विकल्प न्यूज/बेनी
चैत १० गते ।
प्रहरीले बेनीको मंगलाघाटबाट ठूलो परिमाणमा लागू औषध सहित एक युवालाई पक्राउ गरेको छ । रघुगंगा गाउँपालिका ६ कोट गाउँ स्थायी घर भई हाल बेनी नगरपालिका ७ मंगलाघाटमा भाडामा वस्ने साजन शेरपुञ्जालाई प्रहरीले लागू औषध सहित पक्राउ गरेको हो ।
लागू औषध लुकाई छिपाई राखेको प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले लागू औषध सहित २१ वर्षीय शेरपुञ्जालाई सोमबार पक्राउ गरेको प्रहरी नायब उपरिक्षक श्याम कुमार राईले बताउनुभयो ।
मंगलबार जिल्ला प्रहरी कार्यालयमा बरामद् लागूऔषध सहित प्रहरीले ति युवालाई सार्वजनिक गरेको हो । शेरपुञ्जाले आफू सुत्ने कोठाको खाटमाथि लुकाई छिपाई राखेको अवस्थामा डाईजेपाम – ९९ एम्पुल,फनारागन – ९९ एम्पुल र नुर्फिन – ९९ एम्पुल गरि दुइ सय ९७ एम्पुल बरामद गरेको प्रनाउ राईले बताउनुभयो । उहाँका अनुसार बरामद भएको यो अहिले सम्मकै ठूलो परिमाण हो । शेरपुञ्जाको साथबाट चोरी गरेर ल्याएको आशंकामा एकथान ल्यापटप समेत प्रहरीले बरामद गरेको छ ।
थप आवश्यक अनुशन्धानका लागि अदालतबाट पाँचदिनको म्याद थपिएको प्रहरीले जनाएको छ । पक्राउ परेको युवा लागूऔषध सेवनकर्ता भएको प्रहरीले बताएको छ । लागूऔषध कारोबारीले शेरपुञ्जालाई भरियाका रुपमा कसैले प्रयोग गरेको हुनसक्ने प्रनाउ राईले बताउनुभयो । भारतबाट सुनौली र नेपागञ्ज नाका हुँदै रात्रीबस तथा अन्य मालबाहाक गाडीबाट लुकाई छिपाई म्याग्दी भित्रिने प्रहरीको आशंका छ ।
आरोप पुष्टि भएमा लागू औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३ को दफा १४(झ) बमोजिम दुई वर्ष देखि १० वर्ष सम्म कैद र एक लाख देखि २० लाख रुपैयाँ सम्म जरिबाना हुने कानुनी व्यवस्था छ ।