बसेका छन् । बेनीमा कोठा भाडामा लिएर बसेकाहरु संक्रमित भए कहाँ जाने भन्ने समस्या छ । परिवार सँगै बस्दा थप संक्रमण फैलिन सक्ने जोखिम छ ।

लाखौं मुल्य बराबरका आइशोलेसनका सामाग्री बन्द कोठामा राखिएको छ ।

 यस्तै पछिल्ला केही दिन यता बेनी अस्पतालमा विरामीहरुको चाप बढेको छ । बेनी नगरपालिकामा कोरोनाको जोखिम उच्च भएको छ । यसका साथै छिमेकी जलजल गाउँपालिकाको ३ र ४ नम्बर वडामा कोरोना फैलिसकेको छ । विहिवार नै एकजना कोरोना संक्रमितको ज्यान गइसकेको छ ।

बेनी अस्पतालले जलजलाका संक्रमितहरुको पनि उपचार गर्नुपर्ने छ । अस्पतालको क्षमता कम छ । विरामीहरुको संख्या बढ्दै जाँदा उपचारमा समस्या आउने देखिन्छ । तर सरोकारवालाहरुले तयारी गरेपनि अपुग भएको छ ।
बजार क्षेत्र र गाउँ इलाकामा संक्रमण फैलिएको छ । जसका कारण उच्च जोखिम बढेको छ ।

तर सम्बन्धित निकाय र सरोकारवालाहरुको व्यवस्थापन फितलो छ । दैनिक रुपमा संक्रमित थपिने क्रम छ । संक्रमितको व्यवस्थापन र उपचारमा सम्बन्धित निकायले गर्नुपर्ने पूर्व तयारी फितलो देखिन्छ । यहि अवस्था रहने र संक्रमण फैलिदै जाने हो भने अवस्था भयावह हुने देखिन्छ ।

ठूलो संख्यामा संक्रमित थपिदा उपचार कसरी गर्ने र जनशक्ति व्यवस्थापन कसरी मिलाउने भन्ने तयारी छैन । पहिलो चरणको संक्रमणका बेला निर्माण गरिएका क्वारेन्टाइन र आइशोलेसन कक्षहरु बन्द गरिएका छन् । लाखौं मुल्यका सामाग्रीहरु बन्द कोठामा थन्किएका छन् ।

 केही दिनयता कोरोनाको संक्रमण समुदायमा भुसको आगोसरी फैलिएको चिकित्सकहरु बताउँछन् । बेनी अस्पतालमा पुग्ने प्रायजसो विरामीहरु संक्रमणको लक्षण भएका छन् । कतिपय विरामीहरु घरमै बसेका छन् । उनीहरु अस्पताल सम्म आइपुगेका छैनन् । परिक्षणको दायरा बढाउने हो भने ठूलो संख्यामा संक्रमितहरु फेला पर्ने सक्ने चिकित्सकहरु बताउँछन् । संक्रमण फैलिदै जाँदा संक्रमितको उपचार र व्यवस्थापनमा ठूलो चुनौती थपिएको बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कुँबरले बताउनुभयो । भुसको आगो जसरी फैलिएको कोरोना भाइरसको चेन ब्रेक गर्न स्वास्थ्य मापदण्ड पालना गर्न कडाई गर्नुपर्ने उहाँको सुझाव छ ।

जिल्लामा अहिले १८३ जना संक्रिय संक्रमित छन् । शुक्रबार मात्रै एकैपटक ७० जनामा कोरोना पुष्टि भएको छ । सरकारी तथ्याङ अनुसार ७ जनाले ज्यान गुमाईसकेका छन्  । परिक्षण नगरेका संक्रमितको लक्षण भएकाहरु कतिपय घरमै छन् । कोरोना संक्रमणको चेन ब्रेक गर्न अहिले बेनीमा निषेधज्ञा लागू गरिएको छ ।

‘अहिलेको संक्रमितको दर हेर्दा निकै भयावह स्थिति सिर्जना हुनसक्ने संकेत हो’ स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले भन्नुभयो, ‘जनताले हेलचेक्र्याइँ गर्ने हो भने थेग्न सकिन्न ।’ सवैको साथ र सहयोगको आवश्यक छ । सवैजना उत्तिकै जिम्मेवार बने मात्र कोरोना नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो । सरकारी स्तरबाट मात्र संक्रमण रोक्न नसकिने र सवैजना जिम्मेवार हुनुपर्ने प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो । कोरोना संक्रमणको जोखिम कम गर्न र संक्रमितको उपचार र व्यवस्थापनमा डिसिसिएमसीले आवश्यक तयारी गरेको उहाँले बताउनुभयो ।

लाखौंका आइसोलेशनका उपकरण बन्द कोठामा
संक्रमितलाई राख्नका लागि खरिद गरिएका स्वास्थ्य सामाग्रीहरु बन्द कोठामा राखिएको छ । लाखौ मुल्य बराबरका सामानहरु बन्द कोठामा राखेर आइशोलेसन कक्षलाई बन्द गरिएको छ । पहिलो चरणको कोरोना संक्रमणका बेला बेनीको खुल्ला मञ्चस्थित शैक्षिक तालिम केन्द्रको भवनमा निर्माण गरिएको २० बेढ क्षमताको आइशोलेसन कक्ष बन्द गरिएको छ । दोस्रो लहरको कोरोना संक्रमणले च्याप्दा पनि आइशोलेसन बनाउन सम्बन्धित निकायको ध्यान पुगेको छैन । डिसिसिएमसीले प्रभावकारी रुपमा काम गर्न सकेको छैन ।

