कोरोनाको जोखिम बढेको भन्दै साबधानी अपनाउन प्रशासनको अनुरोध

विकल्प न्यूज/बेनी
चैत ११ गते ।

 जिल्ला प्रशासन कार्यालय म्याग्दीले पछिल्लो समय पुनःकोरोना संक्रमणको जोखिम बढेको भन्दै साबधानी अपनाउन सवैमा अनुरोध गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसीको वैठकले छिमेकी मुलुक भारत लगायतका देशमा कोरोना संक्रमण बढेकाले थप सचेत हुन आवश्यक सर्तकता अपनाउन सर्वसाधरणहरुमा अनुरोध गरेको हो ।

कोरोनाको जोखिम बढेको भन्दै आवश्यक तयारी गर्न गृहमन्त्रालयको परिपत्र अनुसार प्रशासनले कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि ११ बुँदे निर्देशिका जारी गरेको छ ।

विकास योजनाहरुमा आवश्यक पर्ने विदेशी कामदार ल्याउँदा अनिबार्य १० दिन क्यारेन्टाइनमा राख्नुपर्ने र संक्रमणको लक्षण नदेखिएको अवस्थामा मात्र काममा लगाउनुपर्ने,सुरक्षा निकायहरुले जनस्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गराउनका लागि आवश्यक पहल तथा प्रचारप्रसार गर्ने,सार्वजनिक विद्यालय र संघसंस्थालाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन आह्वान गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो ।

यसैगरी सवै स्वास्थ्य संस्थाहरु र स्थानीय तहहरुलाई महामारी व्यवस्थापनका लागि तयारी अवस्थामा राख्ने,क्वारेन्टाइनलाई तयारी अवस्थामा राख्न नगर तथा पालिकाहरुलाई प्रशासनले अनुरोध गरेको छ । सबै सार्वजनिक स्थल तथा कार्यालयहरुले स्वास्थ्य सुरक्षाका उपायाहरु अपनाउन अनुरोध समेत गरिएको छ ।

कोभिड–१९ को जोखिमबाट बच्न नेपाल सरकारबाट जारी भएका स्वास्थ्य सुरक्षा लगायतको मापदण्ड पालना गर्न सबैलाई अनुरोध गर्ने तथा मापदण्ड उल्लघंन गर्नेहरुलाई संक्रामक रोग, २०२० बमोजिम कारवाही गर्ने प्रशासनले जनाएको छ ।