कहिले खुल्छ नेकपा (विप्लव) को बेनी स्थित कार्यालय ?

विकल्प न्यूज/बेनी
फागुन २४ गते ।

विप्लवले नेतृत्व गरेको नेकपा सँग सरकारले तिनबुँदे सहमति गरेसँगै प्रतिबन्ध फुकुवा भएको छ । नेताहरु सार्वजनिक भएका छन् ।

तर म्याग्दीको सदरमुकाम बेनीमा रहेको नेकपाको कार्यालय अझै खुलेको छैन । दुई वर्ष अघि सरकारले प्रतिबन्ध लगाएपछि बन्द भएको कार्यालय सोमबार सम्म खुलेको छैन । जिल्लामा अझै पनि उक्त पार्टीका नेता तथा कार्यकताहरु खुलारुपमा देखिएका छैन ।

तत्कालिन खाद्यय संस्थानको जग्गामा रहेको एउटा भवनमा नेकपाको कार्यालय छ । साविक नेकपा माओवादी केन्द्रको कार्यालय नै विप्लव नेतृत्वको नेकपाले प्रयोग गर्दै आएको हो ।

पार्टी विभाजन हुँदा अधिकांश नेताहरु विप्लव तिर लागेकाले कार्यालय नै उसैको भयो । सरकारले प्रतिबन्ध नलगाउदा सम्म यहि कार्यालयबाट नेकपाले आफ्ना गतिविधिहरु सञ्चालन गरेको थियो । प्रतिबन्ध लगाएसँगै नेताहरु भूमिगत भएका कारण कार्यालय बन्द हुनपुग्यो ।

एक वर्ष अघि प्रशासनले कार्यालयको बोर्ड र झन्डा निकालेको थियो । फागुन २० गते सरकार र विप्लव नेतृत्वको नेकपा सँग तिनबुँदे सहमति भएको थियो । २१ गते नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सार्वजनिक हुुनुभएको हो ।

यसबारे थप जानकारी लिन खोज्दा जिल्ला स्थित नेताहरुको मोवाइलमा सम्पर्क हुन सकेन । उनीहरुले प्रयोग गरेको  मोवाइल नम्बर अफ गरिएको छ ।