मोडेल फार्ममा छनौट भएका कृषकलाई तिनदिने अभिमुखीकरण बेनीमा सुरु

विकल्प न्यूज/बेनी
माघ १७ गते ।


भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले साना पशुपंक्षी तथा मत्स्य व्यवसायीक फार्म विस्तारका लागि मोडेल फार्ममा छनौट भएका कृषकहरुलाई अभिमुखीकरण गर्न सुरु गरेको छ । चालु आर्थिक बर्षका लागि विभिन्न कार्यक्रममा अनुदानका लागि छनौट भएका कृषकहरुलाई कार्यालयले समूहगत रुपमा अभिमुखीकरण गर्न सुरु गरेको हो ।
कार्यालयले यस बर्ष व्यवसायिक रुपमा अघि बढेका र फर्मको क्षमता विस्तारमा जुटेको म्याग्दी र मुस्ताङका ५९ वटा फार्मलाई मोडेल फार्मको रुपमा छनौट गरेको छ ।

शनिवार देखि सुरु भएको कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ । पहिलो दिन बाख्रापालन, दोस्रो दिन भैँसी र कुखुरा पालन र तेस्रो दिन माछापालन, फ्रेस हाउस सञ्चालक र पकेट प्याकेजमा छनौट भएका कृषक र व्यवसायिलाई अभिमुखीकरण गर्न सुरु गरिएको कार्यालयका पशु सेवा प्राविधिक सुवास रेग्मीले जानकारी दिनुभयो ।

कार्यक्रममा कार्यालयका पशु विकास अधिकृत डाक्टर इन्द्रबहादुर भट्ट, पशु सेवा प्राविधिक रेग्मी र नायब पशु सेवा प्राविधिक गणेश रिजालले सहजीकरण गर्नुभएको छ ।

गण्डकी प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत रहेको यस कार्यालयले रु १ करोड ४२ लाख अनुदानको बजेटलाई कार्यान्वयन गर्न प्रस्ताब आह्वानमा आएका १६८ वटा फार्म मध्ये कार्यविधिका आधारमा ५९ वटा फार्मलाई छनौट गरि कार्यान्वयन गर्न लागेको हो ।

छनौट भएका फार्मका सञ्चालकलाई अभिमुकीकरण संगै कार्यक्रम सम्झौता गर्ने र स्टीमेट बनाएर कार्यान्वयनमा लैजाने तयारी गरिएको कार्यालय प्रमुख डाक्टर भट्टले जानकारी दिनुभयो ।