संक्रमितहरु आफ्नै घरमा बस्नुपर्ने अवस्था छ । बेनीमा आफ्नै घर र छुट्टै कोठा नभएका संक्रमितहरुले समस्या भोग्नुपरेको छ । कोरोना अस्पतालका लागि खरिद गरिएका लाखौ मूल्यका बेड बिस्तारा लगायतका सामग्री प्रयोग बिहिन भएका छन् ।

आइसोलेशनका सामग्रीहरु अलपत्र परिरहँदा कोरोना संक्रमितहरुलाई राख्ने र उपचार गर्ने ठाउँको अभाव भएको छ । अधिकांश संक्रमितहरु होम आइसोलेशनमा बसेपनि सदरमुकाम बेनीमा डेरामा परिवारका अन्य सदस्यसँगै बस्ने संक्रमितहरुको ब्यवस्थापनमा समस्या भएको हो ।गत वर्ष पहिलो चरणमा कोरोना भाइरसका संक्रमितको उपचारका लागि बेनी नगरपालिका र म्याग्दीका अन्य पाँच वटा स्थानीय तहको लागत साझेदारीमा २० शैया क्षमताको आइसोलेशन स्थापना गरिएको थियो ।

बेनी अस्पतालमा भएको भेन्टिलेटर सहितको आसियू कक्ष । दक्ष जनशक्ति नभएका कारण प्रयोगमा आउन सकेको छैन ।

 कोभिड—१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रको समेत नेतृत्व गरेको जिल्ला प्रशासन कार्यालयको मौखिक सहमतिमा शैक्षिक तालिम केन्द्रले आइसोलेशनका सामग्रीलाई एउटा कोठामा थन्काएर शिक्षकहरुका लागि तालिम सञ्चालन गरेको थियो । त्यसबेला कोरोना संक्रमणको दर न्युन थियो । संक्रमणको दर बढ्दै जाँदा आइसोलेशन नहुँदा कोरोना नियन्त्रण, रोकथाम र संक्रमितको उपचारमा चुनौति देखिएको हो ।

बेनी नगरपालिकाको १७ लाख पचास पचास हजार लगानी भएको सो आइसोलेशनमा मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले दामासाहीका दरले त्यतीनै खर्च गरेका थिए । अक्सिजन सिलिण्डर, बिरामी सुत्ने आरामदायी बिस्तारा, औषधि राख्ने ठाउँ लगायत कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने हुने उपकरणहरु प्रयोगबिहिन भएका छन् ।

स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख लम्सालले बेनी अस्पतालको निर्माणाधिन भवनमा स्थापना गर्न लागिएको आइसोलेशनमा ती सामग्री प्रयोग हुने बताउनुभयो ।

एकहप्ता भित्र अस्पताल परिसरमा नै आइशोलेसन बनाउने गरी तयारी गरिएको उहाँले बताउनुभयो । कोरोना संक्रमित नभएको अवस्थामा तालिम सञ्चालन गर्न आइसोलेशन हटाइएपनि दोस्रो लहरको संक्रमण देखिन थालेपछि आइसोलेशन तयार पार्ने काम तिब्र रुपमा अघि बढेको उहाँले बताउनुभयो ।

प्रजिअ गणेशबहादुर अधिकारीले पाइपबाट बिरामीको बेडसम्मै अक्सीजन आपुर्ति गर्न सकिने सुबिधा भएको, चिकित्सक र स्वास्थ्यकर्मीहरुको पहुँच हुने, सुरक्षा र ब्यवस्थापकीय हिसाबले सहज हुने भएकाले अस्पतालसँगै आइसोलेशन बनाउन लागिएको बताउनुभयो ।

नयाँ भवन निर्माण र अस्पतालको नियमित सेवा प्रभावित नहुने गरि निर्माणाधिन भवनको चार वटा कोठामा २० शैया क्षमताको आइसोलेशन बनाउन लागिएको प्रजिअ अधिकारीले बताउनुभयो । आवश्यक परेमा शैक्षिक तालिम केन्द्रको भवनलाई पनि आइसोलेशनको रुपमा प्रयोग गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।

बैशाख ६ गते जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा बेनी नगरपालिका र मालिका गाउँपालिका बाहेकका जनप्रतिनिधीले बेनीको कोरोना अस्पताल र आइसोलेशनमा लगानी गर्न नसक्ने बताएका थिए ।

चिकित्सक र स्वास्थ्यकर्मी भएकाले पालिकाकै कोरोना अस्पतालमा संक्रमितको उपचार गरिने उनिहरुको भनाई थियो । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुबेदीले अस्पताल परिसरमा आइसोलेशनका साथै हिलसाइड स्थित माउन्ट एभरेष्ट आवासीय माविको पुरानो भवनमा प्रि आइसोलेशन तयार पारिएको बताउनुभयो ।