आसन्न निर्वाचनका लागि एघार पत्रकार संगठनबीच गठबन्धन

विकल्प न्यूज/काठमाण्डौं
चैत १३ गते ।

 

आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा एघार पत्रकार संगठनबीच केन्द्रिय तहमा गठबन्धन गर्ने सहमति भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको प्रेस चौतारी नेपाल बाहेक लगभग सबैजसो संगठनबीच गठबन्धन भएको छ ।

प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल ९माधव नेपाल समूह०, प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जनपत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार संगठन, मिडिया नेपाल, प्रेस सेन्टर नेपाल, देशभक्त पत्रकार संघ र लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाज बीच महाधिवेशनमा गठबन्धन गर्ने सहमति भएको छ ।

 संसद विघटन गर्ने निर्णयको विपक्षमा उभिएका संगठनहरुबीच गठबन्धन बनेको प्रेस वक्तव्य मार्फत जनाइएको छ । जिल्लामा पनि सोही अनुसार गठबन्धन हुने संघसंगठनका नेताहरुले बताएका छन् ।

यसै विच ओली समूह निकट प्रेस चौतारीले भने आजै पत्रकार महासँघमा ज्ञापनपत्र बुझाएको छ । महासंघको विधान विपरीत सदस्यता स्वीकृत, अनुमोदन र स्थान्तरण गरिएको भन्दै अध्यक्ष गणेश बस्नेत सहितको टोलीले ज्ञापनपत्र बुझाएको छ ।

विधान बिपरीत गरिएको निर्णय नरोकिएकाले महाधिवेशन हुन नदिने अध्यक्ष बस्नेतले चेतावनी दिएका छन् । ‘विधान विपरीत कुनै कदम चालिए प्रतिरोधमा उत्रन्छौं । महाधिवेशन हुन दिन्नौं’, बस्नेतले भने । महासंघको महाधिवेशन आगामी २५ चैतमा तोकिएको छ ।