ओलीको प्रतिगमन विरुद्ध बेनीमा युवाहरुले निकाले राँके जुलुस

विकल्प न्यूज/बेनी
पुस  १० गते ।

 प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको प्रतिगामी कदम विरुद्ध बेनीमा राँके जुलुस प्रदर्शन भएको छ । नेकपा समर्थित युवा संघ र अनेरास्वीयूले सदरमुकाम बेनीमा शुक्रबार साँझ राकेजुलुस निकालेका हुन ।

बेनीको न्यूरोडबाट निकालेको राँके जुलुले बजार परिक्रमा गर्दै हुलाक चोकमा आएर कोणसभामा परिणत भएको थियो । राँके जुलुसमा प्रहरीले हस्तक्षेप समेत गरेको छ । गण्डकी प्रदेश सांसद विनोद केसीको घर नजिकबाट जुलुसको तयारी गर्दै गर्दा प्रहरी र युवाहरु विच झडप भएको थियो ।

हुलाक चोकमा आयोजित कोणसभामा सम्बोधन गर्दै युवा संघका केन्द्रिय सदस्य कृष्णकुमार विश्वकर्माले ओलीको प्रतिगमनका विरुद्ध युवाहरु सडकमा आएको बताउनुभयो । उहाँले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्र र गणतन्त्र विरोधी भएको समेत आरोप लगाउनुभयो । संसद विघटन गरेर मुलुकलाई अस्थिरता तर्फ लैजान खोजेकाले युवाहरु सडक आन्दोलनमा आउनुपरेको उहाँको भनाई थियो ।

कोणसभामा युवा संघका जिल्ला सहसंयोजक सन्दीप खत्री र अनेरास्ववियूका सहसंयोजक रेशम कटुवालले प्रतिगमनका विरुद्ध आगमी दिनमा अझै शसक्त आन्दोलन आउने उदघोष गर्नुभयो ।  जुलुसमा नेकपाका प्रचण्ड–माधव नेपाल समुहका जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु पनि सहभागि थिए ।

पुस ५ गते प्रधामन्त्री ओलीले संसद विघटन गरी मध्यावधि निर्वाचनको मिति तोकेपछि नेकपा दुई समुहमा विभाजन भएको छ ।